close

दशैंकाे मुखमा मुगुका गाउँमा खाद्यान्न डिपो रित्तै            

दशैंकाे मुखमा मुगुका गाउँमा खाद्यान्न डिपो रित्तै            

Trulli
ADVERTISEMENT

मुगु - हिमाली जिल्ला मुगुमा २ कात्तिकदेखि सुपथ मूल्यका पसल संचालनमा आउने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले नेपालीहरूका महान पर्व दशैँ, तिहार नजिकिँदै गर्दा मुगुमा चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यका पसल संचालनमा ल्याउने भएको हो । 

 

दशैँको मुखमा यहाँका उपभोक्ताले निजी पसलहरूमा चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य थिए । त्यस समस्यालाई मध्यनजर गरेर कम्पनीले सुपथ मूल्यको पसल संचालनमा ल्याएको सूचना अधिकारी पुष्कर भामले जानकारी दिए । उनका अनुसार थोरै मूल्य कम गर्दा यहाँका ज्याला मजदुरी गरी खाने, अतिविपन्न नागरिकलाई केही राहत हुनेछ ।


उनले सहुलियत पसल संचालनका लागि २०० क्विन्टल खाद्यान्न स्वीकृत भएकाले १०० क्विन्टल दशैँ र तिहारका लागि बिक्री वितरण गरिने जानकारी दिए । जिल्लामा रहेका खाद्य डिपो र बिक्री केन्द्रहरूमा खाद्यान्न रित्तिँदै गएपछि सदरमुकाम गमगढी बजारमा पसल संचालन गरिने भएको हो । 

 

जिल्लामा रहेका डिपोहरूमा खाद्यान्न रित्तिएपछि स्थानीयवासीहरू मर्कामा परेका छन् । दशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले बुधबारदेखि आउँदो ६ मंसिरसम्म करिब साढे दुई महिना सुपथ मूल्य पसल संचालन गर्नेछ । 


गाउँगाउँका खाद्य डिपो रित्तै


दशैँ नजिकिँदै गर्दा जिल्लाका चार स्थानीय तहका खाद्य डिपोहरू तीन महिनादेखि रित्तिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै खाद्यान्न ढुवानी नगर्दा गाउँका डिपोहरू रित्तिएका हुन् । 


हाल  सदरमुकाम गमगढी बजारमा एक हजार ४०० क्विन्टल चामल मौज्दात छ । तर, ग्रामीण क्षेत्रका सोरुकोट, पुलु, श्रीकोट, रातापानी र कालै डिपोमा साउनदेखि चामल गएको छैन ।

 

पुलु डिपोका लागि सर्मा ढुवानी सेवाले जिम्मा लिएको र अन्य डिपो तथा बिक्री केन्द्रहरूमा खाद्यान्न उठाउने क्रम जारी रहेको कार्यालय प्रमुख कर्णबहादुर रावलले बताए ।