close

बिजुली बेच्नुभन्दा आन्तरिक खपतलाई प्राथमिकतामा राख्न अर्थमन्त्रीको सुझाव

बिजुली बेच्नुभन्दा आन्तरिक खपतलाई प्राथमिकतामा राख्न अर्थमन्त्रीको सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले विद्युत् बिक्रीभन्दा खपत गर्ने नीति लिइनुपर्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नवउत्थान सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विद्युत् बिक्री गरेर व्यापार घाटा कम नहुने दाबी गरे ।


उनले विद्युत् खपत गरी वस्तु उत्पादन र रोजगारी सिर्जना गर्न सके मात्र व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ । विद्युत् महसुल घटाएर उत्पादन गर्ने उद्योगलाई उपलब्ध गराइनुपर्ने उनले जानकारी दिए । 


अहिले विद्युत् बिक्री गर्न प्राधिकरणले चिन्ता गरिरहेको बताए पनि यसबाट अर्थतन्त्र बलियो नहुने उनको धारणा छ । बिक्रीभन्दा पनि उत्पादनशील उद्योगलाई सहुलियतमा विद्युत् उपलब्ध गराएर खपत बढाउनुपर्नेमा उनले जोड दिए । ‘विद्युत् उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उनले भने, ‘एकातिर विद्युत् खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएका छैनन् । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’


नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेकोसमेत मन्त्री शर्माले जानकारी दिए । यसलाई आगामी आर्थिक वर्षमा समेटिने उनले उल्लेख गरे । अर्थमन्त्री शर्माले कुन उद्योगलाई कहाँ, कति विद्युत् उपलब्ध गराउनुपर्ने हो, त्यसको यथेष्ट तथ्यांक बनाएर विद्युत् उपलब्ध गराउनुपर्ने बताए ।

 

विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत् सहुलियतमा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । यसले मुलुकको उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने उनले विश्वास व्यक्त गरे । मन्त्री शर्माले निजी क्षेत्रले मुलुकको गार्हस्थ उत्पादनमा ठूलो योगदान गरिरहेकाले निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने प्रस्ट पारे ।