close

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थपिँदै

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थपिँदै

Trulli
ADVERTISEMENT

बागलुङ– अर्थ मन्त्रालयले धौलागिरि अस्पतालका लागि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत ३ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम अस्पतालमा ल्याउन तोकिएको कार्ययोजनासहित कार्यक्रम बनाउनुपर्नेछ । 


धौलागिरि अस्पताल व्यस्थापन समिति र अस्पताल प्रशासनले नयाँ कार्ययोजना निर्माणको काम थालेको छ । सोमबार बसेको व्यवस्थापन समितिको बैठकले कार्ययोजना बनाएर सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको अस्पतालका अध्यक्ष केवी राना मगरले बताए । 


३ करोडमध्ये डेढ करोड रुपैयाँ अस्पतालमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान गर्न खर्चिने योजना बनाएको उनले जानकारी दिए । ‘भर्न पनि मिल्ने गरी नयाँ अक्सिजन प्लान्ट बनाउने कार्यक्रम छ । त्यसका लागि चिनियाँ प्रविधिको प्लान्ट बनाइनेछ,’ राना मगरले भने, ‘छिटो बनाउन सकिने र तत्काल भेटिने जनशक्ति प्रयोग गर्दा बन्ने प्लान्टले अस्पतालमा थप बिरामीको उपचारमा सहयोग पुग्नेछ ।’ 


यसअघि बनेको प्लान्टबाट अस्पतालको २५ वटा बेडमा मात्रै अक्सिजन दिन सकिएको छ । अन्य बिरामीलाई सिलिन्डरबाट अक्सिजन दिइएको हो । 


सिलिन्डरबाट दिँदा तत्काल सकिने समस्याले पटक–पटक पोखरा पुगेर भर्नुपर्ने बाध्यता छ । एकैछिन ढिला भए पनि बिरामीलाई खतरा भएपछि अस्पतालले पहिलो प्राथमिकतामा सबै बेडमा अक्सिजन पु¥याउने लक्ष्य राखेको हो । 

बाँकी डेढ करोड रुपैयाँबाट कोभिड नियन्त्रणकै नयाँ कार्यक्रम, सामग्री र उपकरण खरिदमा लगाइने मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । अस्पतालमा नियमित रूपमा पिपिई र अन्य स्वास्थ्य सामग्री अभाव भएको र आइसियुलगायत वार्डमा सुविधा थप्न आवश्यक रहेको उनले जानकारी दिए ।


त्यसका लागि अत्यावश्यक सामग्री, उपकरणसमेतको नामावली उतार्ने उनको भनाइ छ । ‘घर बनेर मात्र सबै उपचार सम्भव नहुने भएकाले साना उपकरणको नामावली तयार गरेर पठाउने काम थालेका छौँ,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयको खातामा आउने बजेट ल्याउनुपर्ने भएकाले चाहिएका बेला सामान खोज्न मिलेन । आवश्यक पर्ने अहिले नै कन्फर्म गर्नुपर्छ ।’ 


सरकारी संयन्त्रमा रकम निकाल्न लामो प्रक्रिया हुने भएकोले समयमै अत्यावश्यक सामग्री जुटाउने योजना रहेको उनले सुनाए । 

अस्पतालमा दैनिक हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढिरहेका छन् । कोरोना संक्रमणले बढेका बिरामीलाई नियमित हेर्न दक्ष जनशक्तिसमेत अभाव छ । सामाजिक विकास मन्त्रालयले अस्पतालमा आवश्यक पर्ने दक्ष जनशक्ति नियुक्तिका लागि बाटो खोलिदिएको छ । 

अस्पताल व्यवस्थापनले पटक– पटक मन्त्रालयको ध्यानाकर्षण गरेपछि उक्त बाटो खोलिदिएको हो । 


अस्पतालमा डाक्टर र नर्सको अभाव भएपछि थोरै जनशक्तिले २४ सै घन्टा खटिनु परेको थियो । मन्त्रालयले करारमा अत्यावश्यक कर्मचारी भर्ना गर्न बजेटसमेत विनियोजन गरेपछि अस्पतालले तयारी थालेको अध्यक्ष राना मगरले बताए ।


‘हामीले डाक्टर र नर्स इन्चार्जसँग कुन क्षमताको जनशक्ति भए अत्यावश्यक सेवा सहज बनाउन सक्छौँ भन्ने सम्बन्धमा सल्लाह गर्दै छौँ,’ राना मगरले भने, ‘केही दिनमै आवश्यक कर्मचारी भर्ना गरेर काम लिने योजनामा छौँ ।’


अस्पतालले नर्स र हेल्थ असिस्टेन्ट तहसम्मका कर्मचारी आफ्नै आवश्यकताको आधारमा नियुक्त गर्न पाउने अधिकार पाएपछि विज्ञापनसमेत गरिसकेको उनले जानकारी दिए । 


डाक्टरका लागि भने मन्त्रालयले छनोट गरेर मात्रै पठाउने कानुनी व्यवस्था छ । अस्पतालमा २ महिनादेखि मेडिकल अधिकृतको आवश्यकता खड्किएको छ । १४ जना मेडिकल अधिकृत रहेको अस्पतालमा अहिले ४ जना मात्रै छन् ।


अधिकांश डाक्टर पढ्ने वाहनामा फिर्ता भएका छन् । सरकारले धौलागिरि अस्पताललाई ‘ग’ बाट ‘ख’ वर्गमा बढुवा गरेपछि नम्बर खोज्न आएका मेडिकल अधिकृत फिर्ता भएका हुन् । उनीहरू गएपछि अस्पतालको ओपिडी, इमर्जेन्सी र अन्य वार्डमा खटिएका मेडिकल अधिकृत खाली भएको हो । उनीहरूको अभाव भएपछि विशेषज्ञ डाक्टरले आइसोलेसन, विशेषज्ञ सेवादेखि सबै प्रकारका काम गर्नुपरेको डा. पोखरेलले बताए ।