close

चार पालिकाका जनतालाई सेवा दिँदै आएको अस्पतालको सेवा विस्तार

चार पालिकाका जनतालाई सेवा दिँदै आएको अस्पतालको सेवा विस्तार

Trulli
ADVERTISEMENT

चितवन । पूर्वी चितवनका चारवटा पालिकाका जनतालाई सेवा दिँदै आएको बकुलहर रत्ननगर अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । अस्पतालले पहिलोपटक छ शय्याको शिशु सघन उपचारकक्ष  (एनआइसीयू) र दूरविन प्रविधिबाट शल्यक्रिया सेवा सुुरु गरेको हो ।

नवजात शिशुको उपचारका लागि एनआइसीयू सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले बताए । प्रसूति सेवा दिँदै आएको अस्पतालमा एनआइसीयूको अभाव रहेको थियो । हाल छ शय्याको एनआइसीयू सुरु गरिएको भए पनि १२ शय्यासम्म विस्तार गर्न सकिने उनले बताए ।

भर्खर जन्मेकादेखि २८ दिनसम्मको शिशुको उपचारमा एनआइसीयू प्रभावकारी हुने उनको भनाइ छ । जन्मिँदा नै आफैँ श्वास फेर्न नसक्ने र गम्भीर खालका स्वास्थ्य समस्या देखिएका शिशुलाई एनआइसीयूको आवश्यकता पर्दछ ।

विगतमा एनआइसीयू आवश्यक पर्दा भरतपुर पठाउनुपर्ने अवस्थाको अन्त्य भएको डा. बगालेले बताए । एनआइसीयू सञ्चालन गर्न भने जनशक्तिको अभाव रहेको उनले बताए । छ शय्याको एनआइसीयू सञ्चालन गर्न कम्तीमा १० जना तालिमप्राप्त नर्स आवश्यक पर्नेमा हाल चार जनाले काम गरिरहेको उनको भनाइ छ ।

अस्पतालमा मासिक १०० जनाले प्रसूति सेवा लिँदै आएका छन् । प्रसूति सेवा दिने अस्पतालमा एनआइसीयू अतिआवश्यक हुने डा. बगाले बताउँछन् ।

यसैगरी अस्पतालले दूरविन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको छ । पित्तथैली, महिलाको पाठघरसम्बन्धी शल्यक्रिया, कानलगायतका अङ्गमा यो प्रविधिबाट शल्यक्रिया गर्न सकिने उनको भनाइ छ । पेट नचिरी स–साना प्वाल पारेर दूरविनजडित अत्याधुनिक उपकरणले गरिने शल्यक्रिया नै ल्याप्रोस्कोपिक सर्जरी अर्थात् दूरविन पद्धतिबाट गरिने शल्यक्रिया हो ।

५० शय्या (बेड) स्वीकृत पाएको अस्पतालले हाल ८० शय्या सञ्चालन गर्दै आएको छ । अस्पतालमा तीन शय्याको शल्यक्रियाकक्ष, १० शय्याको पोष्टअप रहेका छन् । अस्पतालमा १६ विशेषज्ञ, १० मेडिकल अफिसर र ३० जना नर्स कार्यरत रहेका छन् ।

अस्पतालमा मेडिसिन सेवा, सर्जरी, प्रसूति, बालबालिका, छाला, नाक–कान–घाँटी, रेडियोलोजी, अर्थोपेडिक, अल्ट्रासाउण्ड, एक्सरेलगायत सुविधा उपलब्ध छन् । चौबीसै घण्टा फार्मेसी, प्रयोगशाला, चिकित्सकसहित आकस्मिक सेवा सञ्चालन छन् । अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ भने पिसिआर ल्याब (प्रयोगशाला) समेत रहेको छ ।

पूर्वी चितवनका जनतालाई सेवा दिँदै आएको अस्पतालले पछिल्लो समय आफ्ना सेवालाई विस्तार गर्दै लगेको छ । निकट भविष्यमा नै एक सय शय्याको बनाउन लक्ष्य लिइरहेको डा. बगाले बताउँछन् ।