close

अर्चलबोटका घरआँगनमै पानीका धारा

अर्चलबोटका घरआँगनमै पानीका धारा

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ अर्चलबोटका नागरिकको घरघरमै धारा जडान गरिएको छ । गण्डकी प्रदेश सरकारले नागरिकको घरदैलोमै खानेपानीको सुविधा पुर्‍याएको हो ।

 

साविकका ५, ६ र ७ नम्बर रातामाटा, ढल्के पीपलचोक र डिगाउँका १ सय ५० घरमा खानेपानीको सुविधा पुगेको छ । एक घर एक धारा कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

 

कार्यक्रममा मुख्यमन्त्री गुरुङले नागरिकको अति आवश्यकताको आधारमा प्रदेश सरकारले काम गरिरहेको बताए । शुद्ध खानेपानीका लागि भौतारिन बाध्य नागरिकलाई सहज बनाउन प्रदेशले बजेट विनियोजन गरी एक घर एक धारा कार्यक्रम पुर्‍याएको उनले जानकारी दिए । प्रदेशका सबै घरमा खानेपानीको धारा लगिने मुख्यमन्त्री गुरुङको भनाइ छ ।


वडाध्यक्ष गोविन्द अधिकारीका अनुसार ३ गाउँमा घरघरै पानीको धारा जडान भएको छ । १ विद्यालय र १ आमा समूहको भवनमा पनि धारा जडान गरिएको छ ।

 

अर्चलबोट खानेपानी सरसफाइ तथा उपभोक्ता समितिमार्फत एक घर एक धारा आयोजनाको काम भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको करिब १ करोड ९२ लाख रुपैयाँ बजेटबाट आयोजनाको काम सम्पन्न भएको हो ।

 

करिब ५ किलोमिटर टाढा केराबारी सामुदायिक वनको चिसापानी माथिल्लो क्षेत्रबाट गाउँमा पानी ल्याइएको हो । डिगाउँमा पानीको ट्यांकी राखिएको छ । यसअघि १०/१५ घरको बीचमा खानेपानीको एउटा धारा थियो । खानेपानी ल्याउन लाइन बस्नुपर्ने र भनेको बेला पानी पाइँदैनथ्यो । समय धेरै खर्च हुन्थ्यो । 

 

अहिले घरघरै धारा जडान भएपछि २४ सै घन्टा पानी खस्न थालेको स्थानीय बताउँछन् । खानेपानीका लागि समस्या भोग्दै आएकामा धारा जडानपछि सहज भएको उनीहरूको भनाइ छ । कार्यक्रममा नेकपा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, संविधान सभाका निवर्तमान सदस्य डा. भीष्मनाथ अधिकारी, टुकाभद्र हमाललगायत उपस्थित थिए ।