close

प्रतिलिटर १० रुपैयाँसम्म बढाइँदै दूधको मूल्य

प्रतिलिटर १० रुपैयाँसम्म बढाइँदै दूधको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा जथाभावी बढाएसँगै मँहगिएको नेपालीको भान्सा झनै अकासिने भएको छ । सरकारले प्रशोधित दूध तथा दुुग्धजन्य वस्तुको मूल्य बढाउने अन्तिम तयारी गरेपछि उपभोक्ताले महँगीको मार खेप्नुपर्ने देखिएको हो ।


दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरिएको हो ।


महामारीका कारण असहज परिस्थितिले पछिल्लो समय पशुचौपायालाई खुवाउने दाना, चोकर र परालको मूल्य महँगिएको छ । यसले दुग्ध पदार्थको उत्पादनमा किसानको लागत मूल्य दिनप्रतिदिन बढ्दै गएकाले मूल्य बढाउन लागिएको सरकारी तर्क छ ।


राष्ट्रिय दुग्ध विकास संस्थानले तोकेको मूल्यअनुसार अहिले प्रशोधित दूधको मूल्य प्रतिलिटर ७२ रुपैयाँ छ । कम्पनीअनुसार दहीको मूल्य प्रतिलिटर ९० देखि १ सय रुपैयाँसम्म छ भने घिउको मूल्य ८ सयदेखि १५ सय रुपैयाँसम्म छ ।


दुग्धजन्य वस्तुको मूल्य कति बढाउने भन्नेबारे सरोकारवाला निकायका अधिकारीबीच छलफल भइरहे पनि अझै टुंगो लागिनसकेको संस्थानका सूचना अधिकृत बालक चौधरीले बताए । 


यद्यपि प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ । दूधको मूल्य नबढाएसम्म श्रमको मूल्य पाउन नसकिने दुग्ध उत्पादक किसानले बताउँदै आएका छन् ।


नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूध उत्पादन हुन्छ । यसमध्ये १२ देखि १७ प्रतिशत औपचारिक क्षेत्रमा आउने गरेको तथ्यांक छ । औपचारिक क्षेत्रमा बिक्री हुने दूधबाट हरेक दिन ५ लाखदेखि ७ लाख रुपैयाँ सहरबाट गाउँ जाने गरेको व्यवसायी बताउँछन् ।