close

प्रविधिमैत्री बन्दै सिद्धिचरण

प्रविधिमैत्री बन्दै सिद्धिचरण

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको एक मात्र सिद्धिचरण नगरपालिका प्रविधिमैत्री बन्ने क्रममा रहेको छ । नगरपालिकाले कार्यालय परिसरमा इन्टरनेट निःशुल्क व्यवस्था गरेको छ ।  


सेवाग्राहीका कतिपय कागजात इमेलबाट मगाएर पनि सेवा लिन सकून् भन्ने उद्देश्यले ‘फ्रि वाइफाइन’ जोन तोकिएको छ । सोच नेपालको सहकार्यमा नगरपालिकाको मोबाइल एप्स बनाएको छ । त्यसबाट नगरका सबै प्रकारका सूचना र जानकारी लिन सकिन्छ ।


नगरपालिकाको वेबसाइट दैनिक अपडेट हुन थालेको छ । नगरपालिकाका ऐन, योजना तथा बजेट, नीति तथा कार्यक्रम सबै वेबसाइटमै राखिएका छन् । नगरपालिकाले सेवाग्राहीका लागि प्रतीक्षालयसमेत निर्माण गरेको छ । उक्त प्रतीक्षालयमा टेलिभिजन सेट राखिएको छ । 


सेवा लिन पालो कुर्दा एवं दिक्क लाग्दा सेवाग्राहीले सूचना र मनोरञ्जन लिन सकून् भनेर टेलिभिजन राखिएको नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए । उनले भने, ‘सर्वसाधारणलाई वडापत्रमा सेवाबारे उल्लेख गरेका छौं । त्यहाँ हेरेर प्रक्रिया र समय थाहा पाउँछन् । प्रतीक्षालयमा बस्दा सूचना र मनोरञ्जन लिन टेलिभिजन हेर्छन् ।’


वडा तहका परिपत्र इमेलबाट पठाइसकेपछि तत्काल वेबसाइटमा राखिने कम्प्युटर अपरेटर पदम परियारले बताए । उनले भने, ‘सबैखाले सूचनादेखि परिपत्र र निर्णय, खर्च तथा आम्दानीको विवरण सकेसम्म तत्काल अद्यावधिक गर्ने गरिएको छ ।’ 


विद्युत् र इन्टरनेटमा समस्या आएको समयबाहेक सधैं वेबसाइट अद्यावधिक भइरहने उनले बताए । नगरपालिकाका सबै वडामा इन्टरनेट जडान गरिएको छ । वडाहरूमा निःशुल्क इन्टरनेटको सुविधाको व्यवस्था गरिएको छ । 


नगरलाई प्रविधिमैत्री बनाउने प्रयास निरन्तर रहेको नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘सेवा प्रवाह प्रभावकारी बनाउन र विद्युतीय सुशासनलाई व्यवस्थित गर्न पनि प्रविधिमैत्री बन्ने प्रयासमा छौं ।’