‘आजको दिन अर्थपूर्ण रह्यो कि व्यर्थ रह्यो’ यो सोच्दा-सोच्दै करिब ३ बजे कार्यालय आइपुगिएछ । खबर बनाउने उद्देश्यले हिंडेको पत्रकारका लागि आफैं बेखबर हुनुले व्यर्थ लाग्दै थियो । अनुभवका हिसाबले मेरा लागि अर्थपूर्ण रह्यो ।
कार्यालय पुग्नेबित्तिकै इ–हाजिरी मेसिनमा औंला दबाउने बित्तिकै आएको ‘ओके’ भन्ने आवाज नसकिंदै सम्पादकले आफ्नो कार्यकक्षमा निम्त्याउनुभयो । मेरो आजको असाइनमेण्ट थियो, ‘काठमाडौं महानगरपालिका ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बसन्त अधिकारी काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको रुपमा आइतबारदेखि कार्य सम्हाल्दै थिए । उनी मन्त्रालयमा छँदा धेरै खबरहरूमा ‘कोट’ लिनका लागि पर्याप्त सम्पर्क भइरहेको थियो । चर्चाको चुलीमा रहेको काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा जान लागेका सहसचिव अधिकारीको पहिलो दिनको रिपोर्टिङ म कार्यरत मिडियाका लागि महत्त्वपूर्ण विषय थियो नै । म गएँ । साढे १० बजे कार्यभार सम्हाल्ने जानकारी मैले पाएको थिएँ । क्यामेरापर्सन सुमनजीसँगै १०:२० मै महानगर पुगेँ ।
मुलुककै ७५३ पालिकामध्ये धेरै कर्मचारी, धेरै स्रोत भएको पालिकाको प्रमुख प्रशासकीयको स्वागत त दमदार नै होला भन्ने सोचेको थिएँ । तर, महानगरमा भने कुनै चहल-पहल नै थिएन । सरुवा गरिएका लोकनाथ पौडेल प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै थिए ।
प्रशासन विभागका निर्देशक नवराज थापालाई राखेको जिज्ञासाको जवाफ तत्कालै पाएँ, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आज आउनुहुन्छ कि बुधबार भन्ने टुङ्गो नै लागेको छैन’ । टुङ्गो नै नलागेको भए मलाई कार्यालयले किन पठायो ?
सूचनाबारे नै संशय भयो । पुनः कार्यालयमा फोन गरेँ । ‘उहाँ आउनुहुन्छ, त्यही बस्नुस्, कुराकानीसमेत गरेर आउनुस्’ कार्यालयबाट जवाफ आयो । मसँग पनि कुर्नुको विकल्प थिएन ।
योबीचमा कर्मचारीहरूको हिंडाई होइन, दौडाई चलिरहेको थियो । यो स्वागत र बिदाइका लागि थिएन । पुराना बाँकी रहेका काम नयाँ हाकिम नआउँदै सिध्याउन जोडबल गरिरहेका थिए । सबै फाईल बोकेर दौडिरहेका थिए ।
प्रशासन विभागका नवराज सर केही कागजपत्रमा हस्ताक्षर गर्दै थिए । ‘पुरानो हाकिमको कार्यभार सक्किसकेको छ । अब नयाँ हाकिम आएपछि हाम्रो अधिकारको क्षेत्र पनि फेरबदल हुन सक्छन् । त्यसैले २/३ दिनपछि मात्र तपाईंको काम हुन्छ,’ सेवाग्राहीलाई यही रेडिमेड जवाफ पनि सँगसँगै फर्काउँदै थिए ।
कसैलाई कुर्नुजतिको गाह्रो काम मलाई केही लागेन । आज त्यस्तै अनुभूति भयो । कुरेर पनि परिणाम आएन भने त झन् कस्तो पो हुने हो । यही सोच्दै थिएँ । हुनत हाम्रो जात नै त्यस्तै हो, जति समय पर्खिएर भए पनि खबर लिएर जानु नै सफलता हो । कुर्नुपर्ने समयमा केही प्रश्नावली तयार गरेँ ।
हामी मात्रै कुरिरहेका रहेनछौं । एक जना वृद्ध ‘बा’ पनि कुरिरहेका थिए । कुराइको उद्देश्यमात्रै फरक, तर उही पट्यारलाग्दो कुराइमा ती ‘बा’लाई हेरिरहेको थिएँ । गत असारमै पाउनुपर्ने रकम नपाएका उनी ‘हाकिम चेञ्ज’ भएको थाहा पाएपछि पैसा लिन दौडिएर आएका रहेछन् । तर, उनको काम हुने संकेत त्यहाँ देखिएको थिएन । सुन्दै थिएँ, ‘हाकिमको मुड छैन ।’
यसैबीचमा महानगरको एक गिलास तातोपानी खाइसकेँ । ‘लामो समय भयो आउनु भएको, भोक लाग्ने बेला भएन र ?’ प्रशासन विभागका नवराज सरले अनवरत कुराइलाई महशुस गर्दै भने, ‘अन्यौल नै छ ।’ त्यहि अन्यौलकाबीच खाजा खाने जाँगर जुर्यो । क्यान्टिनतर्फ लागेँ ।
खाजा खाइरहँदा न आइहाले कि त हाकिम ? भन्ने छट्पटी ज्यूँदै थियो । फर्किएँ, पुनः कुराइको निरन्तरता दिन । ती वृद्ध पनि कुरिरहेका थिए । करिब ४ घण्टा बितिसकेको थियो । नयाँ हाकिम बसन्त अधिकारीलाई फोन गरेँ । ‘म त आजैबाट कार्यभार सम्हाल्न तयार अवस्थामा छु । तर पुराना प्रमुख प्रशासकीय अधिकृतको बिदाई नभएसम्म आउने कुरा त भएन नि । बिदाई तथा स्वागत कार्यक्रम एकैपटक भइदिएको भए राम्रो हुने थियो ।’ अधिकारीको यो जवाफले अन्यौलता झनै छायो ।
उता प्रशासन विभागका प्रमुख तथा सहायक प्रवक्ता महेश काफ्लेको कोठामा प्रमुख प्रशासकीयकै विषयमा शान्त र खासखुस ‘छलफल’चलिरहेको थियो । मलाई देखेपछि खासखुस शान्त पार्दै भने, ‘बसन्त सर आउन तयार हुनुहुन्छ, तर ....... ।’ अपूर्ण जवाफबाटै चित्त बुझाएँ ।
पिठ्यु फर्काएर अगाडि बढ्दै गर्दा ‘खासखुस छलफल’का आवाज कानमा ठोकिँदै थियो, ‘बसन्त सरलाई आज स्वागत गरेर केही दिनपछि उहाँले कार्यभार सम्हाल्दा पनि त हुन्छ होला नि ।’ प्यासेजबाट अगाडि बढ्दै गर्दा एकजना महिला कर्माचारी नयाँ ‘हाकिम’को स्वागतका लागि मूर्ति र फूलमाला ठीक पार्दै गरेको देखेँ । सहायक प्रवक्ता महेश सर पनि अन्यौलमै देखेँ ।
आउने हाकिम बिहान १० बजेदेखि ठिक्क परेको बसेको छ । हामी रिपोर्टिङका लागि तयार छौं । स्वागतका लागि कर्मचारी तयार छन् । अनि निष्कर्ष निकालेँ । कि त जाने मानिस छोड्न तयार छैन, कि त आउने हाकिमलाई स्वीकार्न जनप्रतिनिधि तयार छैन । करिब ५ घण्टाको कुराइसँगै अनेक तर्कना आए, राजनीति, तिकड्म खासै नबुझ्ने म पत्रकारले राजनीति भने बेहोरेँ । मलाई कुनै अफसोच छैन । कुराइप्रति कुनै नकारात्मक भाव पनि छैन । तर, किन ? भन्ने प्रश्न मेरो मनभित्रै गढेर रह्यो ।