close

वर्गीकरण नगरेको फोहर उठाउनुको सट्टा जरिवाना तिराउँदै धनगढी

वर्गीकरण नगरेको फोहर उठाउनुको सट्टा जरिवाना तिराउँदै धनगढी

Trulli
ADVERTISEMENT

कैलाली– बढ्दो सहरीकरणसँगै फोहरको व्यवस्थापन सहरका स्थानीय तहको टाउको दुखाइको विषय बनेको छ । फोहरलाई वर्गीकरण गरेर संकलन गर्ने र त्यसको उचित व्यवस्थापन गर्ने नीति राजधानीका काठमाडौं महानगरपालिका लगायत कतिपय स्थानीय तहले ल्याएका छन् । तर कार्यान्वयन प्रभावकारी हुन नसकेको प्रशस्तै उदाहरण छन् । तर फोहरको उचित व्यवस्थापन गर्न चाहने स्थानीय तहको लागि पछिल्लो समय कैलालीको धनगढी उपमहानगरपालिका एउटा अनुकरणीय पालिका बनेको छ । 

उपमहानगरपालिकाले गत आर्थिक वर्षको चैतदेखि फोहर वर्गीकरण गरेर मात्र संकलन गर्दै आएको छ भने संकलित फोहरको उचित व्यवस्थापन पनि सुरु गरेको छ । उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख अशोक अवस्थीका अनुसार गत आर्थिक वर्षबाट फोहर वर्गीकरण गरेर मात्र लिने भनेर उपमहानगरपालिकाले स्थानीयस्तरमा सूचना जारी गरेको थियो । सूचना जारी गरेपछि फोहरलाई कसरी छुट्याउने भनेर २० हजार देखि ३० हजार घरधुरीलाई समेटेर सचेतना कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

उनका अुनसार समूदायस्तरमा मात्र नभई विद्यालय स्तरमा पनि फोहर वर्गीकरणका विषयमा उपमहानगरले जानकारी उपलब्ध गराएको थियो । सरोकारवालासँग बसेर छलफल गर्ने, छुट्याएको फोहर के हो भनेर जानकारी मुलक पर्चा वितरण गर्ने काम गरेको र सो कामलाई उपमहानगरपालिकाले हालसम्म पनि निरन्तरता दिएको उनले पालिकाखबरलाई बताए । 

उपमहानगरका प्रत्येक स्थानमा फोहर उठाउनको लागि दुईवटा साधान एकैचोटी जाने गरेको उनले बताए । ‘कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै गाडीले उठाउँछ । कुहिने र नकुहिने फोहर एकैठाउँमा राखिएको छ भने गाडीले फोहर नै लिँदैन ।’ कुहिने र नकुहिने फोहर मिसाएर स्थानीयले दिएका छन् भने त्यस्तो फोहर उठाउन नम्र र भद्र भाषामा अस्वीकार गर्न सरसफाइकर्मीहरूलाई उपमहानगरले निर्देशित गरेको उनले बताए । त्यस्ता फोहरलाई कुहिने र नकुहिनेलाई छुट्याएपछि अर्को पटक फोहर संकलन गर्न जाँदा मात्र लिइएको उनले जानकारी दिए । 

उपमहानगरपालिकाले फोहरको वर्गीकरण गरेर संकलनका साथै उचित तवरबाट व्यवस्थापन समेत गर्दै आएको छ । कुहिने फोहरलाई बायो ग्याँस प्लान्टमा लगेर ग्याँस उत्पादनको लागि प्रयोग गरिन्छ भने नकुहिने फोहरलाई पुन प्रशोधन गर्ने गरेको शाखा प्रमुख अवस्थीले जानकारी दिए । 

उनको अनुसार त्रिपक्षीय सम्झौताअनुसार उपमहानगरभित्र बायो ग्याँस इम्प्लान्ट सेन्टर सञ्चालनमा छ । वैकल्पिक उर्जा केन्द्र, देव तालिम केन्द्र तथा म्यानेजमेन्ट सेन्टर र धनगढी उपमहानगरपालिकाको सम्झौताअनुसार सो सेन्टर सञ्चालनमा आएको हो । वैकल्पिक उर्जा केन्द्रको आठ करोड अनुदान, १३ करोड निजी कम्पनीको लगानी र धनगढी उपमहानगरपालिकाको उपलब्ध गराएको जग्गामा कुहिने फोहरलाई प्रशोधन गरेर ग्याँस उत्पादन भइरहेको उनले जानकारी दिए । ‘हामी उहाँहरूलाई कुहिने फोहर उपलब्ध गराउँछौँ । २० वर्षसम्म उहाँहरूले चलाउनुहुन्छ । २० वर्षपछि सम्पत्ति धनगढी उपमहानगरपालिकाको हुने सम्झौता हो,’ उनले भने । कुहिने फोहरबाट ग्याँस उत्पादन भइरहेको तर वितरणको प्रकृयामा भने जान बाँकी रहेको उनले सुनाए ।

धनगढी उपमहानगरपालिकामा प्रतिदिन ४३ टन फोहर उत्पादन हुन्छ । सोमध्ये १५ देखि १८ टन कुहिने फोहर दैनिक रुपमा उत्पादन हुने र त्यसको बायो ग्याँस तयार हुने गरेको उनले बताए । संकलित बाँकी नकुहिने फोहरलाई समेत वर्गीकरण गरिएको छ ।

विगत तीन महिनादेखि उपमहानगरपालिकाले माइक्रो सेग्रिगेसन सेन्टरको स्थापना गरेर नकुहिने फोहरलाई पनि छुट्याउने गरेको उनले जानकारी दिए । ‘त्यसमा कागजलाई अलग्गै, बोतल, प्याकिङमा प्रयोग भएका प्लाष्टिकहरूलाई उनीहरूको प्रकृतिअनुसार छुट्याउँछौँ,’ उनले भने, ‘नकुहिने फोहर छुट्याउन थालेको तीन महिना भयो । गोदाम सामानले भरि सकेको छ ।’ सो पुन प्रशोधित सामाग्री बिक्रीको लागि प्रकृया पुर्‍याउने काम भइरहेको र छिट्टै बिक्री गरिने उनले बताए । समानको मौजाद कति छ भनेर जोखेर तथ्यांक निकालेपछि बिक्रीका लागि सूचना जारी गर्ने उनले सुनाए । 

बायो ग्याँस र रिसाइक्लिङ गर्न मिल्ने बाहेक कुल फोहरको ५ देखि १० प्रतिशत फोहर मात्र फाल्नुपर्ने उनले जानकारी दिए । सो फोहरलाई स्थायी रुपले व्यवस्थापन गर्नको लागि उपमहानगरसँग स्थान नरहेको उनले बताए । फोहर फाल्न कुनै अवरोध नभएका जमिनमा त्यस्ता ५ देखि १० प्रतिशत फोहर ल्याएर बिसर्जन गरिएको उनको भनाइ छ । 

उपमहामनगरले लाखौं खर्च गरेर पटक-पटक विभिन्न टोल र विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ तर डस्टबिनमा कुहिने र नकुहिने फोहर नछुट्याई एकै ठाउँमा फाल्ने काम नरोकिएपछि उपमहानगरपालिकाले जरिवाना तिराउन थालेको छ । 

सरसफाइ समिति गठन गरेर टोल टोलको सरसफाइ 

फोहरमैला व्यवस्थापनका लागि मानिसहरूको व्यवहारमा परिवर्तन आए मात्र सम्भव हुने भएकाले उपमहानगरले सो क्षेत्रमा पनि ध्यान दिएको छ । सार्वजनिक स्थानमा जथाभावी फोहर गर्ने बानीमा तत्काल परिवर्तन ल्याउनलाई काम गरिरहेको वातावरण शाखाको प्रमुख अवस्थीले बताए । 

धनगढी उपमहानगरपालिकाले सार्वजनिक स्थलमा फोहर फ्याँकिरहेको कसैलाई भेट्टाएमा जरिवाना गर्ने गरेको उनले जानकारी दिए । फोहर मैला व्यवस्थापन ऐन, २०६८ लाई टेकेर उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन २०७४ का साथै नियमावली बनाएको उनले बताए । त्यो अनुसार उपमहानगरपालिकाले सरसफाइ सहजकर्ताको रुपमा पाँचजना कर्मचारी खटाएको छ । उनीहरूले साँझ, बिहान, राति गरी २४सैं घण्टा निगरानी गर्ने उनले बताए । ‘उहाँहरूले मेडिकल वेष्ट र अन्य फोहर जथाभावी फाल्नेलाई नियमअनुसार जरिवाना गराउने र सचेत गराउने काम भइरहेको उनले जानकारी दिए । 

उपमहानगरले हरेक हप्ता सार्वजनिक स्थलको सरसफाइ गर्न टोल समाजमा धनगढीले सरसफाइ समितिको गठन गरेको शाखा प्रमुख अवस्थीले जानकारी दिए । उपमहानगरद्वारा खटाइएका सहजकर्ताले सरसफाइ समिति र विद्यालयलाई सरसफाइसम्बन्धी सचेतना प्रदान गर्नुका साथै सहजीकरणमा सहयोग गर्ने जिम्मेवारी तोकिएको छ । एउटा विद्यालयलाई विद्यालयको वरपरका ५०० मिटर क्षेत्रफलको जिम्मा दिएर सो क्षेत्रको सरसफाइ गर्न र सचेतनाको जिम्मा लगाइएको उनले बताए । एकएक जना सहजकर्तालाई सरकारी र निजी विद्यालयको जिम्मा लिएको र दुईजनालाई समूदायको जिम्मा दिएको उनले जानकारी दिए । ‘हाम्रो वार्षिकोत्सवमा राम्रो काम गर्ने सरसफाइ समिति र विद्यालयलाई पुरस्कृत गर्ने घोषणा समेत गरेका छौँ ।’ कार्यपालिकाको बैठकले निर्णयबाट पुरस्कार राशीको घोषणा हुने उनले बताए । सामाजिक परिचालक र स्वस्फूर्त रुपमा उपमहानगरको सरसफाइमा स्थानीय समेत लागेको उनले सुनाए ।