close

आँधीखोलाको नीति तथा कार्यक्रमः प्राथमिकतामा पूर्वाधारका ५ क्षेत्र 

आँधीखोलाको नीति तथा कार्यक्रमः प्राथमिकतामा पूर्वाधारका ५ क्षेत्र 

Trulli
ADVERTISEMENT

स्याङ्जा- आँधीखोला गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, सूचना प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले नवौँ गाँउसभाबाट चालु वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

 

कार्यक्रममा कृषि तथा फलफूल उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, सुन्तला पकेट कार्यक्रम, किवी पकेट विकास कार्यक्रम संचालन गर्ने भनिएको छ । भूमि बैङ्क र चक्लाबन्दीलाई प्रोत्साहन गर्ने, एक गाउ एक पकेट क्षेत्र, कृषकलाई कृषि तथा पशु बिमा गर्न प्रोत्साहन गरिने जस्ता कार्यक्रम छन् । स्याङजाको पहिचान बोकेको अन्धाअन्धी दह र श्रवणकुमारको पहिचान बढाउने खालका कार्यक्रम ‘जाऊँ है अन्धा-ँअन्धी श्रवणकुमार अभियान’ सञ्चालन गर्ने भएको छ ।

 

सबै जातजातिका, भेषभुषा, संस्कृतिको संरक्षण र पहिचानको लागि बहुजातीय संग्रहालय निर्माण, सबै वडा कार्यालयमा इन्टरनेटको व्यवस्था, २ वटा वडा बालमैत्री बनाइने, पालिकाबासीलाई एक घर एक धारा अनुरुप सर्वसुलभ र स्वच्छ खानेपानी उपलव्ध गराउने कार्यक्रमको लक्ष्य छ ।

 

गाउँपालिकाको १० शय्याको अस्पतालको स्तरोन्नति गर्ने, योग ध्यान केन्द्र निर्माण, उपचार सहायता राहत कोषको स्थापना, किशोर किशोरीमैत्री सूचना केन्द्र, हाम्रो विद्यालय राम्रो विद्यालय, जोखिमयुक्त बस्ती पहिचान सहित स्थानान्तरण, वातावरणमैत्री स्थानीय शासनमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।


यसैगरी, सिरुवारी-गोरुजुरे-अन्धाअन्धी-श्रवणकुमार-पंचासे पर्यटन मार्ग बनाउने, सेतीदोभान-साधना गार्डेन पदमार्ग र टावर निर्माण, डहरे लेकमा जंगल पार्क बनाइने जस्ता योजनालाई समावेश गरिएका छन् । सिरुवारी होमस्टेको संस्थागत संरचनाको निर्माण गरिने भएको छ ।

 

पालिकाले गतवर्ष गरेका कामका बारेमा समीक्षा गदै चालु वर्ष सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पालिकाले १३ वटा ऐन पारित गरेको, कोभिडको महामारीमा परेका नागरिकको स्वास्थ्य उपचारका लागि अक्सिजन सहितको स्वास्थ्य उपचार र आवश्यकता अनुरुपको स्वास्थ्य परीक्षण गरेको, न्यायिक समितिमा परेका १७ वटा उजुरी मध्ये १६ वटाका समस्या समाधान गरेको, राजश्व संकलनमा ९४ प्रतिशत सफलता मिलेको उल्लेख गरिएको छ । 

 

पालिकामा संचालित आयोजनामा ८५ प्रतिशत भौतिक तथा ६२ प्रतिशत बित्तिय प्रगति भएको, ९८ प्रतिशतलाई खानेपानीको सुविधा, ७० हेक्टरमा सिंचाई सुविधा, गतवर्ष २६ किलोमिटर कालेपत्रे सडक निर्माणपछि अहिले पालिकाभित्र ३० दशमलब ४ किलोमिटर पक्की सडक बनेको अध्यक्ष पौडेलले जानकारी गराए ।

 

सेतीदोभान र शिरुवारी जोड्ने आँधीखोलामा निर्माणाधीन पुल निर्माण, बहुउद्देश्यीय सभा हल व्यापारिक तथा सपिङ कम्प्लेक्स जस्ता गाउँपालिकाका गौरब आयोजनाका कामलाई सम्पन्न गरी संचालन गर्ने व्यवस्था मिलाइने, सौर्य ऊर्जाका साथ आँधीखोला उज्यालो अभियान सञ्चालन गर्न प्रयत्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि आवश्यक व्यवस्था गरिने, खेल मैदान निमार्ण, गाउँपालिकाको केन्द्रबाट वडा केन्द्रसम्म पुग्ने सडकहरुलाई स्तरोन्नत्ति सहित कालोपत्रे गरिने, सडक एवं पुर्वाधारतर्फ ४० प्रतिशत स्टक्चरको काम गर्ने उल्लेख छ।


पालिकाले ५० प्रतिशत अनुदानमा टनेल, हाते ट्याक्टर उपलब्ध गराउनुका साथै, निशुल्क बिउ विजन, मल, कागतीका विरुवा उपलब्ध गराएको छ । पर्यावरण जोगाउन ५२ हजार माछाका भुरा, बिद्यार्थीलाई एभोकाडो कार्यक्रम सहित १६ हजार बिरुवा रोपण, ९ हजार किलो बर्षे आलुको बीउ सामुहिकरुपमा बितरण लगायतका बिभिन्न कार्यक्रम सम्पन्न गरेको थियो ।