close

निजगढ विमानस्थलको रुख गणना आउँदो मंसिरभित्रै सक्ने निर्णय

निजगढ विमानस्थलको रुख गणना आउँदो मंसिरभित्रै सक्ने निर्णय

Trulli
ADVERTISEMENT

राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । हालसम्म सो क्षेत्रका ५७ हजार ३ सय ५० रुख गणना कार्य सकिएको छ भने नदी नियन्त्रणको काम पनि जारी छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पर्यटनमन्त्री योगेश भट्टराई अध्यक्षताको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकमा विमानस्थल निर्माणको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

समितिले आउँदो मंसिर मसान्तभित्रै रुख तथा पोलहरूको लगत नम्बरिङकोे काम सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजना स्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि बस्ती व्यवस्थापन मोडालिटी पनि तयार गर्ने निर्णय गरेको छ ।

गत ०७६ माघ २ मा भएको निर्णयअनुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेस गरिने मन्त्रालयले जानकारी दिएको छ ।

साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय बाराका प्रमुखलाई थप गर्ने निर्णय भएको छ । बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान कार्य सम्पन्न  गर्न नेपाल वन निगम लिमिटेडमार्फत रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशनसमेत दिएको छ । 
बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी काम एक साताभित्रमा सक्न उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । 

लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेसनल कम्पनीसँग पत्राचार गरी सेप्टेम्बर ३० भित्र परियोजना प्रस्तावको अन्तिम निर्णय लिनेसमेत निर्णय गरेको मन्त्री भट्टराईले जानकारी दिए ।