close

सडक पुगेपछि गाउँमा खुसीयाली

सडक पुगेपछि गाउँमा खुसीयाली

Trulli
ADVERTISEMENT

आठ वर्षअघि छेडागाड नगरपालिकाको वडावन हुँदै थाप्लो थिचिने गरी भारी बोकेर शरीरभरी पसिना बगाउँदै जुनिचाँदेको लुहादहस्थित घरमा नुन ल्याउने रेशम खड्का अहिले सोही ठाउँमा गाडीमा हुइँकिन्छन् । 

उनलाई यति छिट्टै गाउँगाउँमा सडक पुग्ला भन्नेमा एकरत्ति पनि विश्वास थिएन । बाबासँग नुनलगायत अन्य लत्ताकपडा आफ्नै शरीरको तौलभन्दा बढी बोकेर तीन दिन लगाएर घर जाने रेशमलाई आजभोलि सोही बाटो चार घन्टाभित्र पार गरी घरमा पुग्दा अनौठो लाग्छ ।
 
केही समय छेडागाडमा शिक्षण गरेका जाजरकोटका पत्रकार राजेन्द्र कार्की यति छिट्टै पश्चिमका गाउँगाउँमा सडक निर्माण भई यात्रा गर्न पाइएला भन्ने विश्वाससमेत नलागेको बताउँछन् । उनले भने, ‘पहिले पढाउँदा दुई दिन लगाएर हिँडेको बाटो हो, अहिले लामो समयपछि यहाँ आउँदा गाडीमै हुइँकिन पाउँदा खुसी लागेको छ । स्थानीयको जीवनशैलीसमेत फेरिएछ ।’ 

भोकविरुद्ध सहायता अभियान कार्यक्रम लिएर खाद्यान्न हस्तान्तरण गर्न पश्चिम जाजरकोट गएका पत्रकार, नागरिक अगुवा तथा अधिकारकर्मीहरूले गाडीमै सामग्री लिएर ठाउँठाउँ पुग्दा विकासले गति लिएको भन्दै खुसी व्यक्त गरे । सहायता अभियान तथा डिसहोमका प्रतिनिधि वसन्तप्रसाद शर्माले अब पश्चिम जाजरकोट पनि दूरीका हिसाबले टाढा नभएको बताए । मानिसको जीवनशैली बदलिएकाले अब उत्पादन र रोजगारीमा समेत जोड दिए समृद्धिको बाटो धेरै पर नभएको उनको दाबी छ ।

बाहिरबाट आवश्यक सामग्री लिएर आएका गाडीलाई गाउँकै स्थानीय उत्पादनका सामग्री पठाएर आर्थिक लाभ लिनुपर्नेमा शर्माको जोड छ । 

अहिले पश्चिम जाजरकोटमा वन तथा वातावरणमन्त्री तथा प्रतिनिधिसभा सदस्या शक्तिबहादुर बस्नेतको पहलमा वडावनमा १३२ केभी प्रसारण लाइनको सवस्टेसन निर्माण जारी छ । यहाँका कच्ची सडक कालेपत्रे भइरहेका छन् । त्यस्तै, स्थानीय सरकारले मूल सडकबाट गाउँगाउँमा सडक जोडेर सबै वडा यातायातको पहुँचमा पु¥याउने अभियानमा लागेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए ।

‘अब गाउँगाउँमा सडक सन्जाल विस्तारको काम तीव्र बनेको छ’, नगरप्रमुख महतराले भने, ‘हामीले आफ्नो गाउँ–टोललाई विकासको मूल प्रवाहमा ल्याउन इमानदारी र आफ्नोपन देखाउनुपर्नेछ । हामीले गर्ने काम भावी सन्ततिका लागि हो भन्ने बुझ्न जरुरी छ ।’

शिवालय गाउँपालिकाले सबै वडामा सडक निर्माणलाई निरन्तरता दिएको छ । पालिकाको बढी भाग बजेट सडक निर्माणमा लगाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । नयाँ सडक निर्माण गर्दा ठाउँठाउँमा भत्किएको भए पनि अर्को वर्षदेखि सडक लयमा आउने अध्यक्ष शाहीको दाबी छ । 

जुनिचाँदे गाउँपालिकाले पनि सडक निर्माणलाई नै जोड दिएको छ । अहिले पालिकाको तल्लो भागभरि सडक निर्माण भएको कावाध्यक्ष शिवा आचार्य (बस्नेत) ले जानकारी दिइन् ।

पश्चिम जाजरकोटमा मध्यपहाडी लोकमार्गको काम अगाडि बढाइएको छ । छेडा–चाँदे सडक हुँदै जुम्ला सडकखण्डसमेत पश्चिम जाजरकोटमै पर्दछ । तर, कच्ची काटेर वषौँ बितेको सडकमा कालोपत्रेको कामसमेत अगाडि बढाउनुपर्ने माग स्थानीयको छ । 

वर्षायाममा निर्माणाधीन अवस्थामा रहेका सडकलाई क्षति पु¥याउँदा केही समस्या देखिएको स्थानीय तहले जानकारी दिएका छन् । वर्षायाममा खोलाहरूमा पुल निर्माण नभएका कारण केही अवरोध आए पनि कच्ची कटान भएका सडक काम चलाउ रहेको जुनिचाँदे गाउँपालिकाका सर्वसाधारण बताउँछन् ।