close

विर्तामोडमा मरेका माछा बेच्न प्रतिबन्ध

विर्तामोडमा मरेका माछा बेच्न प्रतिबन्ध

Trulli
ADVERTISEMENT

झापा - झापाको विर्तामोड नगरपालिकाले भारतबाट आयातित मरेका माछा बिक्रीमा रोक लगाएको छ ।

जनमानसमा प्रत्यक्ष असर पर्ने भएकाले नगरभित्र सडेगलेका माछाको विक्री वितरणमा रोक लगाउने कार्यपालिकाको निर्णय अनुसार रोक लगाइएको विर्तामोड नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले बताए ।

शिवाकोटीले भने, ‘बिदेशबाट भित्रिने माछामा फर्मालिनको प्रयोग हुन्छ । अर्कोतिर लामो समयसम्म बरफमा राखिने गरेकाले यसले मानव स्वास्थ्यमा सिधै असर गर्ने पाइएको हुँदा उपभोक्ताको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर नगरपालिकाले रोक लगाएको हो ।’

नगरपालिकाको कार्यपालिका बैठकले नगरप्रमुख ध्रुव शिवाकोटीको अध्यक्षतामा उक्त निर्णय गरेको हो । विर्तामोड नगरलाई विषादीमुक्त बनाउने विषयमा नगर प्रमुख शिवाकोटी चुनाव जितेर गए पश्चात देखिनै पहल गरिएको थियो ।

शिवाकोटीले भने, ‘विर्तामोड माछा र अण्डामा आत्मनिर्भर भइसकेको छ,’ ‘बिदेशबाट आयातित सडेका माछा ल्याएर जनताको स्वास्थ्य विगार्न जरुरी नै छैन ।’ शिवाकोटीका अनुसार शुक्रबार देखि नै भारतबाट आयातित मरेका माछाको विक्रीमा प्रतिबन्ध लगाइने र बेचविखन गरेको पाइए कडा कारवाही हुनेछ ।