close

राजधानीका मार्टमै ठगिन्छन् उपभोक्ता

राजधानीका मार्टमै ठगिन्छन् उपभोक्ता

Trulli
ADVERTISEMENT

काठमाडौं- राजधानीका अधिकांश पसल तथा मार्टहरूमा गुणस्तरहीन सामग्री फेला परेका छन् । महानगरको अनुगमनका क्रममा पसलमा बट्टामा प्याकिङ गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका म्याद नाघेका उपभोग्य वस्तु भेटिएका हुन् । 


सरकारी तवरबाट अनुगमनमा चासो नदिँदा उपभोक्ता ठगिने क्रम बढ्दै गएको छ । सरकारी संयन्त्रले चडबाडको समयमा १० दिन मात्र अनुगमन गर्ने गरेको छ । 


बुधबार काठमाडौं कालोपुलको मेडलिज ट्रेडर्समा करिब १० लाख रुपैयाँ बराबरका म्याद नाघेका खाद्यवस्तु भेटिएका छन् । महानगरको उपभोक्ता हित संरक्षण समितिले उक्त पसलमा अनुगमन गरेको हो ।


लगातार छ महिनाको लकडाउनले म्याद नाघेका सामान रहेको ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देलले बताइन् । उनले भनिन्, ‘लकडाउन भयो । सामान हेर्न भ्याइएन । तपाईंहरू अर्को पटक आउँदा सुधार भएको पाउनुहुनेछ ।’


पसलमा बट्टामा प्याकिङ गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका सामान थिए । अनुगमन टोलीले सञ्चालकलाई तीन दिनभित्र कृषि विभागमा उपस्थित हुन निर्देशनसमेत दिएको छ  । 


मार्टमा भएका अधिकांश सामान उपभोगहीन थिए । उपत्यकाका अधिकांश पसल तथा मार्टमा म्याद नाघेका सामान फेला परेको  महानगरको कृषि विभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारीले बताए । 


उनका अनुसार उपभोक्ता हितका लागि अनुगमनलाई तीव्रता दिनुपर्ने देखिन्छ ।  यो समस्या अधिकांश मार्टमा देखिएको छ । गुणस्तरीय सामानका लागि मार्टमा जाने उपभोक्ता गुणस्तरमा झन् ठगिएका छन् ।

 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘राम्रा भनिएका ठाउँमा त समस्या छ । अन्यत्र के होला ?’