close

दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम : काम पाउनेको संख्या न्यून 

दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम : काम पाउनेको संख्या न्यून 

Trulli
ADVERTISEMENT

दाङ–सरकारले सञ्चालन गर्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाउनेको संख्या दाङमा न्यून रहेको देखिएको छ । सरकारले बेरोजगारलाई रोजगार दिने उद्देश्यले आर्थिक वर्ष ०७५÷७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको हो । 


प्रधानमन्त्री रोजगार कार्यक्रमअर्तगत जिल्लामा चालू आर्थिक वर्ष ०७८÷७९ मा हालसम्म १९३ जनाले मात्र रोजगार प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको तथ्यांकअनुसार हालसम्म १९३ जनाले रोजगारी प्राप्त गरेको देखिएको हो ।


कोभिडका कारण विकासे आयोजनाले गति लिन नसक्दा अपेक्षाभन्दा न्यून व्यक्तिले रोजगारी पाएको देखिएको छ । दाङका ७ वटा स्थानीय तहमा नागरिकले रोजगार प्राप्त गर्न सकेका छैनन् ।

 

जिल्लामा २ उपमहानगर, १ नगरपालिका र ७ वटा गाउँपालिका छन् । १० स्थानीय तहमध्ये घोराही उपमहानगर, लमही नगरपालिका र गढवा गाउँपालिका गरी तीन वटा स्थानीय तहमा मात्र हालसम्म बेरोजगारलाई रोजगार दिइएको हो ।

 

आर्थिक वर्षको ५ महिना बित्न लाग्दासमेत न्यून मात्रामा बेरोजगारले रोजगार प्राप्त गर्न सकेका हुन् । विकासका आयोजना सुरु भइनसकेका कारण बेरोजगारमा नाम सूचीकृत भएकाले रोजगार पाउन नसकेको बताइएको छ । घोराही उपमहानगरमा १२ जनाले मात्र रोजगार प्राप्त गरेका छन् । २ वटा आयोजनामा १२ जनाले रोजगार प्राप्त गरेका हुन् ।

 

घोराहीमा ६८१ जनाले रोजगारका लागि नाम सूचीकृत गराएका थिए । तुलसीपुर उपमहानगरमा चालू आर्थिक वर्षको हालसम्म कसैले पनि रोजगार प्राप्त गरेका छैनन् । तुलसीपुरमा रोजगारका लागि २ हजार ५ सय ३१ जनाले नाम सूचीकृत गराएका थिए ।


लमही नगरपालिकामा हालसम्म ६१ जनाले रोजगार प्राप्त गरेका छन् । ८ वटा आयोजनामा काम भए पनि रोजगार पाउनेकोे संख्या ६१ मात्रै छ । लमहीमा २ सय ५८ जना रोजगारका लागि सूचीकृत भएका थिए । 

 

बंगलाचुली गाउँपालिकामा हालसम्म कसैले पनि रोजगार प्राप्त गर्न सकेका छैनन् । गाउँपालिकामा ५ सय जनाले रोजगारका लागि नाम सूचीकृत गराएका थिए । त्यसैगरी शान्तिनगर गाउँपालिकामा पनि हालसम्म कसैले रोजगार प्राप्त गर्न सकेका छैनन् । गाउँपालिकामा ८ वटा आयोजना छन् । रोजगारका लागि ५ सय २ जनाले नाम सूचीकृत गराएका छन् ।

 

बबई गाउँपालिकामा पनि हालसम्म कसैले रोजगार पाउन सकेका छैनन् । बबई गाउँपालिकामा रोजगारका लागि ७ सय १० जनाले नाम सूचीकृत गराएका थिए ।

दंगीशरण गाउँपालिकामा पनि अहिलेसम्म कसैले रोजगार प्राप्त गरेका छैनन् । दंगीशरणमा रोजगारका लागि १ सय ४० जनाले नाम सूचीकृत गराएका थिए । राप्ती गाउँपालिकामा पनि हालसम्म कसैले रोजगार प्राप्त गरेका छैनन् । सो गाउँपालिकामा २ सय २८ जनाले रोजगारका लागि नाम सूचीकृत गराएका थिए ।


गढवा गाउँपालिकामा हालसम्म १ सय २० जनाले रोजगार प्राप्त गरेका छन् । १७ वटा आयोजनामा १ सय २० जनाले रोजगार प्राप्त गरेका हुन् । गढवामा १ हजार १ सय ८८ जना रोजगारका लागि सूचीकृत भएका थिए । 

 

राजपुर गाउँपालिकामा हालसम्म कसैले रोजगार प्राप्त गर्न सकेका छैनन् । राजपुरमा रोजगारका लागि २ सय ९८ जना सूचीकृत भएका छन् ।
प्राविधिक समस्याका कारण काम सुरु हुन नसकेको बबई गाउँपालिका रोजगार संयोजक विप्लव भट्टराईले जानकारी दिए । ‘प्राविधिक कर्मचारीको समस्याका कारण मूल्यांकन हुन नसक्दा काम सुरु हुन सकेको छैन’, उनले भने । प्राविधिक स्टिमेट गरेर अब छिट्टै काम अघि बढाउँछौँ । समयमै योजना सम्पन्न गर्ने गरी अगाडि बढाएका छौँ’, उनले भने ।

 

योजना छनोट ढिला तथा वर्षाका कारण काम सुरु हुन नसकेको बंगलाचुली गाउँपालिकाका रोजगार संयोजक बुद्धिराज डाँगीले बताए । ‘योजनाका काम सुरु भएसँगै रोजगारका लागि सूचीकृत भएकालाई रोजगार प्रदान गरिनेछ’, उनले भने । काम सुरु नभएकाले रोजगार प्राप्त गर्न नसकेको डाँगी बताउँछन् । सुरुका वर्षमा यसतर्फ नागरिकको आकर्षण भए पनि पछिल्लो आकर्षण घट्दै गएको छ । यसअन्तर्गत बेरोजगारलाई १०० दिने रोजगार दिइने गरेको । 

 

कार्यक्रममा सरकारले अपेक्षा गरेअनुसार नागरिकको सहभागिता हुन सकेको छैन । रोजगार कार्यक्रममा भन्दा अन्य स्थानमा काम गर्दा बढी कमाइ हुने, शिक्षित व्यक्तिले भनेअनुसार काम नपाउने भएकाले आकर्षण नभएको बताइएको हो । कार्यक्रमअन्तर्गत रोजगारी सिर्जनाका प्रमुख क्षेत्रमा सडक, खानेपानी, ढल व्यवस्थापन, सिँचाइ, ऊर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पुनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकूलनलगायत रोजगार सिर्जना हुन सक्ने अन्य क्षेत्रलाई समेटिएको छ ।