close

‘हरित नगरी’ अभियान लोकप्रिय बन्दै

‘हरित नगरी’ अभियान लोकप्रिय बन्दै

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीमा ‘हरित नगरी’ अभियान लोकप्रिय बन्दै गएको छ । जिल्लाका नगरपालिकाले एकपछि अर्को गर्दै यो अभियान बढाउँदै लगेका छन् । स्थानीय तहमात्र नभई अब नागरिकस्तरबाट पनि  वृक्षरोपण तथा पर्यावरण संरक्षण अभियान सञ्चालन गरिन थालिएका छन् ।

जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले गत असारमै थालेको यो अभियानअन्तर्गत यही भदौ अन्त्यसम्म एक लाख २५ हजार नयाँ बिरुवा रोपिने जनाएको छ । ‘प्रारम्भमा पानी नपर्दा अलि सुस्त गर्नुपरेको यो अभियान अहिले साउन अन्तिम साता सुरु भएसँगै पानी पर्न थालेपछि सघन बनाएका छौँ’, नगरप्रमुख सुरेश साह सोनार भन्छन्, ‘यो भदौ अन्त्यसम्म हामी एक लाख २५ हजार बिरुवा रोपिसक्छौँ ।’

जलाधिनाथ महादेव श्री जलेश्वरनाथ, तपस्वी ऋृषि भृगु आश्रम, रतबारा मठ, सन्सारीमाई देवीस्थान, धार्मिक महत्वका वरुण, पुरन्दर र भार्गव सर (तलाउ) एवं अन्य कैयौँ देवी–देवता र मठस्थलले जलेश्वरको परिचय धार्मिक नगरी रहँदै आएको छ । यी सबै धार्मिकस्थल परिसरलाई मनोरम र हराभरा बनाउन बिरुवा रोपण अभियान अघि बढाइएको उनको भनाइ छ । धार्मिक महत्वको आफ्नो नगरीमा धार्मिक प्रयोजनको पर्यटनमात्र नभएर अब स्वच्छ र हराभरा नगर अवलोकनमा पनि पर्यटक आउने वातावरण बनाउन ‘हरित अभियान’ सञ्चालन गरिएको नगरप्रमुख सोनारले बताए ।

यसअघि २०७८ देखि नै बर्दिबास नगरपालिकाले ‘हरित अभियान’ सञ्चालन गर्दै आएको छ । बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले यो भदौ अन्त्यसम्म यस वर्षको अभियानअन्तर्गत ४० हजार नयाँ बिरुवा रोपिने जानकारी दिए । यस्तै मटिहानी नगरपालिकाले पनि आफ्नै पहलकदमीमा ‘हरित नगरी’ को अवधारणा साकार पार्न वृक्षरोपण अभियान अघि बढाएको छ । सार्वजनिकस्थलमा रोपिएका बिरुवामा तारजालीको घेराबार, मलिलो माटो र अन्य मलजलको प्रबन्धसहित संरक्षणको जिम्मेवारी तोकेर हेरालु राखिएका छन् ।  

यस अभियानलाई अहिले गौशाला नगर क्षेत्रमा नागरिकस्तरबाट अघि बढाइएको छ । वृक्षरोपण तथा पर्यावरण संरक्षण अभियान सञ्जाल संस्थाले यसको अगुवाइ थालेको छ । यस अभियानअन्तर्गत गौशाला नगरभरिका सार्वजनिकस्थल, बाटो, कृषि बाटो, विद्यालय, मठमन्दिर तथा बाँझो खेत र खोला किनारमा रोप्न किसानलाई विभिन्न किसिमको बोट–विरुवा निःशुल्क उपलब्ध गराइएको सञ्जालका भरत महतो कोइरीले जानकारी दिए । यसपालि यो वर्षात् मौसमको अन्त्यसम्म  नगर क्षेत्रका युवा क्लब  तथा समाजिक सङ्घसंस्थालाई अग्रसर गराई २५ हजार बिरुवा रोपिने कोइरीको भनाइ छ ।

यस अभियानमा अहिले बेल, इमली, तेजपात ९सिन्कौली०, गुलमोहर, करौना, मलेसियन सखुवा, सिसौ, पारिजात, अमला र अम्बालगायतका बिरुवा वितरण भइरहेको सञ्जालका गौशाला नगर अध्यक्ष राजीव साहको भनाइ छ । सञ्जालले थालेको अभियानमा गौशाला नगर कार्यपालिकाको कार्यालय र १२ वटै वडा कार्यालयले साथ सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।