close

एक हजारका लागि श्रीमतीको हत्या, जीउँदा सावित्रीले ‘समानता, समता र समाजवाद'को उपयोग गर्न कहिले पाउने ?

एक हजारका लागि श्रीमतीको हत्या, जीउँदा सावित्रीले ‘समानता, समता र समाजवाद'को उपयोग गर्न कहिले पाउने ?

Trulli
ADVERTISEMENT

काठमाडौं । भौतिकवादीहरू भन्छन्, पैसा सबैथोक हो । तर, आस्तिकहरू भन्छन् धन सम्पत्ति केही होइन ।

भौतिक र अभौतिकबीच चल्ने विवाद जारी  छ । भौतिकवादीहरूले आफ्नो अडान छाडेका छैनन् । बरू हिजोभन्दा आज र  आजभन्दा भोलि सम्पत्ति आर्जनका लागि तल्लीन छन् । स्वदेशमा मात्रै नभएर विभिन्न बाहनामा आफन्तका नाममा विदेशमा अर्बौं/खर्बौं थुपार्ने क्रम जारी नै छ । 

नेपालकै सन्दर्भमा पछिल्लो समय  ‘नेपाली रुपैयाँ विदेसिँदा नेपालमा तरलता सिर्जना भयो’, ‘यति दिनको अवधिमा यति अर्ब पैसा बाहिरियो’ जस्ता शीर्षकमा समाचार छापिरहेका छन् । 

यसरी अर्बौं/ अर्बौं नेपाली रुपैयाँ विदेसियो भनी समाचार आइरहेका बेला आफ्नै श्रीमान‍्को एक हजार रुपैयाँ झिक्दा कञ्चन गाउँपालिका-१ की वर्ष ३१ की साबित्री थापा क्षेत्रीले ज्यान गुमाउनुपरेको छ । 

साउन ११ गते बिहान करिब साढे नौ बजे कञ्चन गाउँपालिका-१ डेलरमा आफ्नै घरमा श्रीमान् र छोरासँग बसोबास गर्दै आएकी वर्ष ३१ की सावित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा भेटिएपछि अनुसन्धानका क्रममा सो कुरा खुलेको हो । 

मृतकको टाउकोमा गहिरो चोट , कपालमा काठको टुक्रा र कोठामा रगत बगेको र छिटा देखिएको र शरीरका विभिन्न भागमा निलडामसमेत देखिएका थिए । 

मृतकको यस्तो अवस्था देखेपछि प्रहरीले मृतकका ३३ वर्षीय श्रीमान् यमबहादुर थापालाई अनुसन्धानको लागि नियन्त्रणमा लियो । 

अनुसन्धानका यमबहादुर थापाले आफू घरनजिकैको पसलमा मादकपदार्थ सेवन गर्न गएका बेला श्रीमतीले दराजमा राखेको पैसामध्ये एक हजार निकालेको निहुँमा कुटपिट गर्ने क्रममा मृत्यु भएको खुलासा गरे । 

‘जन्मिँदा सबैको हैसियत एउटै हुन्छ’, ‘वर्ग छानेर कोही जन्मिँदैन’, ‘कोखमा आउने प्रक्रिया सबैको एउटै हुन्छ ।

तर, व्यावहारिक रूपमा जन्मपश्चात् बाबु-आमा, कुल, घरानका कारण त्यो नाबालकको हैसियत निर्धारण हुन्छ । कुल घरानकै कारण उसको भविष्य कल्पना गरिन्छ र सोही अनुसारको हैसियत दिइन्छ । 

हुन त नेपालको सन्दर्भमा २०७२ सालमा बनेको संविधानमा वर्गको अन्त्यका लागि समता र समानता अनि समाजवादउन्मुख समाज निर्माणजस्ता कुरा व्यवस्था गरिएको छ ।

असमानता र विभेद निर्मूलताका लागि बनेको संविधान कार्यान्वयनमा आएको लगभग एक दशक हुनै लागेको छ । तर, आज सावित्रीले एक हजारका लागि ज्यान गुमाउन बाध्य हुनुपरेको छ ।

उनी प्रतिनिधि पात्र हुन् उनीजस्ता हजारौँ सावित्री जीउँदै मरिरहेका छन् । जीउँदा सावित्रीहरूले राज्य सञ्चालनको मुख्य मियो संविधानको प्रस्तावना, मौलिक हकमा उल्लेख समानता, समता र समाजवादको अनुभूत गर्न कहिले पाउने ?