close

महिलालाई उद्यमशील बनाउँदै तानसेन

महिलालाई उद्यमशील बनाउँदै तानसेन

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाको तानसेन नगरपालिकाभित्रका महिलालाई व्यावसायिक बनाउन उद्यमशीलतासम्बन्धी सचेतना अभियान थालिएको छ । नगरपालिकाभित्रका महिलालाई लक्षित गरी गरिबी निवारणका लागि लघुउद्यम विकास परियोजना सुरु भएको हो । नगरपालिकाको आयोजना र ग्रामीण आर्थिक विकास संघ (रेडा) को समन्वयमा नगरभित्रका बेरोजगार महिलालाई लघुउद्यम विकास गरी स्वरोजगार बनाउन सचेतना अभियान सञ्चालन गरिएको हो ।

 

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन हुनेछ । तालिम अवधिमा लघुउद्यम, व्यावसायिक योजना निर्माण, व्यवसाय सञ्चालनको प्रक्रिया, कानुनी प्रक्रियालगायत विषयमा छलफल हुनेछ । त्यसैगरी पहिलो चरणको तालिमपछि कस्तो व्यवसाय गर्ने, व्यवसायको छनोट, लगानी स्थिति, सानो लगानीबाट कस्ता व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा तालिम अवधिमा छलफल हुने संस्थाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

 

नगरपालिकाका योजना शाखाका प्रमुख विष्णु पौडेलले व्यावसायिक सीप विकास गरी महिलालाई आर्थिक रूपमा सक्षम बनाउन उद्यमशीलता तालिमको महत्त्व रहेको जानकारी दिए । महिलाको दिनभरको समय खाली रहेकाले त्यसलाई सदुपयोग गरी घरमा बसीबसी आम्दानी गर्न सफल हुने विश्वास उनले व्यक्त गरे । नगरपालिकाले सीप नभएका नागरिकलाई सीप र सीप भएर पनि पुँजी नहुने नागरिकलाई सहुलितय ब्याजदरमा ऋण दिने व्यवस्था गरेको छ । 

 

तालिममा व्यावसायिक सचेतना र लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रशिक्षण तानसेन वडा नम्बर २ र ४ का ७० जना र करिब ३० महिला सहभागी भएको इबिक को–अर्डिनेटर हीरामणि पराजुलीले बताए । प्रशिक्षक रुस्मा घिमिरेले महिलालाई व्यावसायिक बनाउन लघुउद्यम विकाससम्बन्धी ज्ञान आवश्यक भएको बताइन् ।