close

लक्ष्मीपूजाको दिन विद्युत्को अधिकतम माग १२७० मेगावाट, बिनाअवरोध मुलुकभर आपूर्ति

लक्ष्मीपूजाको दिन विद्युत्को अधिकतम माग १२७० मेगावाट, बिनाअवरोध मुलुकभर आपूर्ति

Trulli
ADVERTISEMENT

काठमाडौं– यो वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमान्ड) १२७० मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । प्राधिकरणले यो वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाट हाराहारी पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । 


प्राधिकरणले यो वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमान्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यो वर्षको लक्ष्मीपूजाको पिक डिमान्ड १४७ मेगावाट बढी हो । 


विगतका वर्षमा लक्ष्मीपूजाको माग धान्न विद्युत् आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यो वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ । 


यो वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपास क्षेत्रको पिक डिमान्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमान्ड २९६ मेगावाट थियो । 


चालू आर्थिक वर्षको अहिलेसम्मको पिक डिमान्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमान्ड गत १० असोजको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत् माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमान्ड हो । 


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालक विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशसहितको टोलीले स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो । 


यो वर्षमा लक्ष्मीपूजाका दिन मुलुकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तालाई आग्रह गरेको थियो । 


प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत्गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।