close

काठमाडौं महानगरमा प्रभावकारी बन्दै अनलाइन प्रणाली

 १९ दिनमा ५ करोड राजस्व संकलन 

काठमाडौं महानगरमा प्रभावकारी बन्दै अनलाइन प्रणाली

 १९ दिनमा ५ करोड राजस्व संकलन 

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाले सुरु गरेको अनलाइन राजस्व  सेवा प्रभावकारी देखिएको छ । असोज १ देखि १० वडाबाट सुरु गरेर १३ असोजदेखि सबै वडामार्फत सञ्चालनमा ल्याइएको अनलाइन राजस्व निर्धारण तथा संकलन प्रणालीबाट हालसम्म ५ करोड ५० लाख संकलन भएको काठमाडौं महानगरले जनाएको छ ।


अनलाइनबाट राजस्व संकलन गर्दाका अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले यो वर्ष राजस्वमा वृद्धि हुनेमा आशावादी रहेको बताए ।‘कर्मचारीको क्षमता विकास गरेर, कर्मचारीले नभ्याएको काम सघाउन बाह्य जनशक्तिको प्रयोग गरेर, इन्टरनेटको क्षमता बढाएर, प्रविधिमा लगानी बढाएर जे–जे गर्नुपर्छ गरौं’, उनले भने ।


यसअघि करदाताको विवरण कम्प्युटरमा नभएकाले सुरुमा केही असजिलो देखिए पनि सहज बनाउनुपर्नेमा उनले जोड दिए । अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि कर्मचारीले सेवाग्राहीको भीडमा काम गर्नु नपर्ने र करदाताले धाएर महानगर पुगेर पैसा तिर्नुपर्ने अवस्था हट्ने अर्यालको भनाइ छ । ‘पैसा तिर्ने नागरिकलाई भौतिक सुविधा दिन सके मात्र उनीहरू सन्तुष्ट हुन्छन्,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने ।


वडामा जनशक्ति कम भएका कारण परेको समस्या फुकाउन प्रशासन विभागले काम गरिरहेको विभागका प्रमुख नमराज ढकालले बताए । उनले भने, ‘कोभिडका कारण काम नभएका विभाग र आयोजनामा फुर्सदमा रहेका कर्मचारीलाई वडामा खटाउँदै छौं । संघ सरकारबाट महानगरमा आउन चाहने केही सहायक स्तरका कर्मचारीलाई आउन सहमति दिएका छौं । उनीहरूलाई पनि वडामा खटाएर अहिले भएको अप्ठेरालाई कम गर्ने प्रयास भइरहेको छ ।’


राजस्व संकलनमा पारदर्शी नभएको काठमाडौं महानगरलाई आरोप थियो । यो प्रणालीको कार्यान्वयनले त्यो आरोपको जवाफ दिएको महानगर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले दाबी गरे । 


उनले भने, ‘प्रारम्भिक चरणका समस्या र तिनको समाधानका लागि अपनाइएका उपायलाई सिकाइका रुपमा लिनुपर्छ । यसको समीक्षाले अरु चरणमा काम गर्न सहज हुनेछ ।’ 


यो प्रणाली सांग्रिला इन्फरमेटिक्सले विकास गरेको हो । असोज १ देखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ देखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।


यसैगरी असोज १३ देखि वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा प्रणाली सञ्चालनमा ल्याइएको छ ।


अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्यांकन  आफैंले घरमै बसेर गर्न सक्ने सुविधा छ ।


करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्यांकन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउँछ ।


यसबाट महानगरलाई तिर्नुपर्ने रकमबारे करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धि भएको महानगरको दाबी छ ।