close

राजस्व संकलनका लागि कर्मचारीसँग देवदहको अन्तरक्रिया

राजस्व संकलनका लागि कर्मचारीसँग देवदहको अन्तरक्रिया

Trulli
ADVERTISEMENT

रुपन्देही - देवदह नगरपालिकामा राजस्व संकलनसम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा पालिका अन्तर्गतका वडा कार्यालयका सचिव तथा शाखागत कर्मचारीबीच अन्तरक्रिया गराइएकाे हो । 

नगरपालिकाको अनुसार पालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ ले दिएको आन्तरिक राजस्व लक्ष्य भेटाउनको लागि मासिक तथा वार्षिक कार्ययोजना निर्माण गरी  नियमनकारी भूमिकालाई प्रभावकारी बनाउनका लागि सो अन्तरक्रिया सञ्चालन गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको अनुसार  स्थानीय तहको आम्दानी बढाउने उपाय, शाखागत र वडागत आधारमा राजस्वको लक्ष्य निर्धारण गर्ने, राजस्व प्रणालीलाई सवल र सक्षम बनाउने रणनीतिबारे जानकारी दिएको छ । 

निस्सा नम्बरका आधारमा  कच्चि जग्गामा निर्माण भएका घर र जग्गालाई समेत करको दायरामा ल्याउनेबारे छलफल भएको उनले बताए । कच्चि जग्गामा निर्माण भएका घरहरुको समेत अभिलेखिकरण तथा मिशन स्रोत परिचालन अभियान घोषणा गरिने उनले सुनाए । 

संघ, प्रदेश तथा स्थानीय तहको नीतिगत अस्पष्टता, जनशक्ति अभावलगायतको कारणले राजस्व संकलनमा समस्या हुने गरेको नगरपालिकाको राजस्व शाखाका अधिकृत विष्णुप्रसाद बस्यालले बताए । उनले कर्मचारी अभाव भएकाले टोलटोलमा राजस्व संकलनको कार्यक्रम सञ्चालन गर्न समस्या भएको पालिकाखबरलाई बताए । 

समस्या समाधानको लागि संघ र प्रदेशको नीतिगत स्पष्टतालाई सुधारको लागि सम्बन्धित निकायलाई झकझकाउनेबाहेक अन्य विकल्प नभएको उनले सुनाए । स्थानीय तहको समस्यालाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा समाधान गरिने उनले बताए । भएको कर्मचारीलाई सबै वडाका टोल विकास समितिसँग सहकार्य गरी नागरिकको घरघरमा परिचालन गरी राजस्व संकलन गर्न सकिने उनले जानकारी दिए । 

स्थानीय जनताबाट संकलित रकमबाटै पालिकाको विकास हुने भएकाले राजस्व संकलनका लागि समय–समयमा अन्तरक्रिया गर्दै आएको उनले बताए । राजस्व संकलन गर्नको लागि वडाका सचिव, कर्मचारी तथा जनप्रतिनिधिसँग समन्वय गरी 'टिम वर्क'मार्फत काम गरिने उनले बताए ।