close

लाप्राक नमुना बस्ती: काममा ढिलासुस्ती भए पनि हस्तान्तरणको चटारो

लाप्राक नमुना बस्ती: काममा ढिलासुस्ती भए पनि हस्तान्तरणको चटारो

Trulli
ADVERTISEMENT

गोरखा- करिब २८०० सय मिटर उचाइमा बुद्ध, गणेश र मनास्लु हिमालको काखमा रहेको छ, गोरखाको लाप्राक गाउँ । गुरुङ र दलित समुदायको बसोबास रहेको यो गाउँ २०७२ को भूकम्प अघिसम्म टाढैबाट झट्ट हेर्दा प्राकृतिक सौन्दर्यको बीचमा ढुंगाकै छानो, ढुंगाको गारो लगाएका एकनासे करिब ६ सय घरधुरी एकै ठाउँ देखिन्थे ।


विशेषतः यहाँ गुरुङ समुुदायको मौलिक कला-संस्कृति हेर्न अधिकांश समय पर्यटकको आउजाउ बाक्लै हुन्थ्यो । पर्यटकीय गन्तव्यको रूपमा चिनिने यो गाउँको कलात्मक संस्कृति देखेर जोकोहीको मन लोभिन्थ्यो । जतिबेला १२ वैशाख २०७२ मा बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टर भूकम्प गयो, त्यतिबेला नेपालमा लाखौँ परिवारका घर ढले, लाखौँ घाइते भए अनि हजारौँको मृत्यु भयो ।

 

केन्द्रबिन्दु नजिकै रहेको लाप्राक गाउँ पनि लगभग ध्वस्त भयो । २४ जना स्थानीयले ज्यान गुमाए । सग्ला घर मुस्किलले बाँकी रहे । भूूकम्प गएलगत्तै लाप्राकी बसोबास गरिरहेका पुरानो गाउँ अति जोखिम क्षेत्रमा पर्‍याे । लाप्राकीहरू आफ्नो गाउँभन्दा करिब २ किलोमिटर माथि रहेको ‘गुप्सीपाखा’ मा त्रिपालमुनि भूकम्पका पराकम्पसँग पौठेजोरी खेल्न थाले ।

 

भूूकम्पको झन्डै १ वर्षसम्म पुनर्निर्माण कहाँ गर्ने, कसरी भन्नेमा लाप्राकीहरू अन्योलमा बसे । अन्ततः १२ वैशाख २०७३ मा नेपाल पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र एनआएरएनएबीच त्रिपक्षीय सम्झौता भयो ।

 

सम्झौतामा एनआरएनएले २ वर्षमा बस्ती पुनर्निर्माण गरेर हस्तान्तरण गर्ने उल्लेखे थियो । २ वर्षभित्रै पुन गुप्सीपाखामा बन्ने नयाँ घरमा बस्ने आश लिएर लाप्राकीहरू जोखिम मानिएको गाउँ फर्किए । कोही भूकम्पले भत्काएको घरमा बसे त कोही अस्थायी टहरो बनाएर । २ वर्षभित्रै नयाँ घरमा सर्ने आश पालेर बसेका स्थानीय भूकम्पको ६ वर्षसम्म जोखिम भनिएकै ठाउँमा बस्न बाध्य भए ।

 

‘भूूकम्पपछि पुरानो गाउँमा बस्न खतरा छ भनेपछि हामी गुप्सीपाखामा गएर बसेका थियौँ । त्यहाँ एनआरएनएले २ वर्षभित्रै घर बनाइदिन्छौँ भनेपछि हामी सबै गाउँले जोखिम भनिएकै ठाउँमा आएर बस्न तयार भयौँ । तर, २ वर्ष हैन, ६ वर्ष लाग्यो तर नयाँ घरमा सर्न पाएनौँ’, स्थानीय कान्छी गुरुङले दुःख सुनाइन् ।

 

उनले बितेको ६ वर्ष निकै कष्टकर तरिकाले बिताइन् । उनी सुनाउँछिन्, ‘सरकारले जोखिम भनेको ठाउँमा बस्न मन त डराउँथ्यो तर अन्त कहाँ जाने ? ठाउँ नभएपछि यही बस्यौँ । सानो टहरो बनाएर बसेका थियौँ । हावा आउँदा उडाउँछ कि भन्ने डर हुन्थ्यो । पानी आउँदा भित्र पसेर हैरान बनाउँथ्यो । पहिरो गएर मरिहालिन्छ कि भन्ने डर लाग्थ्यो । एनआरएनएले घर छिटो बनाइदेला र डर कम होला भन्ने सोच्दासोच्दै आश मरिसक्यो ।’

 

कान्छीको मात्रै हैन, एनआरएनएले घर बनाइदिने जिम्मा लिएको यो गाउँका ५७३ घरका सबैलाई विस्तारै नयाँ घरमा सर्न पाउने आश विलीन हुँदै थियो । कारण, एनआरएनएले पटक-पटक घर पुनर्निर्माण गरेर हस्तान्तरण गर्न मिति सारिरह्यो ।

 

‘सुरुका २ वर्ष नयाँ घर छिटो बन्ला अनि सरिहालौँला भन्ने आश लागिरहन्थ्यो । तर, एनआरएनएले काम नसक्दै घर हस्तान्तरण गर्ने मिति पटक–पटक तोकेर हामीलाई धोका दिएपछि आश मर्न थाल्यो’, सोही गाउँका भूकम्पपीडित कमरा विक भन्छन् ।

 

सम्झौता मिति सकिएभन्दा करिब ३ वर्षपछि एनआरएनएको टोली गुप्सीपाखामा पुगेर तामझामसहित लाप्राकका १३० जना स्थानीयलाई घरको लालपुर्जा हस्तान्तरण गर्‍यो । बाँकी लाभग्राहीको लालपुर्जा बनाउन अझै बाँकी रहेको छ ।

 

स्थानीय भन्छन्, ‘कच्ची घर उद्घाटन गर्न हतार गर्ने एनआरएनए हाम्रो कुरा सुन्दैन ।’ एनआरएनएले बनाएको एकैनासे २ कोठाका १ तले घर छन् । सम्झौताअनुसारको म्याद सकिएको झन्डै ३ वर्षपछि १३० जना लाप्राकीले घरको लालपुर्जा पाए । बाँकीले कहिले पाउँछन् पत्तो छैन ।

 

एनआरएनएका पदाधिकारी भने लाप्राकमा जिम्मा लिएका सबै पक्की घर निर्माण गरिसकेको बताउँछन् । तर, स्थानीय एनआरएनएले निर्माण सम्पन्न गरिसकेको घर कच्ची भएको गुुनासो गर्छन् । 

 

‘एनआरएनले घर पक्की बनाएको भन्छ तर झ्यालढोका एकदम कमसल छन् । कतिपय प्वाल परेको छ । सामान्य प्लास्टिको ल्याएर हालिएको छ । विस्तारै हान्दा पनि भत्किन्छ । कति पटक गुनासो गरिसक्यौँ तर हाम्रो कुरा कसले सुन्ने ?,’ स्थानीय मारसिंह गुरुङ भन्छन् ।

 

स्थानीयको गुनासो एनआरएनएले नसुनेपछि एनआरएनएले बनाइदिएको झ्यालढोका हटाएर कतिपयले नयाँ राखिसके । कतिपय राख्ने तयारीमा छन् भने कोही त्यसका लागि आवश्यक पैसा जोहो गर्दै छन् ।

 

लामो पखाईपछि घर निर्माण सकिए पनि गुणस्तरीय नभएपछि स्थानीय खासै खुसी छैनन् । ‘झ्यालढोका कमजोर भए । गुणस्तरीय भएनन् भनेर स्थानीयले पटक-पटक गुनासो गर्ने गरेका छन् । हामीले एनआरएनएलाई पटक-पटक भनेका हौँ तर वास्तै गरेन । ढिलै भए पनि अब सबै जनाले घरको लालपुर्जा पाउने भएका छौँ’, वडाध्यक्ष राज गुरुङले भने ।

 

यसो भन्छ एनआरएनए


एनआरएनएलाई घर निर्माणका लागि सरकारबाट प्राप्त हुने ३ लाख रुपैयाँ राहत रकम स्थानीयले बुझाएका छन् । त्यति मात्रै हैन, प्रत्यक घरधुरीले ४० बोरा गिटी र ८ ट्रयाक्टर ढुंगा श्रमदान पनि गरेका छन् ।


घर पुनर्निर्माणको जिम्मा लिने बेला स्थानीयको श्रमदान र ३ लाख रुपैयाँ राहत रकम पाएपछि मात्र सबैको घर पक्की बनाइदिने सम्झौता एनआरएनएले गरेको थियो । अहिले स्थानीयले काम गुणस्तरीय नभएको भन्दै गुनासो गर्नु स्वाभाविक भएको उसको बुझाइ छ ।

 

गत बिहीबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीले लाप्राकका स्थानीयलाई औपचारिक रूपमा बस्ती हस्तान्तरण गर्‍यो ।


स्थानीय डम्बरसिंह गुरुङलाई लालपुर्जा दिएसँगै औपचारिक रूपमा बस्ती हस्तान्तरण सुरु गरिएको थियो । कुल ५७३ घर पुनर्निर्माण गरेको एनआरएनएले १३० जनाको मात्रै घरधनीलाई लालपुर्जा दियो । बाँकी स्थानीयको लालपुर्जा कहिले तयार हुन्छ, अझै पत्तो छैन ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ (जिमाली) गोरखा भने बाँकी लाभग्राहीलाई १ साताभित्रै लालपुर्जा दिने आश्वासन देखाउँछ । ‘हिजो १३० जनालाई लालपुर्जा वितरण ग¥यौँ । बाँकी लाभग्राहीको अनलाइन फोटो खिच्ने र विवरण संकलनको काम भइरहेको छ । सबै काम सकेर १ साताभित्रै पुर्जा वितरण गर्नेछौँ,’ जिमालीका प्रमुख रामशरण आचार्यले भने ।

 

नमुना बस्तीमा आवश्यक भौतिक पूर्वाधार निर्माण काम भने प्राधिकरणबाट भएको छ । ‘बस्तीमा नाली, पर्खाल, गोरेटो बाटो लगायतका भौतिक संरचना निर्माणका लाग २२ करोड रुपैयाँ विनियोजना भएको छ । यो बहुवर्षीय योजना हो । अहिले ठेक्का प्रक्रिया अघि बढिरहेको छ’ आचार्यले भने ।

 

घार्चे गाउँपालिका वडा नम्बर ४ मा रहेको लाप्राक गाउँमा अहिलेसम्म आवास पुननिर्माण ९५ प्रतिशत सम्पन्न भइसकेको छ । स्वास्थ्य चौकी, विद्यालय भवन बनिसक्यो, वडा कार्यालयको भवन पनि बन्दै छ । ६१ करोड ४० लाख २८ हजार रुपैयाँ लागतमा लाप्राकको नमुना बस्तीका ५७३ घर निर्माण गरिएको एनआरएनएले जनाएको छ ।