close

नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान

नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाले उत्कृष्ट काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।  १८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा आइतबार नगरपालिकाले दुई महिला स्वास्थ्य स्वयंसेविकालाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

 

सम्मानित हुनेमा वडा नम्बर ४ की स्वास्थ्य स्वयंसेविका शर्मिला रम्तेल र वडा नम्बर ११ की स्वास्थ्य स्वयंसेविका मञ्जु तामाङ रहेका छन् । नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उनीहरूलाई सम्मानपत्र र नगद प्रदान गरे । 

 

दिवस अवसरमा नमोबुद्धले महिला स्वास्थ्य स्वयंसेविकाबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो ।प्रतियोगितामा पुरानागाउँ स्वास्थ्य चौकीअन्तर्गतका स्वयंसेविकाको समूह पहिलो, भिडाबारी आधारभूत स्वास्थ्य केन्द्रअन्तर्गतका स्वयंसेविकाको समूह दोस्रो र कुरुगाउँ आधारभूत स्वास्थ्य केन्द्रअन्तर्गतका स्वयंसेविकाको टोली तृतीय
भयो । 

 

दाप्चा स्वास्थ्य चौकीअन्तर्गतका स्वयंसेविकाको समूहले सान्त्वना पुरस्कार पाएको छ । पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरिएको थियो । प्रतियोगितामा १२ वटा समूह सहभागी थिए । 

 

नमोबुद्धमा ८१ जना महिला स्वास्थ्यं स्वयंसेविका छन् । उनीहरूले अघिल्लो आर्थिक वर्ष ०७७÷७८ मा ५ हजार ३ सय १७ जनालाई सेवा दिएका छन् ।

 

कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि नगरपालिका लागिपरेको बताउँदै सबै वडामा स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको जानकारी दिए ।

 

महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको सम्मान गर्दै आएको र आगामी दिनमा पनि थप सेवा सुविधासहित कामको मूल्यांकन गरिने उनले बताए ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वास्थ्यमा संकट आउँदा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सबैभन्दा महत्त्वपूर्ण बन्ने गरेको बताए ।

 

सामुदायिक स्वास्थ्य कार्यक्रमले गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउन तथा चेतना विकास गर्न मद्दत पुगेको उनको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाकै कारण बाल तथा मातृ मृत्युदर घटाउन सहयोग पुगेको उनले बताए । 

 

कार्यक्रममा नगरपालिका शिक्षा, खेलकुद तथा युवा शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, नगरपालिका स्वास्थ्य शाखा संयोजक नवराज दाहाल, स्वास्थ्य शाखामा कार्यरत सरस्वती शर्मालगायतले बोलेका थिए । कार्यक्रमअघि महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीको टोलीले चेतनामूलक प्लेकार्डसहित नगर परिक्रमा गरेको थियो ।