close

चाडबाड लक्षित बजार अनुगमनः व्यापारीको सधैँ ज्यादती

चाडबाड लक्षित बजार अनुगमनः व्यापारीको सधैँ ज्यादती

Trulli
ADVERTISEMENT

काठमाडौं - दशैँ र तिहार जस्ता नेपालीहरूका महत्त्वपूर्ण चाडबाड नजिकिँदै  गर्दा स्थानीय तहले बजार अनुगमनलाई तीब्रता दिएका छन् । 

 

दिनानुदिन अनुगमन गरिरहँदा बजारमा उपभोेग्य मिति सकिएका, मूल्य सूची नभएका सामग्री प्रशस्त फेला परेका छन् । सरोकारवाला निकायले चाडबाडको मुखमा एक महिना मात्र देखावटी रूपमा गर्ने अनुगमनले ११ महिना उपभोक्ताले व्यापारीको ज्यादती खेपेको उपभोक्ताको गुनासो छ । 

 

मंगलबार बिहान कालीमाटी क्षेत्रका खाद्य स्टोरहरूमा काठममाडौं महानगरपालिकाको उपभोक्ता समितिले अनुनमन गरेको थियो । सो क्रममा उपभोग्य मिति हातैले मेट्न सकिने सामान फेला परेका थिए । एक दर्जनभन्दा बढी प्रकारका खाद्य वस्तुमा यस्तो समस्या देखिएको हो । 

 

प्याकेटमा राखेर बजारमा बिक्री हुने खाद्यवस्तुको उपभोग्य अवधि लेखिएका अक्षर हातैले मेटिने गरेको भेटिएको हो । कालीमाटीबाट बल्खुतर्फ लाग्दा प्रहरी चौकी नजिकै शिवज्योति पतञ्जली आयुर्वेद सेवा केन्द्र छ । केन्द्रमा निम्बसले मार्केटिङ गरेका व्यञ्जन ब्राण्ड सामान थिए । 

 

तीमध्ये पोलिस नगरी लेखिएका एक किलो तौलका नौवटा कालो दालका प्याकेट र नौ प्याकेट नै पापड थिए । ती सबैमा लेखिएको मिति हातले सजिलै मेटिन्थ्यो । यी सामानसँगै लेवल नराखिएको जौको सातु १० प्याकेट र चिप्स ३१ प्याकेट बरामद गरिएको थियो । 

 

समस्या शिवज्योतिमा मात्र होइन, त्यसै क्षेत्रको आयुषा खाद्य स्टोरले बेचेको टमाटो ससको उपभोग्य मिति मेटेर फेरि लेखिएको जस्तो भेटिएको थियो । बट्टा कुच्चिएका र पुराना थिए । अनुगमन टोलीले एक बट्टा नमुना परीक्षणका लागि लियो भने १३ बट्टा बिक्रीका लागि रोक लगायो । 

 

त्यस क्षेत्रमा खुला बोरामा हालेर खाद्य वस्तु बेच्न राख्ने गरिएको छ । कसैले प्याकेजिङ गर्ने गरेका छन् तर खाद्य अनुज्ञापत्र लिएका छैनन् । सामान कसले पठायो ? उनीहरुले बिल किन दिएनन् ? सामान बिग्रिए कसलाई फिर्ता गर्नुहुन्छ ? भन्ने प्रश्नमा व्यापारीहरूले बोल्न चाहेनन् ।