close

सैनामैनाको नीति कार्यक्रम: पुसभित्रै सुकुम्बासीलाई लालपुर्जा

सैनामैनाको नीति कार्यक्रम: पुसभित्रै सुकुम्बासीलाई लालपुर्जा

Trulli
ADVERTISEMENT

रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधाको विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम कोभिड नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवाको विस्तार र विकासमा केन्द्रित छ ।


शनिबार सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धिसँगै स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिने बताए । 

 

नगर प्रमुख कार्कीले आगामी वर्षभित्र नगरवासीहरुलाई खोप लगाउन आवश्यक प्रवन्ध मिलाइने उल्लेख गरे । यसैगरी पर्रोहा स्वास्थ्य चौकीलाई १५ शय्यामा स्तरोन्नति गरी विशेषज्ञ सेवासहित अत्याधुनिक उपकरण र जनशक्तिको व्यवस्था गरिने भएको छ ।

 

स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गरिने नगर प्रमुख कार्कीले बताए । सालझन्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्ने र स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण, कोभिड–१९ अस्थायी अस्पतालमा दक्ष जनशक्ति र उपकरण थप गरी आइसोलेशन निर्माणलाई पनि नीति कार्यक्रमले प्राथमिकतामा राखेको छ ।

 

स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता 

कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरिने भएको छ । गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रम, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रम, हेलो आमा कार्यक्रम, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा, महिलाहरूको नियमित पाठेघर परीक्षण, स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न शिविर सञ्चालन लगायतका विषयहरुलाई पनि नीति कार्यक्रममा समेटिएको छ । नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र ८४ वर्ष उमेर काटेका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बिमाकाो व्यवस्था मिलाउने भएको छ ।

 

पुसभित्रै सुकुम्बासीलाई जग्गाधनी पूर्जा

सैनामैना नगरपालिकाले आउँदो पुस महिना भित्रै नगरमा रहेका सुकुुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरण गर्ने महत्वकांक्षी योजना प्रस्तुत गरेको छ ।

 

 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख कार्कीले नापी गर्ने प्रयोजनका निम्ति सैनामैना नगरपालिका भित्र कुल ९६ ठाउँमा कन्ट्रोल प्वाइन्ट स्थापना गरि डिजिपिएस जडान कार्य भइसकेको जानकारी गराउँदै यस्तो बताएका हुन् । 

 

आगामी कात्तिक महिनाभित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासयुक्त जग्गाको नापी गर्ने, नक्सा श्रेस्ता तयार गर्ने काम सम्पन्न गरिने र पुस महिनाभित्र जग्गाधनी प्रमाणपत्र वितरण गरिने उल्लेख गरे ।

 

पूर्वाधार विकास तथा सडकमा जोड

सैनामैना नगरापालिकाले पूर्वाधार विकास तथा सडकको स्तरोन्नतिमा जोड दिएको छ । ‘नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार’ नारासहित सडकको विस्तार तथा स्तरोन्नतिलाई जोड दिएको हो । 

 

नगरपालिकाको पुँजीगत बजेटको न्युनतम ३ प्रतिशत बजेट सडक मर्मत तथा सम्भार गर्ने कार्यको लागि विनियोजन गर्ने बताउँदै नगर प्रमुख केसीले आगामी आर्थिक वर्षभित्रै सैनामैना चक्रपथ निर्माणको काम सम्पन्न गरिने उल्लेख गरे ।

 

 नगरपालिकाभित्रका ६, ८, १० र १४ मिटर कालोपत्रे भएका सडकमा नीजि र सरकारी पूर्वाधार निर्माण गर्दा निर्माण सामाग्री सडकमा डम्पिङ गर्न नपाइने नीतिगत व्यवस्था गरिएको छ ।

 

 मुर्गिया–लुम्विनी सडकको मुर्गिया-सुर्यपुरा खण्डमा पुल स्तरउन्नति गरिने भएको छ भने विश्व बैँकबाट डिपिआर तयार भइसकेको सैनामैना मेजर सडकको बाँकी ९ किलोमिटर सडक कालोपत्रे, बाँकी रहेका पुल, कल्भट निर्माण कार्य प्रदेश सरकारको सहयोगमा अगाडि बढाइने भएको छ ।

 

पूर्वाधारका योजना 

यसैगरी पूर्वाधारतर्फ प्रदेश सरकारको लगानीमा वडा नम्बर ९ मा निर्माणाधीन अत्याधुनिक यात्रु प्रतिक्षालय सहितको रिफ्रेस सेन्टरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।

 

 संघीय सरकार र प्रदेश सरकारको सहलगानीमा वडा नम्बर ३ मा अवस्थित लामीरहको बहुउद्देश्यीय बाधको पहिलो चौमासिक भित्र बहुवर्षीय ठेक्का व्यवस्थापन गराई निर्माण कार्य सुरुवात गरिने भएको छ । सार्वजनिक निजी साझेदारी मार्फत निजी क्षेत्रलाई विकास साझेदारको रुपमा सहभागी गराइने नगर प्रमुख केसीले बताए ।

 

संघीय आयोजनाको रुपमा रहेका निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान र मुर्गियास्थित फुटबल रङ्गशाला निर्माणको लागि प्रयाप्त श्रोतको सुनिश्चितता गर्न संघीय सरकारसँग पहल गर्ने, नगरपालिकाभित्र वडा नम्बर २,६ र ११ मा खुला व्यायामशाला स्थापना गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

लम्टैयामा निर्माणाधिन औद्योगिक ग्रामको दोस्रो चरणको निर्माण कार्य सम्पन्न गरी नगरभित्रका उद्यमी तथा सहकारीलाई औद्योगिक ग्राममा साना तथा मझौला उद्योग स्थापना गरी सञ्चालन गर्न तोकिएको मापदण्ड बमोजिम मागको आधारमा आवश्यक पर्ने जग्गा उपलब्ध गराउने लगायतका योजनाहरु नीति कार्यक्रममा उल्लेख गरिएका छन् ।


यसैगरी मुर्गियामा निर्माणाधिन शीत भण्डारको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने, बासँगढीमा बिउ भण्डार केन्द्र स्थापना, वडा नम्बर ४ मा सीप विकास प्रतिष्ठानको निर्माण, वडा नम्बर १ मा प्रदेश स्तरको जेष्ठ नागरिक संरक्षण ग्राम र अपाङ्ग संरक्षण ग्राम लगायतका विषयहरुले पनि प्राथमिकता पाएका छन् ।

 

हालसम्म पनि विद्युत लाइन जडान नभएका स्थानहरुको पहिचान गरी ती स्थानहरुमा विद्युत लाइन जडान गर्ने, आगामी वर्षभित्र सबै वडा कार्यालयको प्रशासनिक भवन निर्माण लगायतका योजनाहरु प्रस्तुत गरिएका छन् ।

 

पर्यटन तर्फ पर्रोहा परमेश्वर बोलबमधाम मन्दिरको निर्माण कार्य समपन्न गरी मन्दिरलाई हिन्दु धर्मावलम्बीहरुको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गरिने भएको छ । वडा नम्बर ८ मा लुम्बिनी सांस्कृतिक शहर निर्माणको लागि जग्गा एकिकृत गर्ने सहितको परियोजना नगर विकास कोषको साझेदारीमा अगाडि बढाइने भएको छ । 

 

थारु संग्राहलय

वडा नम्बर ५ को कोटियाथानमा थारु संग्राहलय निर्माण गरिने भएको छ । निर्माणाधिन फूलवारी पार्क, वोलबम पर्यावरणीय पार्क र मलमला पार्कमा श्रोत वृद्धि गर्न पहल गरिने नगर प्रमुख केसीले बताए । 

 

वडा नं. ११ को राजापानी पर्यटकीय क्षेत्र, वनकट्टीमा ग्रिनपार्क र वडा नम्बर ९ मा वालउद्यानको डिपिआर सम्पन्न भइसकेकोले संघीय र प्रदेश सरकारसँग स्रोत व्यवस्थापनको लागि पहल गर्नुका साथै सामुदायिक वन र नीजि क्षेत्रको साझेदारीमा निर्माण गर्ने नीति लिइने भएको छ ।

 

यस्तै वडा नं. ३ को साविक मुर्गिया हाटबजार र दूर्गा मन्दिर क्षेत्रलाई समावेश गरी शैलपुत्री पार्क निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । यसैगरी नगरको विकासका लागि पूर्व-पश्चिम लोकमार्गको उत्तरतर्फ रहेका सबै फर्निचर उद्योगलाई पूर्व–पश्चिम लोकमार्गको दक्ष्ािणतर्फ स्थानान्तरण गर्नुपर्ने नीतिलाई कडाईपूर्वक लागु गरिने नीति तथा कायृक्रममा उल्लेख छ ।