'तपाई कति वर्ष बाँच्नु भयो ? त्यसले कुनै फरक पार्दैन तर, बाचुञ्जेल के गर्नुभयो ? त्यो महत्त्वपूर्ण छ'-मार्टिन लुथर किङको विश्व चर्चित यो भनाइ आज एउटा धरोहरको लागि सान्दर्भिक बनेको छ । ६२ वर्षीय इन्द्र कुलुङ इन्द्राजात्राकै दिन पोम्लालुङको प्यारो बन्नुभयो । एउटा व्यक्तिमात्र होइन, पहिचानको पक्षधर किरातीहरूको एउटा खम्बा मक्किएको हो । उठाउनै नमिल्ने गरी ढलेको हो ।
उमेरको हिसाबले नेपालीको औसत आयु जति पनि बाँच्नु भएन । तर गुनासो मनको पीडा बाहिर देखाउनु छैन किनकि जति वर्ष बाँच्नुभयो । उहाँ कुलुङ सामुदाय र किरातीहरूको अधिकारका लागि बाँच्नुभयो । पहिचान र अधिकारको कुरा गर्दागर्दै आज ११ बजेर १५ मिनेटमा वीर अस्पतालमा अन्तिमा श्वास लिनुभयो । उहाँका कैयौं सपनाहरू अपूरा र अधुरा रह्यो । त्यसमध्ये एउटा मुख्य सपना कुलुङ सूचीकरण अधुरै रह्यो । त्यसपछि संस्कार र संस्कृतिको नाममा क्षेत्र र भुगोलका आधारमा हुने भेदन चिर्ने काम पनि अधुरै रह्यो ।
मार्टिन लुथर किङकै भनाइलाई आधार मान्ने हो भनेर मोतिराम भट्टभन्दा ३२ वर्ष धेरै उहाँ कुलुङ सामुदायका लागि बाँच्नुभयो । उहाँले व्यक्तिगत स्वार्थ हेर्नुहुन्थ्यो भने एसएलसी पास गर्नु भएपछि अफिसियल गाडीसहितको आकर्षक जागिर थियो ।सबै घर, जागिर र परिवार त्यागेर सादगी जीवन जिउनुभयो । सरल, शिष्ट र सालिन जीवन जिउनुभयो । आकर्षक जागिर छाडेर पूर्णरुपले कुलुङ लगायतका आदिवासीहरुको अधिकार प्राप्तिका लागि लाग्नुभयो ।
करिब १८ वर्षयता कुनै लाभको पदमा नबसी समुदायका लागि कृयाशिल हुनुहुन्थ्यो । आफ्नो क्षमताले भ्याएसम्म कुलुङ समुदायकै जागरण, अभिलेखीकरण र खोज अनुसन्धानमा अहोरात्र खट्नु भयो । इन्द्र कुलुङले कुलुङ समुदाय र आदिवासी जनजातिहरु बारे थुप्रै अध्ययन अनुसान्धन गर्नु भएको छ । संस्थागत विकासको अनेक प्रयत्न गर्नु भएको छ । उहाँले भन्नुहुन्थ्यो,'हामी पिछडिएको सामुदायमा छौं । हामीले अधिकारको कुरा नगरे कसले गर्छ' । अरुलाई ऊर्जा दिँदै पहिचानका लागि आफैले अघि लाग्नुभयो ।
कसैको आँखामा नभिज्ने अनि हरेक कुरालाई सकारात्मक लिनुपर्छ भन्ने एक प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो । अरूले नराम्रो आशयले धारणा राखे पनि राम्रो तरिकाले ग्रहण गर्ने उहाँको व्यक्तित्व प्रेरणाको स्रोत हो । यसो भन्दै गर्दा अन्याय हुन सक्छ । किनकि उहाँको कुन व्यवहार प्रेरणाको स्रोत नबन्ला ? हरेस नखानु, नकारात्मक नसोच्नु र कसैलाई पनि नराम्रो व्यवहार नगर्नु अनि अध्ययनशील हुनु है भनेर हरेक भेटमा उर्जा दिनुभयो ।
उहाँलाई रोगले सताउन थालेको धेरै लामो समय भइसकेको थियो तर गत साउन ३१ गते मंगलबार उहाँसँग करिब ६ घण्टा बसाइ भो । त्यो नै अन्तिम आशिष् लिने दिन बनेछ । त्यो दिन भन्नुहुन्थ्यो,'विवश भाइ, पुस्तकालय व्यवस्थित गर्नुपर्ने । भवनमा जान्छु भन्दाभन्दै थला परेँ । निको भएपछि गर्नुपर्छ है ।' अनि मेरो निजी जीवनको बारेमा पनि धेरै चिन्ता गर्नुभयो । त्यो भेटमा तिमीले यही बेला आफ्नो बारेमा पनि सोच्नुपर्छ । अहिले सोचेनौ भने कहिले सोच्छौं भनेर केही जीवनोपयोगी टिप्स पनि दिनुभयो । त्यो दिन संस्कार र संस्कृतिको नाममा स-साना अन्योलता छ त्यसलाई समाधान गराउनुपर्छ भनेर पनि योजनाहरू सुनाउनु भयो ।
त्यो भेटमा मैले धेरै कुरा सोध्न सकिनँ । मनमा धेरै सोध्नुपर्ने र जान्नुपर्ने अनि मन लागेका कुराहरू थियो । तर धेरै नबोलाउनु पर्ने भन्ने चिकित्सकको सुझावमा म सचेत थिएँ । निको हुनुभएपछि धेरै कुरा सोध्नेछु । धेरै कुरा सिक्नेछु भनेर ६ घण्टा बसें तर, त्यो भेट नै औपचारिक रुपमा अन्तिम भेट भयो ।
एउटा पात्रमात्र ढलेन । एउटा धरोहर ढल्यो । तपाई राज्यले पहिचानविहीन बनाएका नागरिकहरूको आवाज हुनुहुन्थ्यो । अब त्यो आवाज बन्द भएको छ । पहिचानका युद्धवीरको एउटा पुञ्ज भौतिक रुपमा निभेको छ । तपाईको अभावको पूर्ति होला–नहोला तर तपाईले देखाउनु भएको मार्गमा हिँडीमात्रै दिन सक्छौ भने पनि त्यो श्रद्दा सावित हुनेछ । पूरै कुलुङ सामुदाय शोकमा डुबेको छ । अन्तमा भावपूर्ण श्रद्धाञ्जली ।