close

दूरसञ्चारको क्षमता वृद्धिमा लगानी आवश्यक

दूरसञ्चारको क्षमता वृद्धिमा लगानी आवश्यक

Trulli
ADVERTISEMENT

नेपालको  दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेको सरोकारवालाले बताएका छन् । यसलाई व्यवस्थित गर्दै आगामी दिनमा थप सुविधाका लागि अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड छ ।

 

विश्वव्यापी कोभिड–१९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डेटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकाले अब यसमा लगानी बढाउन आवश्यक भएको उनीहरूको भनाइ छ । 


नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘कोभिड–१९  महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने’ विषयक श्रव्यदृश्य अन्तरक्रियामा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।


छलफलमा ई–लर्निङदेखि श्रव्य दृश्य बैठक, अध्ययन सामग्री, मनोरन्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकाले क्षमताको विस्तार र सुधारमा जानु आवश्यक भएकोमा जोड दिए ।


नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले लकडाउनकै समयमा पनि अफवाह फैलाउने काम गरेकाले केही अनलाइनलाई प्रेस काउन्सिलको सहकार्यमा बन्द गराएको, साइबर निर्देशिका कार्यान्वयनमा ल्याएको तथा ई–शिक्षा प्याकेजमा प्राधिकरणले काम गरिरहेको बताए । 


कोभिड– १९ को समय सेवाप्रदायक कम्पनीहरूको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत नआएको उनले सुनाए । 


कोभिडका कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्यधिक बढेको र ग्रामीण क्षेत्रमा सम्पर्ककै समस्या रहकाले डिजिटल डिभाइडको समस्या बढेर जाने आशंकासमेत बढेको छ । 

ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले सहरको तुलनामा गाउँमा ‘केनेक्टिभी र कन्टेन्ट’  दुवैको अवस्था दयनीय रहेको बताए । ‘सहरमा सेवा छनोटको अवसर छ,  कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अब  ग्रामीण क्षेत्रमा केन्द्रित गर्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलिका  दिनमा गाउँ र सहरमा थप समस्या पैदा हुन्छ ।’


नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्पर्क सञ्जालको विस्तारका सवालमा कर्णाली प्रदेश, हिमाल र उच्च पहाडी भेगमा प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी सेवा विस्तारमा  सहजीकरण गरिनुपर्ने बताए ।


धेरै बस्ती भएको क्षेत्रमा सेवाप्रदायकले आफैं सेवा विस्तार गर्ने भएकाले अप्ठ्यारो स्थानमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । 


उनले कोषको रकम ग्रामीण क्षेत्रकै लागि भनेर सबै सेवाप्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरिएकाले सो रकम निर्धारित काममै खर्च गर्नुपर्नेमा जोड दिए ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए । डेटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रम ल्याउने तयारी गरेको उनले जानकारी दिए ।


पछिल्लो प्रविधि फाइभ जीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत उनले गरे । 
उनले  कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकमसमेत उपलव्ध गराएको बताए । उनले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्कुल शिक्षा, स्वास्थ्य सामग्री, कोभिडसम्बन्धी जनचेतना, अग्रस्थानमा  बसेर काम गर्नेलाई सिमकार्ड वितरणलगायत काम गरेको सुनाए । 


इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट ब्यान्डविथ खपत ४० प्रतिशतसम्म वृद्धि भएकाले उपभोक्ताको रुचि र प्रयोग फेरिएको बताए । पछिल्लो समय चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवाप्रदायकलाई ब्यान्डविथ व्यवस्थापनमा धौधौ परेको भन्दै यसमा केही सोच्न पनि नियामक निकायसमक्ष आग्रह गरे ।


प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा नेपालमा प्रवेश गरेर सीधै सेवा दिने सम्बन्धमा अध्ययन गरिरहेकाले छिट्टै केही ठोस निर्णय लिइने जानकारी दिए ।