close

बुढीनन्दाको निर्णय : मूल्यसूचीबिनै उपभोग्य वस्तु बिक्री गरे ठाउँको ठाउँ कारबाही

बुढीनन्दाको निर्णय : मूल्यसूचीबिनै उपभोग्य वस्तु बिक्री गरे ठाउँको ठाउँ कारबाही

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका पसलहरूमा मूल्यसूचीबिनै उपभोग्य वस्तु बिक्री गरेको फेला परे कारबाही गर्ने भएको छ । यसका लागि बजार अनुगमन तीव्र बनाउँदै लगिएको नगरप्रमुख पदमकुमार गिरीले जानकारी दिए ।

 

समयमा बजार अनुगमन हुन नसक्दा उपभोक्ता ठगिने क्रम बढेपछि यसलाई रोक्न यस्तो नियम ल्याइएको नगरप्रमुख गिरीले बताए । उनले भने, ‘नगरपालिकाले अबको एक साताभित्रै कोल्टी क्षेत्रलगायत सम्पूर्ण बजार अनुगमन गर्दै छ ।

 

सबै व्यवसायीले पसलमा मूल्यसूची अनिवार्य राख्नुपर्ने, म्याद नाघेका दैनिक उपभोग्य वस्तु र मूल्यसूचीबिनै सामान बिक्री वितरण गरेको पाइए तत्काल कारबाही गर्छौं ।’
 

कोल्टीमा आइतबार खाद्य अधिकारसम्बन्धी एक दिने छलफल कार्यक्रममा नगरप्रमुख गिरीले अधिकांश व्यापारीले म्याद नाघेका खाद्यवस्तु बाहिरबाट पठाउने गरेको पाइएकाले गाउँघरका पसल पनि अनुगमन गर्न आवश्यक देखिएको बताए ।

 

अनुगमन समिति संयोजक तथा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीले नगरले बनाएका कानुन कार्यान्वयनमा समस्या देखिएको जानकारी दिइन् । ‘नगरपालिकाले बजार अनुगमनको पाटो बलियो बनाउन उप-संयोजक नियुक्त गरे पनि कानुन नबनाएकाले चुनौती रहेको छ,’ रेग्मीले भनिन् ।


स्थानीय सरकारले उपप्रमुखको नेतृत्वमा बजार अनुगमन गर्नुपर्ने उल्लेख गरे पनि नगरपालिकाले आवश्यक नीति र कानुनको मापदण्ड निर्माण गर्न नसक्दा बजार अनुगमनको समस्या समाधान नभएको तर्क उनको छ ।
 

कार्यक्रममा सहभागीले खाद्य अधिकार, यातायात भाडा व्यवस्थापन, बजार अनुगमन, दैनिक उपभोग्य वस्तुको मूल्य निर्धारणलगायतमा नागरिक स्तरबाट बारम्बार गुनासो आइरहेको बताए ।

 

स्थानीय सरकार गठन भएको साढे ३ वर्ष बितिसके पनि अहिलेसम्म एक पटक बजार अनुगमन गर्न नसकेको, यातायातको मनपरी भाडा दरमा एकरूपता कायम गर्न नसकेको र नागरिकका खाद्य अधिकार सुनिश्चित हुन नसकेको भन्दै नगरबासीले आलोचना गरिरहेका छन् ।