close

मेरिङ्देनले ल्यायो ४१ करोड बढीको बजेट

मेरिङ्देनले ल्यायो ४१ करोड बढीको बजेट

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कुल ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले चालुतर्फ २७ करोड ५८ लाख २३ हजार र पुँजीगततर्फ १३ करोड ५८ लाख २९ हजार रुपैयाँ विनियोजन गरेको हो ।

 

गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेद्वारा प्रस्तुत बजेटअनुसार पालिकाभरका ६ वटा वडालाई प्रत्येकका लागि ६ लाख रुपैंयाँका दरले चालू खर्च विनियोजन भएको छ । पुँजीगततर्फ प्रत्येक वडालाई न्यूनतम ६० लाख र बाँकी सूत्रमा आधारित गरेर ४ करोड ३१ हजार रुपैयाँ विनियोजन भएको छ ।

 

गाउँपालिकाको बुधबार सम्पन्न पाँचौं गाउँसभा तथा बजेट अधिवेशनमा प्रस्तुत विवरणअनुसार चालू आर्थिक वर्ष २०७७/७८ असारसम्म चालू खर्च ६१.९४ प्रतिशत रहेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार चालू आवका लागि चालूतर्फ २६ करोड ३१ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । यस्तै, पुँजीगततर्फ ५०.८० प्रतिशत खर्च भएको छ । चालू आवका लागि पुँजीगत खर्च १५ करोड ३१ लाख ७२ हजार रुपैयाँ थियो । 

 

गाउँपालिकाले ल्यायो नयाँ कार्यक्रम 

 

मेरिङदेन गाउँपालिकाले आगामी आवका लागि ‘मेरिङदेनको पहिचान, समृद्धिको अभियान’ कार्यक्रम अघि सारेको छ । पालिका अध्यक्ष गणेशबहादुर लिम्बूद्वारा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार सबै विचारधाराबाट निर्वाचित जनप्रतिनिधि र पालिकाका अगुवाको सल्लाहका आधारमा समृद्धिको आधार तय गरिएको हो ।

 

गाउँपालिकाले सबै वडालाई सडक सञ्जालमा जोडेर बाह्रै महिना यातायातको पहुँच पु¥याउने नीति लिएको छ । पालिकाले १० लाख रुपैयाँमाथिका सम्पूर्ण पूर्वाधार निर्माण अनिवार्य ई–बिडिङ दरभाउपत्रका आधारमा र ५ लाख वा सोभन्दा माथिका कार्यक्रम दरभाउ÷बोलपत्रमार्फत सञ्चालन गर्ने नीति लिएको जनाएको छ । 

 

अब पालिकाले गोलिया काठका ढुवानीको क्रममा सिफारिस दस्तुरका अलावा मर्मतसम्भार खर्च बापत प्रतिरुखको १ सय रुपैयाँका दरले रकम उठाई सडक मर्मतसम्भारमा खर्चिनेछ ।

 

घरमा बच्चा जन्माउने कार्यलाई निरुत्साहित गर्न पालिकाले जिरो होम डेलिभरी क्याम्पिङ कार्यक्रम चलाउने भएको छ । गर्भवती तथा सुनौला हजार दिनका आमाका लागि न्यूनतम पोषणभत्ता उपलब्ध गराउने घोषणा गाउँपालिकाले गरेको छ ।

 

महिला स्वास्थ्य स्वयंसेविकाका लागि सञ्चार, खाजा र यातायात खर्चबापत मासिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ । क्यान्सर रोग, मुटु रोग र मिर्गाैलाको शल्यक्रिया वा उपचारका लागि अधिकतम २० हजार रुपैयाँसम्म उपलब्ध गराउने विगतको नीतिलाई गाउँपालिकाले यसपटक पनि निरन्तरता दिएको छ ।

 

गाउँपालिकाले पालिका केन्द्रमा सञ्चालित अस्थायी कोभिड अस्पताललाई निरन्तरता दिनुका अलवा कोभिड–१९ को महामारीबाट बच्न र बचाउन २५ लाख रुपैयाँको कोभिड कोष खडा गर्ने घोषणा गरेको छ ।

 

पालिकाले प्रत्येक वडामा निःशुल्क रूपमा वितरणयोग्य आयुर्वेदिक औषधी वितरण गर्ने भएको छ । पालिकाले १० वषे गाउँ शिक्षा योजना बनाउने भएको छ ।

 

१६ वर्षमुनिका असहाय र अभिभावक गुमाएका बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याएर भर्ना दर शतप्रतिशत बनाउन विशेष शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने र यस्ता बालबालिकालाई प्रतिव्यक्ति मासिक ५ सय रुपैयाँ दिने गाउँपालिकाले घोषणा गरेको छ । 

 

पालिकाले संघीय सरकारबमाट बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको तलबमा स्थानीय तहले बेर्होनुपर्ने व्ययभार जिम्मेवारी थप गरेबमोजिम व्यर्होने निर्णय लिएको छ । 

 

स्थानीय मातृभाषाको पठनपाठनमा विशेष कार्यक्रम अघि सार्ने नीति लिएको पालिकाले स्थानीय भाषा स्वयंसेवकको जीवन निर्वाह खर्चमा मासिक ३ हजार रुपैयाँ थप गरिदिने घोषणा गरेको छ । 

 

पालिकाले मेरिङ्देनका युवालाइ ‘खेलकुदका लागि र राष्ट्रका लागि’ नारा दिएर प्रत्येक वडामा युवा उद्यम र खेलकुदसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भनेको छ । पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन कृषकलाई पकेट विकास कार्यक्रम र निःशुल्क बिउबिजन कार्यक्रमबाट समाहित गराउने नीति समावेश गरिएको
छ ।

 

व्यावसायिक फलफूल, बोटबिरुवा र जडीबुटी प्रवद्र्धनका लागि पालिकाले स्थापित नर्सरीलाई निरन्तरता र थपका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।
पालिकामा दर्ता भएका सबै सहकारी संस्थालाई नियमन गर्न छुट्टै संयन्त्रको विकास गर्ने नीति लिएको उसले दुग्धजन्य तथा मासुजन्य पशुको नश्ल सुधार, गोठ सुधार र व्यावसायिक फार्म स्थापना गर्ने नीतिमा उल्लेख गरिएको छ ।

 

पालिकाले मेरिङ्देन झरनाको सिमाना ताप्लेजुङको मैवाखोला गाउँपालिकासँगको समन्वयमा टुंग्याउने भनेको छ । मयूर संरक्षण कार्यक्रमललाई निरन्तरता दिएको पालिकाले अन्य सम्भाव्य पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

 

पालिकाले वडा नम्बर ३ र ६ का विपन्न महिलाको जीवनयापनमा सहजता थपिदिन उपाध्यक्ष जस्तापाता कार्यक्रम अघि सार्ने घोषणा गरेको छ । मेरिङ्देनले जातीय भेदभाव तथा छुवाछूतमुक्त जिल्लाकै पहिलो स्थानीय तह बन्ने नीति लिएको छ । बाल विवाहविरुद्ध ‘हामी सानै छौँ बढ्न देऊ, विवाह होइन, पढ्न देऊ’ कार्यक्रम अघि सारेको छ ।

 

प्रशासन र राजनीतिलाई एक सिक्काका दुई पाटाको रूपमा लिएर अघि बढ्ने पालिकाले घोषणा गरेको छ । ‘कर तिर्ने बानी, गाउँपालिकाको विकासमा लगानी’ नारासमेत पालिकाले अघि सारेको छ । आगलागीले ध्वस्त दोभान बजारलाई नयाँ नमुना दोभान बजार नामक अभियानमार्फत पुनर्निर्माणमा सहयोग गर्ने नीति पालिकाको छ ।