close

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही– बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु भएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै उक्त अभियान शुभारम्भ गरे । 

उनले बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रिकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए । 

उपमहानगरप्रमुख पाण्डेले बुटवल बजार क्षेत्रलाई उपयुक्त पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको जानकारी गराए । 

उनले हरियाली र उज्यालो सहर बनाउन  आर्थिक वर्ष २०८०/८१ का लागि पर्याप्त बजेट विनियोजन गरिएको बताए । यसअन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यका लागि रु एक करोड ९० लाख र एक घर तीन रुख कार्यक्रमका लागि रु १२ लाख छुट्याइएको उनले जानकारी दिए । 

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली एक हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका तीन÷तीन सय बिरुवा रोपिनेछ । त्यसबाहेक अन्य क्षेत्रमा गुलमोहरका एक सय बिरुवा रोप्ने र अन्य क्षेत्रमा फूल र फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । 

यस्तै यही २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा बिरुवा संरक्षण, सौन्दर्यीकरण गर्नाका साथै  बाँकी क्षेत्रमा पनि उक्त अभियानलाई निरन्तरता दिइने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । 

सरसफाइ तथा वृक्षरोपणमा   उपमहानगरका जनप्रतिनिधि,  कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक सङ्घसंस्था, राजनीतिक दल, स्वयंसेवी संस्था, क्लबका पदाधिकारी सहभागी थिए ।