close

डोटीमा खाना पकाउने एलपी ग्यासको मूल्य पसलैपिच्छे फरक

डोटीमा खाना पकाउने एलपी ग्यासको मूल्य पसलैपिच्छे फरक

Trulli
ADVERTISEMENT

डोटी -  डोटीमा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताले गुनासो गरेका छन् । 


ग्यासको पसलैपिच्छे फरक मूल्य लिन थालेपछि उपभोक्ताहरू मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका-२ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए । उनले भने, ‘डिलर, सबडिलरमै ग्यासको मूल्य फरक छ, जसले गर्दा हामी मारमा परेका छौं ।’


जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लान्टले १ हजार ३ सय १३ रुपैयाँमा सम्बन्धित डिलरमा आपूर्ति गरेको जनाएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास १ हजार ४ सय ५० रुपैयाँ लिने तथा खुद्रामा १ हजार ५ सय रुपैयाँ लिने गरेको तथा सोही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा  १ हजार ६ सय रुपैयाँसम्म लिने गरेको दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाका स्थानीय हरि विकले बताए ।


उनले भने, ‘ग्यास कम्पनीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले सरकारले तोकेकै मूल्यमा दिनुपर्ने ठाउँमा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्, यो विषयमा कसैले पनि चासो देखाएका छैनन् ।’ 


दिपायल पिपल्लामा रेडिएन्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले १ हजार ३ सय १३ रुपैयाँमा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको तर पछि लिने गरेकाले सो रकम जोडेर ग्यास बेच्ने गरेको बताउँछन् । 


डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई सरकारले तोकेको रकमभन्दा बढी ग्यासको मूल्य लिएर बिक्री गर्ने व्यापारीलाई कारबाही गरिने बताउँछन् । उनले भने, ‘ग्यासमा सरकारले तोकेको रकमभन्दा १ रुपैयाँ पनि बढी लिन पाइँदैन । पसलैपिच्छे फरक रकम लिइएको छ भने तुरुन्त कारबाही गर्छौं ।’


जिल्लाका कुन-कुन पसल तथा व्यापारीले बढी मूल्य लिएर ग्यास बिक्री गरेका छन्, सो विषयमा अनुगमनसहित जानकारी लिन र कारबाही गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।