close

५ वर्षे आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तयार गर्दै मुसीकोट 

५ वर्षे आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तयार गर्दै मुसीकोट 

Trulli
ADVERTISEMENT

गुल्मी/वामीटक्सार– गुल्मीको मुसीकोट नगरपालिकाले नगरभित्र दिगो विकासका लागि समग्र पक्ष समेटिएको ५ वर्षे आवधिक योजना निर्माण सुरु गरेको छ ।
आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा गोष्ठीमार्फत सो कार्य सुरु गरिएको हो ।


हालै नगरपालिकामा सम्पन्न पहिलो चरणको ३ दिने गोष्ठीले पालिकामा हालसम्म भएका कामको समीक्षा गर्दै ५ वर्षमा हासिल गर्न सकिने योजनाको परिकल्पना आधार तयार गरेको छ ।  त्यसका लागि हाल विज्ञमार्फत ड्राफ्ट तयार भइरहेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।


आवधिक योजना निर्माण गर्दा अहिलेको वस्तुस्थिति विश्लेषण गर्दै ५ वर्षको लक्ष्य किटान हुने र सो लक्ष्य निर्धारण गर्दा विकासका आयाम ख्याल गरिनेछ ।सरकारको राष्ट्रिय आकांक्षा, योजना आयोगले निर्धारण गरेका सूचक र संघ तथा प्रदेश सरकारका नीति कार्यक्रमसँग मेल खाने गरी पूर्वधार, आर्थिक विकास, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासनलगायत पक्ष समेटेर प्रक्रिया तय गरिने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।


मुसीकोट नगरपालिकाअन्तर्गतका विषयगत समिति, विभिन्न विषयगत शाखाका शाखा प्रमुख तथा प्रतिनिधि, विकास साझेदार, उद्योग वाणिज्य संघ, राजनीतिक दल, कृषकका प्रतिनिधिलगायतको सहभागितामा योजना निर्माण भइरहेको छ ।


पहिलो चरणको गोष्ठीमा ५ वटा विषयगत समितिले प्रस्तुत गरेको प्रस्तुति र विज्ञको सुझावसहितको ड्राफ्टमा दोस्रो चरणसहित विभिन्न चरणमा छलफल हुँदै आवधिक योजना निर्माण गर्ने योजना नगरपालिकाको छ ।


नगरको विकास लक्ष्य हासिल गर्न हालको यथार्थ तथ्यांकसहितको विश्लेषण र भावी योजनासहित ५ वर्षे आवधिक योजना निर्माणमा लागेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।


पहिलो चरणको गोष्ठीको प्रस्तावमा विज्ञको सुझावसहित तयार हुने ड्राफ्ट प्रतिवेदनमाथि विभिन्न चरणमा छलफल, बहस र सुझाव संकलन गरेर योजनालाई पूर्णता दिइने नगर प्रमुख सापकोटाले बताए ।


५ वर्षे आवधिक योजनालाई पूर्णता दिन मध्यकालीन खर्च संरचनासमेत तयार गरिनेछ । सोही गोष्ठीमार्फत वित्तीय अनुशासन तथा सुशासन कायम गर्न र वार्षिक कार्यक्रम तथा बजेटलाई ५ वर्षे आवधिक योजनामा जोड्ने गरी मध्यकालीन खर्च संरचना तयार गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।नगरपालिकाको योजना निर्माणका लागि एमडी इन्जिनियरिङ कन्सल्टेन्सीले सहजीकरण गरिरहेको छ ।