close

सस्ताे मै चामल किन्न पाउँदा मुगुवासी दंग

सस्ताे मै चामल किन्न पाउँदा मुगुवासी दंग

Trulli
ADVERTISEMENT

मुगु - हिमाली जिल्ला मुगुमा आइतबारदेखि सुपथ मूल्यका पसल संचालनमा आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले नेपालीहरूका महान पर्व दशैँ, तिहार नजिकिँदै गर्दा मुगुमा चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यका पसल संचालनमा ल्याएको हो । 


दशैँको मुखमा यहाँका उपभोक्ताले निजी पसलहरूमा चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य थिए । त्यस समस्यालाई मध्यनजर गरेर कम्पनीले सुपथ मूल्यको पसल संचालनमा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ ।

 

थोरै मूल्य कम गर्दा यहाँका ज्याला मजदुरी गरी खाने, अतिविपन्न नागरिकलाई केही राहत हुने हुँदा सुपथ मूल्यको पसल संचालनमा ल्याएको कार्यालय प्रमुख कर्णबहादुर रावलले जानककारी दिए । 

 

उनले सहुलियत पसल संचालनका लागि २०० क्विन्टल खाद्यान्न स्वीकृत भएकाले १०० क्विन्टल दशैँ र १०० क्विन्टल  तिहारका लागि बिक्री वितरण गरिने बताए । 


अहिले सहुलियत पसलले दुई प्रकारका मोटा र मकवानपुर नामक चामल बिक्री गरिरहेको छ । पहिला एक हजार ४४० रुपैयाँ पर्ने मोटा चामल सहुलियतमा एक हजार २९० रुपैयाँमा बिक्री गरिरहेको छ भने एक हजार ४६० रुपैयाँ पर्ने मकवानपुर चामल सहुलियतमा एक हजार ३२० रुपैयाँमा बिक्री गरिरहेको छ । चामलका बोरा ३० किलोका छन् । 

 

जिल्लामा रहेका खाद्य डिपो र बिक्री केन्द्रहरूमा खाद्यान्न रित्तिँदै गएपछि सदरमुकाम गमगढी बजारमा पसल संचालन गरिएको हो । जिल्लामा रहेका डिपोहरूमा खाद्यान्न रित्तिएपछि स्थानीयवासीहरू मर्कामा परेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले आइतबार अर्थात २ कात्तिकदेखि ६ कात्तिकसम्म सुपथ मूल्य पसल संचालन गर्नेछ ।