close

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान आग्रह 

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान आग्रह 

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान आग्रह गरेको छ । भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेको विषय सार्वजनिक भएपछि सरकारले यस्तो आग्रह गरेको हो । 

 

वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका केही देशमा गैरकानुनी रूपमा पु-याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठेरोमा परेको गुनासो आइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अपिल गरेको हो । 

 

राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारमा जान नमिल्ने ध्यानाकर्षण गराउँदै मन्त्रालयले गन्तव्य मुलुकबारे पूर्ण जानकारी लिई नियमअनुसार श्रम स्वीकृति प्राप्त गरी मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो । 

 

वैदेशिक रोजगारको प्रलोभन देखाई विदेशका कयौँ मुलुकमा नेपाली नागरिकलाई अलपत्र पारेको भनी इजाजतपत्र प्राप्त संस्था, शैक्षिक परामर्शदाता संस्था, ट्राभल्स एजेन्सी र विभिन्न बिचौलियाविरुद्ध उजुरी प्राप्त भएको श्रम मन्त्रालयका सह–प्रवक्ता थानेश्वर भुसालले बताए । 

 

‘विदेशमा रोजगार अवसर प्राप्त भइसकेपछि मन्त्रालयअन्तर्गत निकायबाट श्रम स्वीकृति नलिई विभिन्न बहानामा वैदेशिक रोजगारमा जानु पूर्णतः गैरकानुनी हो’, उनले भने ।

 

वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने जोसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।सरकारले वैदेशिक रोजगारीमा पुगेर पीडित बनेकालाई न्याय दिलाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

 

श्रम मन्त्रालयले समेत वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्यटोली र मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरिसकेको छ ।

 

वैदेशिक रोजगार ऐन, २०६४ र यसअन्तर्गत बनेका नियमका अधिनमा रही सरकार, इजाजतपत्र प्राप्त संस्था (मेनपावर कम्पनी) र व्यक्ति स्वयं जिम्मेवार भई वैदेशिक रोजगारमा पठाउन सकिने व्यवस्था छ ।