close

गण्डकीमा ५५ हजार घरआँगनमै पानीका धारा

गण्डकीमा ५५ हजार घरआँगनमै पानीका धारा

Trulli
ADVERTISEMENT

गोरखा- गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा कार्यक्रम’ अन्तर्गत हालसम्म प्रदेशभर ५५ हजार ६० निजी धारा निर्माण भएका छन् ।

 
प्रदेशको प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुसार हालसम्म ५५ हजार निजी धाराबाट २ लाख ८५ हजार १ सय ८४ जना लाभान्वित भएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

 

‘हाम्रो कार्यकालभित्रै गण्डकी प्रदेशका प्रत्येक नागरिकका घरघरमा आधारभूत खानेपानीको धारा पु¥याउने अभियान सुरु गरिसकेका छौँ । यसअन्तर्गत हालसम्म ५५ हजार बढी धारा बनिसके’, मन्त्री बस्नेतले भने, ‘यस वर्ष पनि १५ हजार घरधुरीमा धारा जडान भइसके भने थप ३७ हजार घरधुरीमा पु¥याउने गरी काम भइरहेको छ ।’


चालू आर्थिक वर्षमा उक्त योजनाका लागि २ अर्ब ६१ करोड ६५ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

 

कुन जिल्लामा कति धारा

 

एक घर एक धारा अभियानअन्तर्गत ११ वटा जिल्लामा हालसम्म जम्मा ५५ हजार ६० धारा बनिसकेका छन् । चालू आर्थिक वर्षमा थप ३७ हजार धारा निर्माण सम्पन्न हुनेछन् । 


हालसम्म गोरखामा १६ हजार ९ सय ३६, लमजुुङमा ३ हजार ९ सय १९, मनाङमा ४ सय ७४, बाग्लुङमा ४ हजार १ सय ३, पर्वतमा ८ हजार ३ सय ५६ र म्याग्दीमा २ हजार २ सय ४४ धारा बनिसकेका छन् । 


यस्तै, स्याङ्जामा ५ हजार ९ सय २०, मुस्ताङमा ८ सय ९ कास्कीमा ३ हजार ३ सय १०, तनहुँमा ४ हजार ८ सय ५२ र नवलपुरमा ४ हजार १ सय ३७ घरधुरीमा खानेपानीका धारा जडान भइसकेको खानेपानी तथा सरसफाइ महाशाखाले जनाएको छ ।


प्रदेश सरकारले आगामी डेढ वर्षभित्रै प्रदेशका सबै घरमा धारा पुर्‍याउने लक्ष्य लिए पनि विविध समस्याका कारण शतप्रतिशत काम हुने नसक्ने अनुमान गरिएको छ ।

 
‘हामीले हाम्रै कार्यकालमा प्रदेशका सबै घरमा धारा जडान गर्ने लक्ष्य लिएका छौँ । सोही लक्ष्यअनुसार काम गरिरहेका छौँ’, मन्त्री बस्नेतले भने, ‘तर, कहीँ खानेपानी मूलका समस्या छन् । कहीँ स्थानीयमा विवाद आउँछन् ।

 

आवश्यक जनशक्ति र स्रोत-साधन पनि समयमै प्राप्त हुन सकेन । कोभिडका कारणले पनि महिनौँसम्म काम रोकियो ।’ 

 

सोचेजस्तो नभए पनि कार्यकालभित्रै न्यूनतम ८० प्रतिशत बढी घरधुरीमा धारा जडान गरेरै उनको दाबी छ । हाल गण्डकी प्रदेश सरकारले सुरु गरेको यही अभियान सफल पार्न ११ वटा जिल्लामा १ हजार ५५ आयोजनाको काम धमाधम भइरहेको छ ।