close

रावावेँसीमा उपभोग्यवस्तुको दर रेट निर्धारण

रावावेँसीमा उपभोग्यवस्तुको दर रेट निर्धारण

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको रावावेँसी गाउँपालिकाले स्थानीय बजार मूल्यमा एकरूपता कायम गर्नका लागि उपभोग्य वस्तुको मूल्य निर्धारण गरेको छ । स्थानीय बजारमा एउटै सामानको मूल्य फरकफरक पर्ने अवस्थालाई नियन्त्रण गर्दै गाउँपालिकाभरका बजार मूल्यमा एकरूपता कायम गर्नका लागि दर रेट तथा मूल्य निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।


विशेषगरी मासुजन्य तथा खाद्य सामग्री गरी २० प्रकारका उपभोग्य वस्तुको बजार मूल्यमा एकरूपता कायम गर्नेगरी गाउँपालिकाले दर रेट तथा मूल्य निर्धारण गरेको हो ।


दर रेट तथा मूल्य निर्धारणपछि अर्को व्यवस्था नभएसम्मका लागि गाउँपालिकाका छवटै वडाका हाट बजार तथा पसलमा खाद्य तथा मासुजन्य सामग्री एउटै मूल्यमा किनबेच हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको बैठकले खसी, बोकोको मासुको मूल्या प्रतिकिलो ७००, राँगाको मासु ३५०, सुँगुरको मासु २४०, माछा ५००, लोकल राम्रो लामो चामल प्रतिकिलो १००, लोकल खुकुरा ७००, ब्रोइलर कुखुरा ३००, गिरीराज कुखुरा ६००, लोकल छोटा चामल ७५ रुपैयाँ र वर्षे धानको चामलको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको छ ।

 
यस्तै, स्टिम जिरा चामलको मूल्य प्रतिकिलो ७५ रुपैयाँ, सोना मन्सुली चामल (पुरानो) ५० रुपैयाँ, नयाँ कान्छी मन्सुली चामल ४५ रुपैयाँ, लोकल कालो दाल १५० रुपैयाँ, लोकल सेतो मास १०० रुपैयाँ, मुसुरी दाल १४० रुपैयाँ निर्धारण भएको छ ।


यसैगरी तोरीको तेल प्रतिलिटर १९० रुपैयाँ, सूर्यमुखी तेल १८० रुपैयाँ निर्धारण भएको छ भने आयोडिन नुन प्रतिकिलो ३० रुपैयाँ र ढिके नुन २० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । तोकिएको दर रेट कार्यान्वयन भए, नभएको विषयमा अनुगमन गर्ने गाउँपालिकाको तयारी छ ।


अन्य उपभोग्य वस्तुको दर रेट आवश्यकताका आधारमा आगामी बैठकबाट निर्धारण गरिने गाउँपालिका अध्यक्ष निरौलाले बताए । ‘बजार तथा पसलमा एउटै उपभोग्य सामग्रीको मूल्य फरकफरक पर्ने गरेको छ । त्यसलाई नियन्त्रण गर्दै बजार मूल्यमा एकरूपता ल्याउनका लागि दर रेट निर्धारण गरिएको हो’, गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘अब एउटै उपभोग्य वस्तुको मूल्य गाउँपालिकाभर एउटै हुन्छ । पछि बजार भाउअनुसार दर रेटमा पुनर्मूल्यांकन गर्नुपर्ने अवस्थामा बैठक बसेर अर्को नयाँ दर रेट निर्धारण गर्दै जानेछौँ ।’