close

बाग्लुङमा विश्वकै लामो झोलुंगे पुल 

बाग्लुङमा विश्वकै लामो झोलुंगे पुल 

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङलाई झोलुंगे पुलको जिल्लाका उपनामले पनि चिनिन्छ । बाग्लुङमा ४ सय १४ झुलुंगे पुल छन् भने ३१ वटा पुल निर्माणको चरणमा रहेका छन् । जिल्लामा नदी, खोला मात्र होइन, खोल्साखोल्सीमा पनि धेरै झुलुंगे पुल छन् । 

 

पछिल्लो समय ठूला नदी र खोंचमा समेत झुलुंगे पुल निर्माण थालिएको छ । बाग्लुङ र पर्वत जिल्लाको बीच भएर बगेको कालीगण्डकी नदीमाथि यी दुई जिल्लालाई जोड्ने गरी धमाधम लामा पुल निर्माण भइरहेका छन् । बाग्लुङ नगरपालिका–१ रामरेखाको बांगेचौरदेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्न हालै मात्र सञ्चालनमा ल्याइएको पुल विश्वकै लामो भएको दाबी गरिएको छ । उक्त पुललाई बाग्लुङ नगरपालिकाले विश्वकै लामो भएको भन्दै विश्व रेकर्ड कायम गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता प्रक्रियासमेत थालेको जनाएको छ । 

 

विश्वकै लामो दाबी गरिएको पुलको तथ्य प्रमाण भने जुट्न बाँकी नै छ । उक्त पुल साउन १६ मा सर्वसाधरणका लागि खुला गरिएको छ । रामरेखा अदुवाबारी झुलुंगे पुल मात्र होइन, बाग्लुङ र पर्वत जोड्ने गरी धेरै झुलुंगे पुल निर्माण भएका छन् । कालीगण्डकीको खोंचमा निर्माण भएका पुल अग्ला र लामा हुने गरेका छन् । रामरेखा अदुवाबारी पुलले विश्व रेकर्ड राख्न सक्यो भने बाग्लुङको चिनारी विश्वभर फैलिनेछ । 


सो पुलको लम्बाइ ५ सय ६७ मिटर र १ सय ३८ मिटर चौडाइ रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले जानकारी दिएको छ । कार्यालयका सिनियर इन्जिनियर हुमाकान्त मिश्रका अनुसार कार्यालयमा विश्वभरको तथ्यांक वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्यान्डमा खुला प्रकृतिको झुलुंगे पुल जम्मा ४ सय ९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण यो नै विश्वको लामो झोलुंगे पुल हुन सक्ने अनुमान गरिएको हो । यद्यपि, विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुल कति लामो छ भन्ने जानकारी उपलब्ध छैन । 

 

तर, विश्वमा पछिल्लो समय अन्य लामा झुलुंगे पुल थपिएका भए पनि योभन्दा लामो पुल बनेको हालसम्म उल्लेख भएको छैन । पुललाई विश्व रेकर्ड कायम राख्नका लागि संसारमा खुला प्रकृतिमा निर्माण भएका झुलुंगे पुलको तथ्यांक अध्ययन गरेपछि मात्रै बाग्लुङ–पर्वत जोड्ने पुल लामो हो कि होइन यकिन गर्न सकिने उनले बताए । 


पुल निर्माणको प्रमुख समन्वयकर्ता बाग्लुङ नगरले भने पुल विश्वकै लामो हुन सक्ने भन्दै विश्व रेकर्डका लागि आवश्यक प्रक्रियाका लागि सम्बन्धित क्षेत्रमा पत्राचार तथा समन्वय गरिरहेको बाग्लुङ नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘पुल सुरुमा नेपालकै लामो भनिए पनि निर्माण भइसक्दा कसैले एसियाकै त, कसैले विश्वकै लामो भएको जानकारी दिएका छन्,’ नगरप्रमुख पौडेलले भने, ‘यदि पुल विश्वकै लामो भए गिनिज बुकमा नाम लेखाउने गरी आवश्यक प्रमाण जुटाउन सस्पेन्सन ब्रिज डिभिजन कार्यालयलगायत सम्बन्धित निकायलाई अग्रह गरेका छौं ।’ 

 

०७५ चैतदेखि निर्माण सुरु भएको उक्त पुल ०७७ असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअगावै निर्माण सम्पन्न भएको थियो । तर, कोरोना महामारीका कारण गत साउनमा मात्र सञ्चालनमा ल्याइएको हो ।  बाग्लुङ र पर्वत जोड्ने गरी बलेवाको कैया–कुस्मा जोड्ने ३ सय ४७ मिटर लामो र १ सय ५९ मिटर उचाइको पुल, कुस्मा–बलेवा यान्त्रिक पुल र कुस्मा–बलेवा नै विश्वकै दोस्रो अग्लो बन्जीजम निर्माण भएको छ । 

 

कुस्मा–कैया जोड्ने पुललाई हालसम्मकै अग्लो पुलका रुपमा व्याख्या गरिँदै आएको छ । त्यसपछि पुन बाग्लुङ र पर्वत जोड्ने लामो पुल निर्माण हुनुले जिल्लामा झोलुंगे पुलसम्बन्धी एकपछि अर्को पहिचान बन्दै छ ।  पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बाग्लुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत आकर्षित गर्नेछ ।

 

पुलले दुई जिल्लाको आर्थिक गतिविधिलाई चलायमान गराउन पर्वत र बाग्लुङ जोड्ने गरी पछिल्लो समय निर्माण भएको झोलुंगे पुल, यान्त्रिक तथा बन्जीजमले ठूलो योगदान पु¥याउने पर्वत कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी बताउँछन् ।‘पर्वत र बाग्लुङको नजिकको सम्बन्ध छ । सदरमुकाम जोडिएका कारण पनि प्रशासनिकबाहेक हाटबजारका लागि पर्वतको केही भागका नागरिक बाग्लुङमा निर्भर हुने र बाग्लुङको दक्षिण भेगका जनता पर्वतमा निर्भर हुने अवस्था छ,’ जोशीले भने, ‘अब दुई जिल्लाको आर्थिक विकासबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै पुल तथा बन्जीजमले चर्चा पाएको छ ।

 

यसले पर्यटनको विकासमा बाग्लुङ र पर्वतमा ठूलो फड्को मार्ने देखिएको छ ।’  यो पुलबाट एकसाथ ६ सय १२ जना आउजाउ गर्न सक्छन् । पुलले ८५ मेट्रिक टन क्षमता भार थेग्न सक्छ । कम्तीमा पनि एक घन्टाको पैदल यात्राबाट मात्र पुग्न सकिने पाङमा पुल बनेसँगै १० मिनेट लाग्छ । 

 

यो पुलका केही रोचक पक्षहरू पनि छन्  । अन्य झोलुंगे पुलको तुलानामा विश्वकै लामो दाबी गरिँदै आएको नवनिर्मित बाग्लुङको बांगेचौरदेखि पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५ सय ६७ मिटर लामो पुल केही फरक छ । यस पुलबाट देखिने दृश्य तथा पुलमा जडान गरिएको सोलार बत्ती निकै आकर्षक देखिन्छन् । 
पुल कालीगण्डकी नदीमाथि निर्माण भए पनि पुलमुनि दुई राष्ट्रिय राजमार्ग पर्छन् ।

 

पुलको बाग्लुङ खण्डमा बाग्लुङ–पोखरा मध्यपहाडी लोकमार्ग र पर्वत खण्डमा भारतबाट आएको कालीगण्डकी करिडोर सडक पर्दछ, जुन प्रसिद्ध पर्यटकीय स्थल मुस्ताङ हुँदै चीनको कोरोला नाका पुग्ने सडक हो ।  यस्तै, पुलको बीच भागबाट धौलागिरि हिमाल देख्न सकिन्छ ।