close

१ अर्बको सैनामैनाको बजेटः  ५ क्षेत्र प्राथमिकतामा 

१ अर्बको सैनामैनाको बजेटः  ५ क्षेत्र प्राथमिकतामा 

Trulli
ADVERTISEMENT

सैनामैना- रूपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ लागि १ अर्व २२ करोड १९ लाख ४३ हजार ३४१ रुपैयाको बजेट प्रस्तुत गरेको छ । 

 

सैनामैना नगरपालिका उपप्रमुख विना रानाले प्रस्तुत गर्नुभएको बजेटमा कोरोना जोखिम नियन्त्रण र न्यूनिकरण गर्ने र अधुरा आयोजना सम्पन्न गर्ने अभियानसहित कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ । 

 

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार विनियोजन भएको छ भने पुँजीगततर्फ ७० करोड ७१ लख २८ हजार ३४१ रुपैया विनियोजन गरिएको छ । 

 

त्यसैगरी आगामी आर्थिक वर्षका लागि अनमुान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट अनुदान ९१ करोड ३८ लाख २ हजार, प्रदेश सरकारबाट ६  करोड ४१ लाख ३३ हजार ७ सय ४४, आन्तरिक श्रोतबाट आ.व. २०७७/७८ बाट मौजदात बाँक रकम सहित २४ करोड ४० लाख ७ हजार ५ सय ६७ रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

 

पुँजीगत खर्चमध्ये वडा नंं १ को लागि ७८ लाख ७९ हजार ७ सय ८३, वडा नं. २ को लागि ३८ लाख ३१ हजार ६ सय ४०, वडा नं. ३ को लागि ४१ लाख ३७ हजार ८ सय ४१, वडा नं.४ को लागि ५१ लाख ३५ हजार ६ सय ९६, वडा नं. ५ को लागि ५४ लाख ७२ हजार, ९ सय ३१, वडा नं. ६ को लागि ६१ लाख ८८ हजार ९ सय ५६ विनियोजन गरिएको छ । 

 

त्यसैगरी वडा नं.७ को लागि ४१ लाख ३१ हजार ३ सय २७, वडा नं. ८ को लागि ३२ लाख ५३ हजार २ सय ५०, वडा नं. ९ को लागि ५२ लाख २४ हजार ४ सय ७३, वडा नं. १० को लागि ६३ लाख ५९ हजार ७ सय ५५ र वडा नं. ११ को लागि ५३ लाख ८४ हजार ३ सय ४७ गरी जम्मा ५ करोड ७० लाख विनियोजन गरिएको छ । 

 

बजेटमा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १ करोड विनियोजन गरिएको छ भने फोहोरमैला व्यवस्थापन कोषमा ५० लाख विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य र सरसफाई क्षेत्रको लागि १० करोड ५० लाख ७२ हजार विनियोजन गरिएको छ । 

 

संस्कृति तथा पर्यटन क्षेत्रमा ६  करोड ४७ लाख छुटयाइएको छ । कृषि तथा पशुविकासतर्फ २ करोड ५६ लाख, १६ हजार रकम विनियोजन भएको छ । बजेटमा पर्रोहा परमेश्वर बोलबाध धाम मन्दिर निर्माणका १ करोड २ लाख र लागत साझेदारी सहित कूल ५ करोड ९२ लाख बजेट छुट्टिएको छ । 

 

त्यसैगरी डिउहार निर्माण, भडछा महोत्सव, बौद्ध गुम्बा निर्माण, औद्योगिक प्रदर्शनी महो, आदिबासी जनजाति महोत्सव र पार्क निर्माणको लागि ५१ लाख बजेट विनियोजन भएको छ । त्यसैगरी सैनामैनाको पूर्वाधार विकासतर्फ कूल २९ करोड ३३ लाख ४४ हजार रकम विनियोजन भएको छ ।  

 

पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि मुर्गियामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको १५ शय्याको आधारभुत अस्पतालको निर्माण सम्पन्न गर्न ५ करोड बजेट व्यवस्था गरिएको छ । त्यसैगरी कोभिडका कारण भौतिक रुपमा स्कुलबाट अध्ययन अध्यापन बन्द रहेकोले  बैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न १० लाख विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक, अपांग, महिला र बालबालिकाको क्षेत्रमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  

 

त्यसैगरी एक शिक्षक एक ल्यापटप कार्यक्रम संचालनको लागि ५० लाख विनियोजन गरिएको छ । शिक्षकलाई सूचना प्रविधि मैत्री वनाउको लागि प्रविधिमैत्री दक्ष शिक्षकहरुबाट अन्य शिक्षकहरुमा सीप हस्तान्तरण गर्ने व्यवस्था मिलाउन ९ लाख विनियोजन भएको छ । 

 

सालझण्डीस्थित वनकट्टी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्न ५ लाख, गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रमको लागि ३ लाख, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रमको लागि २ लाख, हेलो आमा कार्यक्रम मार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गर्न १ लाख ५० हजार विनियोजन भएको छ । 

 

महिलासंग उपप्रमुख कार्यक्रमबाट महिलाहरूको स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न स्तन क्यान्सर शिविर र पाठेघरको मुखको क्यान्सर शिविर सञ्चालन गरिने बजेटमा उल्लेख छ । 

 

महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य वीमा गर्न  १ लाख ४२ हजार विनियोजन भएको छ भने महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई थप जिम्मेवार र उत्तरदायी बनाउन कार्यसम्पादनको आधारमा प्रोत्साहन गर्न महिला स्वास्थ्य स्वयंसेविका अक्षय कोषमा १ लाख थप रकम विनियोजन भएको छ । 

 

हाल सञ्चालनमा रहेका शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थित गराउन १४ लाख ९६ हजार, सरसफाईमा उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गर्ने तथा फोहोरमैला व्यवस्थापन कोषमा  ५० लाख विनियोजन गरिएको छ । 


स्वास्थ्य र सरसफाई क्षेत्रको लागि कुल रु. १० करोड ५० लाख ७२ हजार विनियोजन भएको छ । सवै विद्यालयहरुलाई एकै किसिमको रंगरोगन गर्न १० लाख विनियोजन भएको छ । विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क उपलव्ध गराउन ३७ लाख ५७ हजार बजेट व्यवस्थापन भएको छ । 

 

त्यसैगरी उत्कृष्ट संचारकर्मीलाई सम्मान गर्ने, कर्मचारीलाई प्रोत्साहन दिने, सुशासन कायम गर्न डिजिटल नागरिक बडापत्र जडान गरिने, पत्रकारीतामैत्री नगरपालिका विकास गर्ने बजेटमा उल्लेख गरिएको छ । 


यस्ता छन् बजेटका प्राथमिकता
 

कोभिडबाट रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउने
सुकुम्वासी समस्या समाधान गर्ने 
कृषि, पर्यटन उद्योग र पूर्वाधार सुसंस्कृत समृद्ध नगर सैनामैनाको आधार भन्ने नारा आत्मसाथ गर्ने 
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता
भूमि बैंकमार्फत प्रविधियुक्त कृषि 
स्वरोजगारीमा बृद्धि सैनामैनाको आर्थिक सम्मृद्धि 
एक शिक्षक एक ल्यापटप
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद 
विपद न्यूनिकरणका लागि पूर्व तयारीमा जुटौं, 
औद्योगिक ग्राम निर्माण, शित भण्डार, कृषिमा अनुदान
भूमि बैंकमार्फत किसानको जीवनमा सुधार
बेरोजगार युवा युवतीलाई रोजगारीको अवसर