close

उज्यालो सोलु करिडोरको अँध्यारो भविष्य 

उत्पादित विद्युत पनि भएन सदुपयाेग

उज्यालो सोलु करिडोरको अँध्यारो भविष्य 

उत्पादित विद्युत पनि भएन सदुपयाेग

Trulli
ADVERTISEMENT

ओखलढुंगा - राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सोलु करिडोर निर्माणमा दुई वर्षदेखि कायम अवरोध अझै हटेको छैन । डबल सर्किको प्रसारण लाइन निर्माण सुरु हुँदा ओखलढुंगा र सोलुका नागरिक निकै हर्षित थिए । तर, अझै आयोजना अगाडि नबढ्दा विद्युत् विस्तार हुन सकेको छैन ।


स्थानीयको अवरोधले प्रसारण लाइन निर्माण हुन नसक्दा उत्पादित विद्युत् खेर गइरहेको हो ।  प्रसारण लाइन आयोजनाको काम उदयपुरको कटारी नगरपालिका क्षेत्रमा २ वर्षदेखि अवरुद्ध छ । कटारी नगरपालिका-४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताले २ वर्षदेखि प्रसारण लाइन विस्तारमा अवरोध गरिरहेका छन् ।


कटारी नगरपालिका-४ मरुवाका स्थानीयले सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइनमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याइरहेका कारण काममा ढिलाइ भएको करिडोर प्रमुख जनार्दन गौतमले बताए । ‘यसअघि जनप्रतिनिधिसहित ऊर्जा मन्त्रालयमा सहमति प्रयास गरिए पनि सफल भएन । मरुवाको समस्या समाधान भए चाँडै काम सकिन्छ’, गौतम भन्छन् ।


सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइन निर्माण भइरहे पनि उदयपुर खण्डमा भएको अवरोधका कारण काम पूरा हुन सकेको छैन ।


२० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३ दशमलव ५ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । 


यो प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा १९ मेगावाट बढी विद्युत् खेर गइरहेको हो । यसले प्राधिकरणलाई करोडौँ रुपैयाँ घाटा भइरहेको छ ।


प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुरामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिन सम्भव थियो । प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।


यी आयोजनाको विद्युत् जोड्न प्रसारण लाइन समयमा तयार नगरे प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था पीपीएमा छ । सोलु आयोजना विद्युत् उत्पादनको चरणमा पुगेकाले प्राधिकरणले ३३ केभी लाइनमा जोड्ने विकल्प दिएको छ । ३३ केभी लाइनमार्फत सबै विद्युत् जोड्न सम्भव नहुने प्रवद्र्धकले बताउँदै आएका छन् । 


नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रसारण लाइन ठेकेदार छनोटमा भएको विवादका कारण झन्डै दुई वर्ष ढिला गरी सुरु भएको थियो । सन् २०१६ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो ।


२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी प्रालिसँग प्राधिकरणले यो प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए २०७६ माघमा यो आयोजना निर्माण सम्पन्न हुने थियो ।  उदयपुर खण्डमा पर्ने १ सय ४१ मध्ये १० वटा टावर निर्माणमा अवरोध भएको छ । ओखलढुंगामा १ सय १२, सोलुखुम्बुमा २४ र सिरहामा २५ टावर निर्माण भइसकेका छन् । 


सोलुखुम्बुको तिङ्लादेखि बेलीडाँडासम्म ४.५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । तिङ्लामा १ सय ३२, ३३, ३३ र ११ केभीको सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । 


सिरहाबाट गएको ३३ केभी लाइनलाई तिङ्ला सबस्टेसनमा जोडिएको छ । प्रसारण लाइनको काम २०७६ माघभित्र सक्ने लक्ष्य राखिएको थियो । यो प्रसारण लाइन तयार भएपछि प्राधिकरणसँग पीपीए गरेका १२ जलविद्युत् आयोजनाको ३ सय २५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ । 


सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिएको ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलुखोला पनि यही लाइनमा जोडिने भएकाले यसलाई महत्त्वपूर्ण आयोजना मानिन्छ ।


तर, अवरोध हटाउन स्थानीय सरकार र जनप्रतिनिधि नजुट्ने हो भने पूर्वी पहाडका जिल्ला झिलीमिली बनाउने उज्यालो सोलु करिडोरको अँध्यारो छायामा बस्नुपर्ने बाध्यतामा अझै यस क्षेत्रका बासिन्दा वर्षौंसम्म झेलिनुपर्ने निश्चित छ ।