close

४० हजार बढीले गरे कम्पनी विवरण अद्यावधिक

४० हजार बढीले गरे कम्पनी विवरण अद्यावधिक

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजार बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेको संख्या वृद्धि भएको हो ।

 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न पाउने व्यवस्था गरेसँगै ४० हजार बढी उद्योग कम्पनीले नवीकरण गराएका हुन् । वर्षौंदेखि नवीकरण नभएका कम्पनीले सो अवधिमा छुट दस्तुर बुझाएर नवीकरण गराएको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ ।

 

सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट रजिस्ट्रेसन ऐन, २०१४ अनुसार आर्थिक वर्ष ०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले ०७८ पुस मसान्तभित्र विवरण र शुल्क तथा जरिमानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिमाना मिनाहा दिएको थियो ।

 

तोेकिएको समयभित्र अनुमान गरेभन्दा बढी कम्पनी नवीकरण भएको कार्यालयका रजिस्ट्रार प्रदीपराज अधिकारीले जानकारी दिए । उनका अनुसार २०२० मा दर्ता भएका कम्पनीसमेत छुटमा नवीकरण गर्न आएका छन् । बजेटमै कम्पनी नवीकरणमा छुट दिएपछि धेरै पुराना कम्पनी र ठूलो रकम जरिमानामा परेका कम्पनीले नवीकरण गराएका हुन् ।

 

अद्यावधिकसँगै उद्योग दर्तामा वृद्धि

 

सरकारले नवीकरण दस्तुरमा छुट दिएसँगै नयाँ दर्ता तथा विवरण अद्यावधिक गराउने उद्योगको संख्यामा समेत वृद्धि भएको छ । गत वर्षकोे पुस मसान्तसम्म १५ हजार कम्पनी दर्ता तथा अद्यावधिक भएकामा हाल १६ हजार ४०० बढी कम्पनी दर्ता भएका छन् । 

 

कार्यालयका अनुसार गत वर्ष नयाँ कम्पनी दर्ता तथा विवरण अद्यावधिक गर्दा रु ९८ करोड राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै ९५ करोड रुपैयाँ राजस्व संकलन भइसकेको रजिस्ट्रार अधिकारीले बताए ।सरकारले ५ प्रतिशत जरिमाना रकम भुक्तानी गरेर पुराना कम्पनीको विवरण अद्यावधिक गर्ने सुविधा दिँदा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व संकलनमा उल्लेखनीय वृृद्धि भएको उनको भनाइ छ । 

 

‘९५ प्रतिशत छुट दिएर शुल्क लिँदा गत वर्ष संकलन भएको रकम बराबर अहिले ६ महिनामै संकलन भएको छ’, उनले भने, ‘छुट दिएपछि राजस्व संकलनमा कमी आउनुपर्ने हो । तर, व्यवसायीको उत्साहजनक सहभागिताका कारण राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको छ ।’

 

कम्पनी ऐनमा तोकिएको म्यादभित्र विवरण, सूचना–जानकारी वा जवाफ उपलब्ध नगराउँदा प्रत्येक वर्ष ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिमाना लाग्ने कानुनी व्यवस्था छ  । ऐनले कम्पनीको चुक्ता पुँजी र विवरण नबुझाएको समयावधिअनुसार जरिमानाको व्यवस्था गरेको छ ।

 

कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांकअनुसार हालसम्म करिब ३ लाख कम्पनी दर्ता भएका छन् । तर, दर्ता भएकामध्ये करिब १० प्रतिशत कम्पनीले नियमित र १० प्रतिशत कम्पनीले जरिमाना तिरेर विवरण अद्यावधिक गराउने गरेको रजिस्ट्रार अधिकारीले जानकारी दिए । 

 

तोकिएको समयमा आवश्यक विवरण नबुझाए कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारीलाई रजिस्ट्रार कार्यालयले कम्पनीको पुँजी र विलम्ब भएको समय हेरी न्यूनतम १ हजारदेखि वार्षिक २० हजार रुपैयाँसम्म नगद जरिमाना गर्ने व्यवस्था छ । 

 

ऐनको दफा १३६ मा लगातार ३ वर्षसम्म कम्पनीले वार्षिक आर्थिक विवरण, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन वार्षिक साधारणसभाबाट पास भएको ३० दिनभित्र रजिस्ट्रारको कार्यालयमा नबुझाए वा विवरण नबुझाएबापत तिर्नुपर्ने जरिमाना नतिरे कम्पनी खारेज गर्ने व्यवस्था छ । तर, रजिस्ट्रार कार्यालय कम्पनीको खारेज नगर्दा धेरै कम्पनीले लामो समयदेखि जरिमाना रकम तिरेका थिएनन् ।