close

सिद्धार्थ बाल तथा महिला अस्पताल तीन सय बेडमा स्तरोन्नति हुने

सिद्धार्थ बाल तथा महिला अस्पताल तीन सय बेडमा स्तरोन्नति हुने

Trulli
ADVERTISEMENT

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ । 

बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा दुई सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो । 

एसोसिएसन अफ मेडिकल डक्टर अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो । 

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो । 

पचास शय्याबाट सुरु भएको उक्त अस्पताल हाल सय शय्यामा सञ्चालन गरिएको छ । 

अस्पतालका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई तीन सय बेडको बनाउने र विशिष्टीकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताए । 

अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारी भएको उनले बताए । उनले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रुपमा स्तरोन्नति गर्ने बताए । 

समझदारीका क्रममा आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीले आम्दाले बुटवलमा अस्पताल स्तरोन्नतिका लागि आवश्यक सहकार्य गर्ने बताए । 

उनले अस्पतालमा बेड थप गर्ने मात्रै नभई अन्य सुविधा थप गर्ने गरी त्रिपक्षीय सहकार्य हुने बताए । 

आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दाले बुटवलको अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने र श्रोत तय गर्नका लागि भूमिका निर्वाह गर्ने बताए । 

अस्पतालको अर्को साझेदार संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताए ।

उनले अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने बताए ।