close

काठमाडौंमा जलबायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौंमा जलबायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । जलबायु परिवर्तनलाई वास्ता गरिएन भने विकासका लागि गरिएका प्रयासहरुको सकारात्मक नतिजा नआउने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन्। जनप्रतिनिधि, कर्मचारी, नगरबासीसहित जलबायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता  र साझेदारका बिच सुरु गरिएको २ दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन्। 

‘हामीले जलवायुमा असर हुने खालका काम गरेका छैनौँ । तर, असर भोगिरहेका छौँ । महामारी, रोगव्याधी, खडेरी, अतिवृष्टि जस्ता समस्या जलबायु परिवर्तनका असर हुन् ।’ उनले भनिन्,  ‘सवारी साधनको बढ्दो प्रयोगबाट हुने कार्वन उत्सर्जनलाई कम गराउन अब विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्छ । पेट्रोलियम उर्जाको सट्टा नविकरणीय उर्जाको प्रयोग बढाउनु पर्छ । हामी अहिले आगामी आर्थिक बर्षको नीति कार्यक्रमको चरणमा छौँ । यसलाई ध्यान दिनेछौँ ।’

वातावरणीय क्षेत्रमा जलबायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको कारणमा नेपालको योगदान छैन तर असर भोगिरहेको छ । बाढी, पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो, अति गर्मी प्राकृतिक रुपमा बढिरहेका जोखिम हुन् । यी जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटन लगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकुलन गराउने विषयलाई सम्बोधन गर्नु पर्ने भएकोले वातावरण व्यवस्थापन विभागले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । 

काठमाडौँमा यसबाट परेको असर पहिचान गर्न, अनुकुलन र न्यूनीकरणका प्रक्रियामा समान बुझाइ विकास गर्न, कार्वन मार्केटिङ्का विषयमा छलफल गर्न यसबाट आधारभूत विषय प्राप्त हुने अपेक्षा गरिएको छ । 

‘हामीले अहिले जमिनको प्राकृतिक अवस्थालाई जसरी प्रयोग गरेका छौँ । आजको हाम्रा आचरणले भोलि हाम्रा सन्ततिले यही अवस्थामा प्रयोग गर्न पाउँछन् कि पाउँदैनन्रु अहिलेको पुस्ताका लागि संवेदनशील प्रश्न हो ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘अनुकुलन र न्युनीकरणका लागि काम गर्नुपर्ने अहिलेको मुख्य जिम्मेवारी हो ।’

‘यही क्रम बढ्दै जाने हो भने अबको ५० बर्षपछि सामान्य जीवनयापनका लागि पनि पानीको अभाव हुने अवस्था आउने अध्ययनहरुले देखाएका छन् । यसबाट प्राणी जीवनमा पर्न सक्ने जोखिम आँकलन गरेर त्यस्तो अवस्था आउन नदिन आजबाटै उपाय अबलम्बन गर्नुपर्छ ।’ अधिकारील
 भने। 
‘काठमाडौंको जनजीवनलाई सामान्य बनाउन धेरै पक्षका बिचमा सन्तुलन कायम गराउनु पर्छ । यसमध्येको एउटा विधा जलबायु परिवर्तन पनि हो । यसका असर कम गराउनु अहिलेका लागि हाम्रो प्रमुख दायित्व हो ।’ कार्यक्रममा महानगरका प्रवक्ता नविन मानन्धरले भने, ‘देखिनेभन्दा नदेखिने समस्या धेरै छन् । नदेखिने समस्याको असर आम सर्वसाधारणलाई बुझाउन र समस्या समाधानका लागि सहभागी गराउन आवश्यक छ । यसका लागि काठमाडौँ महानगरपालिकाले काम गर्नेछ ।’

अभिमुखीकरण कार्यक्रममा जलबायु परिवर्तनको कारण, असर, अनुकुलन र न्यूनीकरणका विषयमा नेपाल पानी सदुपयोग फाउन्डेसनका कार्यकारी संयोजक लालमणि वाग्लेको प्रस्तुतिकरण छ । यस्तै यसले निम्त्याउन सक्ने प्रकोप र स्थानीय विपद र जलबायु उत्थानशील योजनाका विषयमा जलबायु परिवर्तन बिज्ञ बिनोद पराजुलीको प्रस्तुतिकरण छ । प्रस्तुतिकरणपछि छलफल हुनेछ । 

भोलिको सत्रमा पराजुलीले राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा जलबायु परिवर्तनको अवस्थाका विषयमा र वाग्लेले जलबायु परिवर्तन सम्बन्धी कानुनी व्यवस्थाका विषयमा प्रस्तुतिकरण गर्नेछन्। त्यस्तै इनोभेसन ल्याबका सुजित शर्माले जलबायु परिवर्तन र विपद व्यवस्थापनका क्षेत्रमा भएका नविनतम प्रयोगका विषयमा प्रस्तुति गर्नुेछन्। 

अभिमुखीकरणमा हरेक वडाबाट २ जना वडा सदस्यसहित जनप्रतिनिधि, कर्मचारी र साझेदार संघ संस्थाका प्रतिनिधि सहभागी छन्।