close

भूकम्पको ६ वर्षमा पुनर्निर्माणले जगाएको आश

भूकम्पले ढलेका संरचना कति नयाँ स्वरूपमा उठे, कति पुरानै स्वरूपमा उठ्दै छन्

भूकम्पको ६ वर्षमा पुनर्निर्माणले जगाएको आश

भूकम्पले ढलेका संरचना कति नयाँ स्वरूपमा उठे, कति पुरानै स्वरूपमा उठ्दै छन्

Trulli
ADVERTISEMENT

काठमाडौं- हरेक वर्ष १२ वैशाखले भूकम्पको सम्झना गराउँछ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको आज छैटौँ वर्ष लाग्यो । भूकम्पले ८ हजार ७ सय ९० नागरिकको ज्यान गयो । २२ हजार बढी घाइते भए । 


निजी आवास, शैक्षिक संस्था, सरकारी तथा सुरक्षा निकायका भवन र सांस्कृतिक सम्पदा तहसनहस बने । भूकम्पले ढलेका संरचना कति नयाँ स्वरूपमा उठे, कति पुरानै स्वरूपमा उठ्दै छन् भने कति उठ्नै बाँकी छन् ।

 

काठमाडौंस्थित ऐतिहासिक सम्पदा रानीपोखरी पुनर्निर्माण यही वर्ष सम्पन्न भयो । दरबार हाइस्कुल, धरहरा ठडियो । ऐतिहासिक र सांस्कृतिक सम्पदा पनि स्थानीय, प्रदेश र संघीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा उठ्दै छन् । 


१२ वैशाख ०७२ मा विनाशकारी भूकम्पको आइतबार ६ वर्ष पुगेको छ । भूकम्पलगत्तै सरकारले ७ खर्ब रुपैयाँको क्षति भएको अनुमान गर्‍यो । भूकम्पपछिको पुनर्निर्माणलाई ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरियोे । लगत्तै सरकारले दाता सम्मेलन गर्‍यो, जहाँबाट ४ खर्ब १० अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता नेपालले पायो ।


यसमध्ये २ खर्ब ९४ अर्ब मात्रै वास्तविक प्रतिबद्धता थियो । सरकारले पुर्निर्माणलाई व्यवस्थित बनाउन १० पुस ०७२ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्‍यो । ५ वर्षे अवधिसहित गठन भएको प्राधिकरणको म्याद गत पुसमा सकिएपछि सरकारले एक वर्ष थपेको छ । तर, पुनर्निर्माणको काम थपिएको म्यादमा पनि सम्पन्न हुने अवस्था छैन । यद्यपि, सूचकांक भने सुखद छन् ।

 

भूकम्पले ध्वस्त बनाएका कैयौँ संरचना पुनर्निर्माण भएका छन् । विशेषगरी विद्यालय भवन, सुरक्षा निकायका भवन र सडक निर्माणमा राम्रो प्रगति भएको छ । सर्वसाधारणको चासो रहेको ऐतिहासिक महत्त्वका धरहरा, रानीपोखरीजस्ता सम्पदाको पुनर्निर्माण पनि सम्पन्न भएका छन् । पुनर्निर्माण र पुनर्स्थापनाकाे प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ । सांस्कृतिक सम्पदा र स्वास्थ्य संस्था निर्माणको गति भने अझै न्यून छ ।

 

विनाशकारी भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ । भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहरा प्रधानमन्त्री केपी ओलीले शनिबार उद्घाटन गरे । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा पहिलेभन्दा अग्लो पनि छ । बाहिरबाट हेर्दा ११ तले देखिए पनि जमिनमुनि २ र जमिनमाथि भुइँ तला गरी समग्रमा धरहरा २२ तलाको छ ।

 

रानीपोखरीसहित बालगोपालेश्वर मन्दिर र पुल पुनर्निर्माण भइसकेको छ । रानीपोखरी र अन्य संरचना तथा सौन्दर्यकरणका लागि सिए/तुलसी कन्स्ट्रक्सन जेभीसँग २४ असार ०७६ मा ठेक्का सम्झौता भएको थियो । अलपत्र रानीपोखरी अहिले मनमोहक देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको प्रबलीकरण र पुनर्निर्माण पनि सम्पन्न भइसकेको छ ।


पश्चिमबाहेकका ३ वटा मोहडाको निर्माण कार्य २ फागुन २०७६ मै सम्पन्न भएको हो । यसको पनि प्रधानमन्त्री ओलीले उद्घाटन गरिसकेका छन् । 


पुनर्निर्माणका क्रममा तयार भएको सबैभन्दा ठूलो एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी पुर्जासहित तयार भएको घर हस्तान्तरण गरिएको छ । ९ वैशाख २०७८ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गोरखा धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्तीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा घर हस्तान्तरण गरे ।

 

चीन सरकारको ८९ करोड रुपैयाँको सहयोगमा ऐतिहासिक दरबार हाइस्कुल निर्माण भएको छ । माघ २०७७ मा निर्माण सम्पन्न भएको यो ऐतिहासिक दरबार हाइस्कुलभित्र अहिले भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय छ । विद्यालयमा कक्षा १२ सम्म पठनपाठन भइरहेको छ भने भर्ना हुनेको संख्या पनि बढिरहेको छ । 

 

ऐतिहासिक महत्त्वको बबरमहल, केशरमहल वसन्तपुर दरबार क्षेत्रको प्रबलीकरणको काम भइरहेको छ । त्यस्तै, नारायणहिटी संग्रहालयभित्रको रणोद्दीपको दरबार पुनर्निर्माण जारी छ । पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रुपैयाँ छ । यसमध्ये अहिलेसम्म सरकार र दातृ निकायको समेत गरी २०७७ चैत मसान्तसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । 

 

निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ गुनासो सम्बोधन गरिएको प्राधिकरणले जनाएको छ । निजी आवासमा भइरहेको निर्माण सन्तोषजनक रहेको प्राधिकरणको दाबी छ । पुनर्निर्माणका क्रममा १ लाखभन्दा बढी दक्ष निर्माणकर्मी तयार भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, पुनर्निर्माणबाट करिब ८ लाख घरपरिवारको बैंक खातामार्फत वित्तीय पहुँचमा वृद्धि भएको छ । 

 

जेहोस्, यी ६ वर्षमा नेपालका सांस्कृतिक सम्पदा पुनः ब्युँतिँदै छन्, त्यो पनि नढल्ने गरी । सगरमाथा नझुकेझैँ कहिले नझुक्ने गरी । धरहरा ठडिएझैँ मुस्कुराउँदै ठडिँदै छन् । तर, आर्थिक अभाव हुन नदिन सरकारले अझै ध्यान दिन जरुरी छ ।