close

सुनवलले भवन बनायो, बर्दघाटले व्यापारीलाई जरिमाना तिरायो

सुनवलले भवन बनायो, बर्दघाटले व्यापारीलाई जरिमाना तिरायो

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम–  पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले १९ वटा शाखा राख्न मिल्ने गरी ४ तले भवन निर्माण शुरु गरेको छ । नगरले चालु आर्थिक बर्षमा सम्पन्न गर्ने गरी करिब एक सय वटा कोठा सहितको भवन निर्माण शुरु हो । यो भवन प्रदेशकै  नमुना भवन हुने नगरपालिकाले जनाएको छ ।


भवनको दुई तलाको पर्खाल निर्माण र ढलान सम्पन्न भएको छ । भवनमा लिफ्टको व्यवस्था समेत रहेको भवनको स्टिमेट लागत २४ करोड ७२ लाख ७२ हजार ९ सय ७३ रुपैया रहेकोमा स्वच्छचन्द्र खानी जे.भी निर्माण सेवा कम्पनीले १७ करोड ९१ लाख ४८ हजार ८७२ रुपैयामा ठेक्का लिएको छ ।


पाँच विगाहा क्षेत्रफल रहेको भवन क्षेत्रलाई चारैतिरबाट कम्पाउण्ड, सवारी साधनको उचित पाकिङ्ग, हरियाली, सभाहलको आकर्षित गेटको पनि निर्माण कार्य भइरहेको नगर प्रमुख भिमबहादुर थापा भरतले  बताए ।


हरित नगरपालिकाको संज्ञा दिने यस प्रशासनिक भवनमा न्यायिक समितिको ईजलास, कार्यपालिका बैठक हल, सभा गोष्ठी, कार्यक्रम हल, नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष र नगर कार्यपालिकाको सबै शाखाहरुको व्यवस्थापन हुने उनले बताए ।


अहिलेसम्म भवनको भौतिक प्रगति ३५ प्रतिशत  भएको शहरी पुर्वधार विकाश शाखा प्रमुख ईन्जिनियर सन्तोष गैरेले जानकारी दिए ।  यो भवन नगरपालिकाको गौरवको योजना मध्ये एक हो ।

 

बर्दघाटका बजार अनुगमन

 

जिल्ला बजार अनुगमन समितिले विहीवार पश्चिम नवलपरासीको बर्दघाटका विभिन्न बजारमा अनुगमन गरेको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको नेतृत्वमा गएको टोलीले मापदण्ड विपरीत बस्तु विक्री वितरण गर्ने व्यापारीलाई जरिमाना गरेको छ ।


सो बापत एक लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ । उपभोक्ताको सूचनाको आधारमा अनुगमन टोली त्यहाँ पुगेको थियो । अनुगमन टोलीले बर्दघाट वडा नम्बर १,४ र ७ का किराना, हार्डवेयर, फेन्सी लगायतका ९ वटा पसलहरुमा अनुगमन गरेको हो भने बर्दघाट–१२ चौपत्तामा गत २५ असोजमा गरिएको अअनुगमनको क्रममा सिल गरिएको सुर्य मसला उद्योगले सवै मापदण्ड पुरा गरेपछि सिल खोलिएको छ ।


उद्योगलाई तोकिएको ६० हजार जरिमााना भुक्तान गरेको तथा आवश्यक सम्पूर्ण कागजात पेश गर्नुका साथै साईनबोर्ड राखेको र प्याकेजिङको पनि अनुमति लिएकोले उद्योगमा लगाइएको सिल स्थानीय वडाका जनप्रतिनिधि, प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिको रोहवरमा खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी माझीले बताए ।


अनुगमन टोलीले मापदण्ड विपरीत वस्तु विक्री वितरण गरी उपभोक्ता ठगी गरेको अभियोगमा  बर्दघाट–७ का एञ्जेल्स एण्ड एलेक्स फेन्सी, जिमिरेभार टेडर्स र श्रीकृष्ण ईन्टरप्राईजेजलाई ६० हजार रुपैयाँका दरले जरिमााना गरेको  सहायक प्रजिअ माझीले जानकारी दिए ।


बर्दघाट–१ को बाल्मिकी स्टोर्समा मूल्यसूची नभएको, म्याद गुज्रेका सामान छुट्टै नराखेको पाइएको थियो । उक्त पसलबाट बोत्तलमा विक्री गरिरहेको अवस्थामा दश बोत्तल पेट्रोल तथा म्याद नाघेका पेप्सी, जुस, ट्वाइलेट क्लीनर जफत गरी नष्ट गरिएको छ ।


बर्दघाट–७ का जिमिरेभार टेडर्सबाट लेभल नभएका मह, म्याद गुज्रेका कम्पेलेन, गुल्कोज लगायतका वस्तु जफत गरी नष्ट गरिएको छ । मूल्यसूची अपडेट नभएको तथा साईनबोर्ड पनि नभएको र म्याद गुज्रेका वस्तु विक्री वितरण गरेकोले ६० हजार रुपैयाँ जरिमाना पनि गरिएको टोलीले जनाएको छ ।  


सोही स्थानको एञ्जेल्स एण्ड एलेक्सी फेन्सीले अनुमति नलिई फेन्सी, जुत्ता, चप्पल खरिद विक्री गरेको पाइएपछि पुँजी वृद्धि गर्न सचेत गराउँदै ६० हजार जरिमाना गरिएको छ । यस्तै जिमिरेभारकै श्रीकृष्ण इन्टरप्राईजेजमा म्याद नाघेका कलर पेन्ट र लेभल नभएका ताडपिन तेल फेला पारी नष्ट गर्नुका साथै ६० हजार रुपैयाँ जरिमाना गरिएको छ ।


सोही स्थानको जिसी हार्डवेयरमा पनि अनुगमन गर्दा लेभल नभएको २० लिटर ताडपिन तेल जफत गरी नष्ट गरिएको छ । बर्दघाट–४ को रम्भादेवी सप्लायर्सले मूल्यसूची नराखेको, साईनबोर्ड नभएको, उपभोक्तालाई विल नदिने गरेको, म्याद गु्रजेका सामान छुट्टै नराखेको पाइएपछि सुधार गर्न सचेत गराइएको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका लल्लन कुर्मीले बताए ।


सोही स्थानको केशव दाजुभाई फेन्सीलाई दर्ता प्रमाणपत्र देखिने गरी फे्रममा राख्न निर्देशन गरिएको छ । सोही स्थानको रुपक एण्ड विनोद मदिरा पसलले उपभोक्तालाई विल नदिने गरेकोले सचेत गराईएको छ । जफत गरिएका वस्तुहरु ईलाका प्रहरी कार्यालय बर्दघाटमा स्थानीयवासी र पत्रकारको रोहवरमा नष्ट गरिएको थियो ।