close

तनहुँका स्थानीय तहले ल्याए बजेट, भानुमा भने किचलो

व्यासको १ अर्ब ७७ करोड

तनहुँका स्थानीय तहले ल्याए बजेट, भानुमा भने किचलो

व्यासको १ अर्ब ७७ करोड

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँका ९ स्थानीय तहले बिहीबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । तनहुँमा १० स्थानीय तहमध्ये भानु नगरपालिकाले भने सार्वजनिक गर्न सकेन । १० असारभित्रै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानलाई भानुले लत्याएको हो ।


पालिकाको केन्द्र विवादलगायतको आन्तरिक किचलोमा फसेको भानुमा बिहीबार हुने भनिएको नगरसभा स्थगित भएको छ । तयारी नपुगेकाले नगरसभा स्थगित गर्नुपरेको प्रस्टीकरण दिए पनि केन्द्र विवाद मुख्य कारण मानिएको छ । बिहीबार सार्वजनिक नभएको बजेट कहिले पेस हुन्छ टुंगो छैन । 


भानुबाहेक जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिकाले नगर तथा गाउँ सभामार्फत बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । संघ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानको आधारमा बजेटको आकार निर्धारण गरिएको हो ।


जिल्लाको पुरानो नगरपालिका व्यासले अन्यको तुलनामा ठूलो आकारको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि व्यासले १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


चालू वर्षको तुलनामा २५ करोड रुपैयाँ बढीको बजेट पेस गरेको उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । उनका अनुसार बिहीबार पेस गरेको व्यासको नीति तथा कार्यक्रम एकै दिनमा पारित भएको छ । बजेटउपर छलफल बाँकी छ । त्यसका लागि २३ असारमा अर्को बैठक डाकिएको छ ।


शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्षभन्दा ३ करोड रुपैयाँ कम बजेट सार्वजनिक गरेको छ । शुक्लागण्डकीले १ अर्ब ६ करोड ८६ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । भीमाद नगरपालिकाले ५८ करोड ५६ लाख ८ हजार रुपैयाँको बजेट पेस गरेको छ ।


नवौँ नगरसभामा उपप्रमुख शारदा खनालले पेस गरेको बजेटको आधा बढी रकम सामाजिक विकास शीर्षकमा छुट्याइएको छ । यो शीर्षकमा ३० करोड १ लाख २० हजार ८ सय ७० र पूर्वाधार विकासमा १६ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको खनालले बताइन् । 

 

गाउँपालिकातर्फ म्याग्दे गाउँपालिकाको बजेट ठूलो आकारको छ । म्याग्देका उपाध्यक्ष बालकृष्ण घिमिरेले ६५ करोड ८२ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरे । ६१ करोड ७० लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।


पर्यटन पूर्वाधारलाई प्राथमिकता दिँदै बन्दीपुर गाउँपालिका उपाध्यक्ष करुण गुरुङले ५१ करोड ३४ लाख १ हजार ५ सयको रुपैयाँको अनुमानित बजेट गाउँसभामा पेस गरिन् । दक्षिण भेगमा रहेको जिल्लाको दुर्गम ऋषिङ गाउँपालिकाले ५२ करोड रुपैयाँको अनुमानित बजेट गाउँसभामा प्रस्तुत गरेको छ । 


देवघाट गाउँपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै ४८ करोड ६९ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । घिरिङ गाउँपालिकाले जिल्लाका स्थानीय तहको तुलनामा सबैभन्दा कम बजेट ल्याएको छ । आन्तरिक आम्दानीको स्रोत नभएको घिरिङले ४६ करोड ३४ लाख रुपैयाँको बजेट पेस गरेको हो ।