आम्मा हौं; देउराली बजारमा त कुकुर पनि कति हो कति । कुनै साना, कुनै ठूला, कुनै सेतो, कुनै कालो । बजारभर डुलेका छन् । दयालुको हातबाट केही न केही खान पाएकै छन् । तर घर पालुवाजस्तो मोटाएका छैनन् । बाँच्न पाएका छन् । घरका कुकुर मोटाए पनि स्वतन्त्र छैनन् ।
म सानो लुबम गाउँमा जन्मेको मान्छे । दुईचार वटामात्र घर भएको लुबममा कसैले कुकुर पालेका छैनन् । गाउँमा कुकुरको नाममा बाउआमाले मलाई बोलाउने नाममात्र छ । तर त्यो पनि दैनिक नामकरण हुँदैनथ्यो । अन्तिम पटक गत भदौंमा स्कुल जान्छु भनेर घरबाट सेरा खोलातिर गएर बल्छी थापेको थाहा पाएपछि आमाले भन्नु भएको थियो, तँ कुकुर । तर आमाले बुबालाई पोल सुनाउनु भएन त्यसैले घरमा भएको साङ्लोले दुःख पाएन । लुबममा पहिला कुकुर पालिन्थ्यो तर जंगलको बीचमा सानो बस्ती भएको हुँदा राति बाघको आहारा हाम्रै कुकुर हुन्थ्यो । हामीले कुकुर पाल्न छोडे पनि साङ्लो भने अझै घरमा छ।
शहरमा कुकुर शानको लागि पालिन्छ । तर हाम्रै छिमेकी गाउँ दाम्रोदा, ह्याब्रु र हेवातिर घरको सुरक्षाको लागि पाल्ने गर्छन् । अलि बाक्लो बस्ती भएको हुँदा कहिलेकाहीँ चोरी हुने डरले पाल्ने गरेका मित बा हाम्रोमा आएर सुनाउनुहुन्छ । तर हाम्रोमा त कुकुरकै चोरी शिकारी बाघले गर्ने भएपछि पाल्न छोड्यौँ । तर छिमेकीहरूको लागि घरको अंगरक्षकझै कुकुर चौबिसै घण्टा घरमै हुन्छ । बाक्लो गाउँ भएकोले आफूमाथि हुनसक्ने शिकारको डर छैन । साथै चोर आउँदैन भन्ने घरधनीको विश्वास पनि जितेको छ ।
हामीले घरको सुरक्षा गर्ने कुकुर पालेका छैनौं । एउटा विश्वासको आग्लोमात्र छ । लुबम गाउँमा त्यो विश्वास अझै कायम छ । त्यो हो,‘चाबी इमानदारीका लागि हो चोरका लागि होइन ।’ अर्थात् लुबमवासीले घरको लागि कहिल्यै पनि चाबी किनेनौँ । आज पनि छैन । सबैको घरमा झ्याल पनि छ । दुईतिर ढोका पनि छ । तर झ्याल र ढोका थुन्न आग्लो नै काफी छ ।
झ्याल–ढोका बन्द गर्ने मोटो र लामो काठनै आग्लो हो । आग्लो खोल्न सजिलो छ । बाङ्गो कुनै काठ वा फलामको टुक्राले नै खोल्न सकिन्छ । अर्थात् पुरानो घरमा त ढोकालाई केही बेर धक्क्याउँदै बसेमा खुलिहाल्छ । तर लुबम गाउँ सानो र थोरै परिवार भएकाले होला विश्वास छ । विश्वासपात्र होइन मैले थाहा पाएसम्म कसैको घरमा चोरी भएन ।
लुबम गाउँमा बर्सेनि घर संख्या थपियो । किनकि हामी एकल परिवारमा हुर्कने बानी भएका समुदाय हौं । तर थपिएका घरमा पनि महँगा ताल्चा चाबी भित्रिएन । अहिले पनि गाउँमा चोरी हुँदैन । हुन त हामीसँग महँगा बस्तु के नै छर ? तर चोरले त विभिन्न बस्तुको अनुमान लगाएरै भए पनि चोर्न सक्छ होला । तर आजसम्म भगवानको कृपा वा हाम्रो गाउँको चाबी लगाउने एउटै शैली देखेर हो कसैले हाम्रो विश्वासमाथि घात गरी चोरिहालेका छैनन् ।
त्यसैले नै होला । नयाँ घर बन्दै गर्दा होस् । एक दुई दिन घर छोड्ने बेला छिमेकीलाई घर हेर्दिनुस् भन्दा होस् । गाउँले थेगोको रूपमा विकास भइसकेको छ, ‘चाबी इमानदारीका लागि हो चोरका लागि होइन ।’ हुन त यो अब संस्कार भइसकेको छ । विश्वास र भरोसा भइसकेको छ ।
हाम्रो गाउँघरमा मोबाइल र टेलिभिजनदेखि इन्टरनेटसम्म नयाँ प्रविधि भित्रिइसकेका छन् । टाढा टाढाबाट आधुनिक बुहारी पनि आएका छन् । काका र मामाका छोराहरू मूल घरबाट छुट्टिएर नयाँ घरमा सरिसकेका छन् । तर हाम्रो चाबी लगाउने परम्परागत शैली अझै कायम छ । आग्लोमाथिको विश्वास अझै घटेको छैन । कोही नयाँ पाहुना आएर सोधिहालेमा गफ दिने माध्यम भएको छ । सुन्नेको लागि सिकाइ भएको छ ।