रूपन्देही- रूपन्देहीको बुटवल उद्योग वाणिज्य संघले संचालन गरेको नवउद्यमशाला कार्यक्रमको कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।
नवउद्यमीलाई प्रवद्र्धन गर्न संचालनमा ल्याइएको नवउद्यमशालाको कार्यालय बुटवल उद्योग वाणिज्य संघको पुरानो भवनमा स्थापना गरिएको हो ।
बुटवल उद्योग वाणिज्य संघ रूपन्देही, अन्तरप्रेरणा प्रालि, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल र युवा उद्यमी मंच रूपन्देहीको सहकार्यमा बुटवलमा नवउद्यमशाला कार्यक्रम संचालन गरिएको हो ।
नौ महिनासम्म संचालन हुने यो कार्यक्रम कोरोना महामारीका कारण चैतदेखि सुरु गर्ने तयारी भए पनि असारदेखि मात्र संचालन गरिएको हो ।
बुटवल उपमहानगरप्रमुख सुवेदीले नवउद्यमशाला कार्यक्रमबाट उद्यमशीलता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘उद्यमशीलता विकासका लागि शून्य ब्याजमा लगानी व्यवस्थापन गर्ने उपमहानगरको तयारी छ । संघीय तथा प्रदेश सरकारले समेत न्यून ब्याजदरमा लगानी गर्ने नीति लिएकाले यसबाट उद्योग व्यवसाय संचालन सहज हुनेछ’, सुवेदीले भने ।
सरकार आफैँले सबथोक गर्न नसक्ने हुँदा सबैको सहकार्यमा उद्यमशीलता विकास गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनले बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष खिमबहादुर हमालले सरकारलाई सहयोग गर्ने गरी योजना संचालन गरिएको जानकारी दिए ।
‘उद्योग वाणिज्य संघले प्रदेश संरचना स्थापनासँगै आफ्नो सचिवालय भवन प्रदेशसभा संचालनका लागि सरकारलाई उपलब्ध गराएको छ । बालमन्दिरमा सचिवालय संचालन गर्दा पूर्वाधार संरचना नभएका कारण कार्यक्रम संचालनमा समस्या हुँदा पर्याप्त योजनाहरू संचालन गर्न नसकिएको हो’, हमालले भने ।
नवउद्यमशाला कार्यक्रमको साझेदार संस्था लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका प्रतिनिधि डिल्लीराज गौमतले उद्योगधन्दामा आवश्यक जनशक्ति उत्पादन भए पनि पर्याप्त उद्योग व्यवसाय नखुल्दा उत्पादित जनशक्ति विदेश पलायन हुन बाध्य भएको बताए ।
युवा उद्यमी मंच रूपन्देहीका अध्यक्ष उमेश अमात्यले उद्यमशीलता विकासमा मंचले काम गर्दै आएको जानकारी दिए ।
‘उद्यमीशलता विकासका लागि युवा उद्यमी मंचले एनएमबी बैंकसँग १० लाख रुपैयाँसम्म बिनाधितो ऋण उपलब्ध गराउने गरी सम्झौता भएको छ । ‘त्यसका लागि मंचको सिफारिस अनिवार्य गरेका छौँ’, अमात्यले भने ।
अन्तरप्रेरणा प्रालिका प्रमुख कार्यकारी अधिकृत निरज खनालले तालिम लिएर प्रमाणपत्र दिनुभन्दा पनि प्रशिक्षार्थीले संचालन गर्ने उद्यमको विस्तारमा सघाउ पुर्याउन कार्यक्रम संचालन गरिएको बताए ।