close

अवैध उत्खननले सर्लाहीका ६ वटा गाउँ जोखिममा

बालुवा निकाल्न खोलामा ६ फिटको खाल्डो, जंगल मासेर बाटो

अवैध उत्खननले सर्लाहीका ६ वटा गाउँ जोखिममा

बालुवा निकाल्न खोलामा ६ फिटको खाल्डो, जंगल मासेर बाटो

Trulli
ADVERTISEMENT

सर्लाही– लालबन्दी नगरपालिकाको लखन्देही खोलामा स्थानीयको विरोधका बाबजुद अवैध उत्खनन रोकिएको छैन । पटक–पटक सचेत गराउँदा पनि खोला उत्खननको ठेक्का पाएको गजुरमुखी निर्माण कम्पनीले अटेर गर्दै खोला उत्खनन गरेर आधा दर्जन गाउँ नै खतरामा पारेको स्थानीयको आरोप छ ।

 

खोला उत्खननको ठेक्का पाएको गजुरमुखी निर्माण कम्पनीले तीन स्थानमा ठेक्का लिएको छ । कम्पनीले सम्झौताविपरीत उत्खनन गरेपछि गाउँ नै भासिने अवस्था आएको स्थानीयको गुनासो छ ।


उत्खनन ठेक्का सम्झौतामा १.५ मिटर गहिरो उल्लेख भए पनि खोला ५ देखि ७ मिटरसम्म खनेको पाइएको स्थानीय अशोककुमार महतोले बताए ।


पूर्व–पश्चिम विद्युतीय रेलमार्गको ट्रयाकबेल्ट निर्माण ठेक्का पाएको कम्पनीले गिटी, ढुंगाका लागि स्थानीय खोला नै ठेक्का लिएको छ । खोला खनेर गिटी, ढुंगा निकालेपछि बाढी आउँदा गाउँ नै बगाउने खतरा रहेको स्थानीय सुनाउँछन् ।


उत्खनन हुन थालेपछि खोलाले बर्सेनि लखन्देही किनारका सयौँ बिघा जमिन बगरमा परिणत गर्नुका साथै गाउँँ नै डुबानमा पार्दै आएको छ ।


सुरुमा ठेकेदार कम्पनीले लालबन्दी नगरपालिका वडा नम्बर १ र १० को सीमाबाट उत्खनन सुरु गरेको थियो । स्थानीयको अवरोधपछि अहिले सोही खोलाको केही माथि सरेको छ । खोलामा भइरहेको अवैध उत्खननले घरबास नै उठ्ने हो कि भन्ने चिन्ता लागेको स्थानीय राजनकुमार महतो बताउँछन् ।


केही साता पहिले गाउँ नजिकैको लखन्देही खोलामा स्काभेटरले खनेको देखेपछि स्थानीयले जनप्रतिनिधि गुहारेका थिए । सुरुमा उत्खनन रोक्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने आश्वासन दिए पनि पछि जनप्रतिनिधिसमेत चुपचाप बसेको उनीहरूको आरोप छ ।

 

‘नगरप्रमुख मानबहादुर खड्कालाई यस विषयमा जानकारी पनि गरायौँ । तर, नगरप्रमुख उल्टै ठेकेदारकै पक्षमा उभिए । ठेकेदार कम्पनीले घरै डुब्ने खाडल खनेर गिटी, ढुंगा निकालेपछि बालुवाले खाल्टो आधा भर्दै आएको छ’, स्थानीय विनोद महतोले भने ।


खोलाले बनाएको लेयर भत्काएर नदीजन्य वस्तु निकालेपछि बाढी आउँदा गाउँभित्र पस्ने उनीहरूको चिन्ता छ ।


लालबन्दी नगरपालिका वडा नम्बर ११ हिरापुरका भोला जर्घा मगरले गाउँ पुगेको पत्रकारको टोलीसँग जनप्रतिनिधिले समेत जनताको जनधन गुम्ने खतरा नदेखेको गुनासो गरे ।


उनले भने, ‘हामी बर्सेनि यो खोलाको भंगालोमा परिन्छ कि भनेर रातभर जाग्राम बस्छाँै । अहिले त नगरपालिकाले नै अन्धाधुन्ध खोला खन्न ठेक्का लगाएको छ । अब बर्खामा के हुने हो ?’


५५ वर्षका कुलबहादुर लुंगेली यसअघि सिन्धुली र सर्लाहीको सीमा माईस्थान दोभानमा बस्दै आएका थिए । २०५० सालमा आएको बाढीले उनीहरूलाई सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १० हिरापुुर ल्याई पु¥यायो ।


त्यसपछि उनीहरू लखन्देही किनारमा रहेको एक कठ्ठा घडेरीमा घर बनाएर बसेका छन् । यहाँ पनि बर्खाको समय लखन्देही उर्लेको देख्दा बाँचिन्छ जस्तो लाग्दैन, उनलाई । नसुतेरै राम बिताउनु परेको उनको गुनासो छ ।


‘यस पटक खोलामा हुइँकिएका टिपर र दिनरात खनिरहेका स्काभेटर देख्दा अब भएको एक कठ्ठा घडेरी र घर पनि लैजाने चिन्ता बढेको छ’, लुंगेलीले भने ।


यसअघि खोला दैलोबाटै बगेको देखेका उनले किनारमा खुलेयाम उत्खनन वरपरका बासिन्दा सधैँ त्रासमा बाँच्नुपर्ने अवस्था रहेको उनको गुनासो छ । ‘हामीले भनेको कसैले सुन्दैनन् । के गर्नु ? गाउँमा बूढाबूढी मात्र छन् । भएका युवाहरू ठेकेदारको पैसामा लागे’, लुंगेली भन्छन् ।


भोला मगर पनि लखन्देही किनारका बासिन्दा हुन् । उनी अवैध उत्खननले भोलि गाउँमा खोलाको बाढी पसेर पु¥याउने क्षतिको आकलन गर्दै आत्तिन्छन् ।


खोला बर्सेनि गाउँ मोडिएपछि सहयोगी संस्थाको सहभागितामा गाउँले मिलेर लखन्देही बगरमा वृक्षारोपण गरिए पनि अवैध उत्खनन नरोकिँदा चिन्ता बढेको उनी सुनाउँछन् । जनप्रतिनिधिसमेत आप्mना नगरबासीको भन्दा कमाइको धन्दामा लागेको उनको आरोप छ ।


आफ्नो वडाको सीमामा भएको अवैध उत्खननले पूरै वडा नै असुरक्षित बनेको लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरका वडाध्यक्ष पञ्चलाल लामा बताउँछन् । नगरपालिकाले गाउँ र स्थानीयको जीवनमाथि नैै खेलवाड हुने गरी खोला उत्खनन गराएको उनको आरोप छ ।


‘यस्तो सार्वजनिक विषयमा जनतासँग पहिला छलफल गरेर काम गर्नुपर्ने हो’, वडाध्यक्ष लामाले भने, ‘यहाँ कसैलाई जानकारी दिइएको छैन । हामीले रोक्न खोज्दा नगरप्रमुख खड्काले सीमा स्पष्ट नरहेको भनेर टारिदिए ।’


नागरिकको समस्या समाधान गर्ने भन्दा पनि खोला बेचेरै पैसा कमाउने खेलमा जनप्रतिनिधि लागेको अर्का स्थानीय रंगलाल लामा सुनाउँछन् । उनका अनुसार खोलाका कारण बर्सेनि पुलामी टोला, बयलवासे टोला, औले टोला, हिरापुर चोक, चन्द्रपुर, बस्तीपुरलगायत आधा दर्जन गाउँका सयौँ घरधुरीका हजारौ नागरिक असुरक्षित बन्दै आएका छन् ।


ठेक्का सम्झौता तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार उक्त स्थानबाट ६ सय मिटर लम्बाइ, ७५ मिटर चौडाइ र १.५ मिटर मात्र गहिराइबाट कच्चा पदार्थ उत्खनन गर्न सकिने उल्लेख छ । तर, ठेकेदार कम्पनीले खनेको खाडल १२ देखि १८ फिटभन्दा गहिरो छ ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ पोखरेलका अनुसार नगरले हिरापुर नाका गजुरमुखी निर्माण सेवालाई २० लाख पाँच हजार रुपैयाँमा ठेक्का लगाएको हो । यस्तै, लालबन्दी नगरपालिकाको वडा नम्बर ११, १२ र वडा नम्बर १०, १२ स्थित दुई स्थानको समेत सोही कम्पनीलाई ठेक्का परेको छ ।

 

‘मापदण्डअनुसार उत्खनन नभएको पाइए कारबाही गर्छौं’, प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘गहिरो खाडल भएको गुनासो आएको छ । प्राविधिकसहित स्थलगत अनुगमन गर्ने तयारीमा छौँ । मापदण्डविपरीत देखिए कारबाही हुनेछ ।’


नगरप्रमुख खड्का भने ठेकेदारले खनेको गहिरो खाडल उनीहरूलाई नै पुर्न लगाउने बताउँछन् । ‘जनताको गुनासोपछि हामीहरूले अनुगमन गरिसक्यौँ । खोलामा चौपट उत्खनन गरिएको भन्ने कुरा गलत देखियो’, नगरप्रमुख खड्काको दाबी छ ।


जंगल मासेर गिटी, बालुवा निकासीको बाटो


लालबन्दीमा जंगलको बीच भागबाटै फराकिलो बाटो बनाएर अवैध ढुंगा, गिटी निकासी हुँदै आएको छ । डिभिजन वन कार्यालयको मिलेमतोमा ठेकेदार कम्पनीले खोलाबाट पूर्व–पश्चिम लोकमार्गसम्म निस्कन चार वटा सामुदायिक वन, एउटा कबुलियती वन हुँदै बाटो खनेकोे हो ।

 

बाटो बनाउने क्रममा जंगलमा रहेका साललगायत विभिन्न जातका रूख र लाथ्रा काटेको फेला परेको स्थानीय रामकाजी खड्काले बताए । ठाउँ–ठाउँमा रूखको ठुटासमेत माटो हालेर पुरेको स्थानीयको दाबी छ ।

 

ठेकेदार कम्पनीले सुरुमा गाउँको बाटो प्रयोग गरेका थिए । तर, गाउँलेले रोकेपछि उनीहरूले जंगलमा अवैध रूपमा बाटो निर्माण गरेका हुन् ।


जंगलको बीचबाटै रूख कटान गरेर बाटो बनाउने अनुमति नदिइएको डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख माधवप्रसाद देवले दाबी गरे ।

 

जंगलको बीच भागबाटै डोजर लगाएर ठेकेदारले बाटो बनाएको विषय डिभिजन प्रमुख देवले अस्वीकार गरे । ‘जंगलमा नयाँ बाटो खनेकोे नभई पुरानो बाटो फराकिलो बनाइएको हो’, उनले भने ।


डिभिजन वन कार्यालयको करेसाबाटै ४० फिटे फराकिलो सडक बनाएर दैनिक सय हाराहारी टिपरमा ढुंगा, गिटी निकारी भइरहे पनि कार्यालय प्र्रमुख देवले भने यस विषयमा कुनै जानकारी नभएको दाब गरे ।


आफूखुसी वनको बीच भागबाटै बाटो बनाउँदा भोलिका दिनमा वन तस्करी हुन सक्ने भन्दै सामुदायिक वनका पदाधिकारी चिन्ता व्यक्त गर्छन् ।


राम्रो बालुवा निकाल्न गहिरो खाडल खन्यौँ : निर्माण कम्पनी


मापदण्डअनुसारको गिटी, बालुवा नभएका कारण सम्झौताविपरीत उत्खनन गर्नुु परेको ठेकेदार कम्पनीले प्रस्ट पारेको छ ।


उत्खननका लागि ठेक्का सकारेको लखन्देही खोलामा ६ फिटसम्म मापदण्डअनुसारको गिटी, बालुुवा नभएको कारण गहिरो खन्नु परेको गजुरमुखी कम्पनीका फिल्ड म्यानेजर टीका गजुरेलले बताए ।


‘पछि खाडल पुर्ने गरी तत्काललाई ११ देखि १५ फिटसम्म गहिरो खनेर नदीजन्य वस्तु निकालिरहेका छौँ’, गजुरेलले भने । नगरपालिकासँग समन्वय गरेरै उत्खनन भइरहेको उनले जानकारी दिए ।

 

तर, स्थानीयले आरोप लगाएजस्तो गाउँ र खोला नजिकैको जमिनै भासिने गरी खाडल खनेर उत्खनन नगरेको गजुरलेको दाबी छ ।


गत वर्ष बाँके खोलामा यसै गरी गिटी, बालुवा निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको थियो । सोही घटनालाई लिएर भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकसमेत मारिएका थिए ।