close

सार्वजनिक स्थलहरु नियमित सरसफाइ गर्दै बुटवल सरकार

सार्वजनिक स्थलहरु नियमित सरसफाइ गर्दै बुटवल सरकार

Trulli
ADVERTISEMENT

रुपन्देही - बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान अन्तरगत शुक्रबार नयाँ बसपार्क सरसफाइ गरेको छ। साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयाँ बसपार्कमा सरसफाइ गरिएको हो ।

मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य सडक र अन्य क्षेत्रहरु नियमित सरसफाइ गर्ने गरी नयाँ कार्ययोजना ल्याउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । हरेक शनिबार टोलटोलमा टोल विकास संस्थाहरुको अगुवाइमा अभियान सञ्चालन भइरहने र मुख्य सार्वजनिक स्थलहरुको सरसफाइका लागि थप व्यवस्था गर्ने उनले पालिकाखबरलाई जानकारी दिए ।

उनले नगरलाई सफा राख्नका लागि सबैले आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नगर सफा भएमा नगर र नगरबासीको इज्जत बढ्ने बताए ।

उनले सबै सामाजिक संस्थाहरुले बुटवललाई सफा र हरियाली बुटवल बनाउनका लागि साथ दिनुपर्ने बताउँदै सबैको सहयोगले मात्रै नगर सफा र सुन्दर बन्ने सुनाए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई सफा र हरियाली बनाउनका लागि घरदेखि नै कामको थालनी गर्नुपर्ने बताइन्।

४५ दिने अभियान पूरा भएपनि अभियानका क्रममा रोपिएका विरुवाको रेखदेख, मरेका वा नास भएका विरुवाका ठाउँमा बिरुवा लगाउने र सफा गर्न बाँकी रहेका स्थानमा नगरका कर्मचारीले सफा गर्ने सरसफाइ शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए ।