close

विपन्न नागरिकलाई स्वरोजगार बनाउँदै कनकाई 

विपन्न नागरिकलाई स्वरोजगार बनाउँदै कनकाई 

Trulli
ADVERTISEMENT

झापा- नेपालजस्तो स्रोत–साधन न्यून भएको मुलुकमा गरिबी निवारणका लागि ठूलो रकम र रणनीतिक योजनाको खाँचो छ । गरिबी निवारणका लागि स्थानीय सरकारले विभिन्न योजना बनाएर लक्षित वर्गलाई समेट्दै आएका छन् । झापाको कनकाई नगरपालिकाले गरिबी निवारणका लागि सीपमूलक तालिम र आर्थिक सहयोग दिएर विपन्न नागरिकलाई स्वरोजगार बनाउन पहल गरिरहेको छ । 


गाँस, बास र कपास मानिसका आधारभूत आवश्यकता हुन् । कनकाई नगरपालिकामा यस्ता केही विपन्न परिवार छन्, जो यी आधारभूत आवश्यकताबाट वञ्चित छन् । विपन्न परिवारलाई आधारभूत आवश्यकता उपलब्ध गराउन नगरपालिकाले ‘मेयर आवास कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । विभिन्न संघ–संस्थाको सहयोगमा विपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरिएको छ । पाँच वर्षमा नगरले चार सय वटा घर निर्माण गरेर विपन्न परिवारलाई बासको जोहो गरिदिएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल र कार्यपालिका सदस्य सीता अधिकारीले जानकारी दिए ।


सधैँको दुःख अनि सास्ती । खुला अकासमा भोको पेट सुत्नुपर्ने बाध्यता ऋषिदेव समुदायमा थियो । बर्खामा जब अकास कालो हुन थाल्थ्यो, तब अन्यत्र आश्रय लिन जानुपर्ने बाध्यता थियो । यही दुरावस्थालाई अन्त्य गर्न नगरले बनाइदिएको घरमा बस्न पाउँदा अहिले खुसी लागेको नगरपालिकाका स्थानीयद्वय प्रयास ऋषिदेव र रामविलास ऋषिदेव सुनाउँछन् । 

 

जनप्रतिनिधिले कार्यकालको सुरुदेखि नै सञ्चालन गरेको यो कार्यक्रम अझै जारी छ । आर्थिक वर्ष ०७८/७९ मा थप सय वटा घर बनाउने जनप्रतिनिधिको योजना पूरा हुने क्रममा रहेको नगरपालिकाका योजना अधिकृत विवेक भण्डारीले बताए ।


बास भएर मात्रै हुँदैन । गाँस र कपास पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले नगरपालिकाले रोजगारी सिर्जना गर्न युवालाई विभिन्न तालिम दिएर स्वरोजगार बनाएको छ । युवा स्वरोजगार कोष सञ्चालन गरेर नगरले सिलाइ–कटाइ, मोटरसाइकल मर्मत, मेसिन मर्मतलगायत तालिम दिने गरिएको छ । सीपमूलक तालिम लिएर धेरै नागरिक अहिले स्वरोजगार बन्दै गएको वडा नम्बर १ का वडाध्यक्ष रोशनराज पोखरेल र वडा नम्बर ७ का वडाध्यक्ष  लीलाबहादुर कन्दङ्गवाको भनाइ छ ।


कृषि र पर्यटन क्षेत्रमा रोजगारी अभिवृद्धि गरेर नागरिकलाई स्वरोजगार बनाउने दिगो लक्ष्य नगरपालिकाले पछ्याइरहेको छ । १ करोड रुपैयाँ बजेट विनियोजन गरेर नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण दिने व्यवस्था गरेको छ । आफ्नै व्यवसाय सञ्चालन गर्नेलाई यो व्यवस्थाले सहयोग गरेको कार्यपालिका सदस्य  सुनिता खरेल सिग्देलको अनुभव छ ।

 

विपन्न वर्गको आर्थिक, सामाजिक विकास, साधन–स्रोत तथा अवसरमा पहुँच नहुँदासम्म गरिबी निवारण हुन सक्दैन । नगरपालिकाले विपन्न नागरिकलाई स्वरोजगार बनाउन आर्थिक सहयोग गरिरहेको छ । निजी, गैरसरकारी क्षेत्र एवं विकास साझेदारसँग सम्झौता गरेर नगरले गरिबी न्यूनीकरणमा चालेको कदमले दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुगेको छ ।